Logo

आइपीओ निष्काशनका लागि क्रेस्ट माइक्रो लाइफले पायो रेटिङ

काठमाडौं– क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स सर्वसाधारणमा सेयर निष्काशनको प्रक्रियामा रहेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपालबाट कम्पनीलेक्रेडिट रेटिङ गराई आइसिआरए डबल बी रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।

साथै कम्पनीले आरविवि मर्चेण्ट बैंकिङ र आरविवि म्युचुअल फण्ड १ सँग सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि सेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्तसमेत गरिसकेको छ ।

स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठूलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमांकन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो ।

भविष्यमा हुने कारोबारको विविधिकरणसहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दावी भुक्तानी प्रक्रियाले रेटिङलाई सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँकोे ३० प्रतिशत बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा सार्वजनिक निष्काशनको क्रममा रहेको छ । कम्पनीले हाल २३ वटा शाखा तथा उपशाखामार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्