कांग्रेसमा संसदीय दल नेतृत्व चयनको सकस

नेपाली कांग्रेसमा संसदीय दलको नेतृत्व प्रतिनिधिसभाले नै गर्ने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको शनिबार बसेको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक प्रतिनिधिसभा सदस्यमध्यबाटै रहने गरि विधान संशोधन गरेको हो । आइतबार विहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले सो विधान अनुमोदन गर्ने केन्द्रीय सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले जानकारी दिए ।
“०४८ पछिको दुई सदनको पुरानो व्यवस्था र समावेशीताको नयाँ व्यवस्थालाई सम्बोधन गर्नेगरि संसदीय दलको विधान बनेको छ,” पाण्डेले बैठकपछि शनिबार कारोबारसँग भने, “आइतबार बस्ने केन्द्रीय समिति बैठकले दलको विधान अनुमोदन गर्नेछ ।” कांग्रेसको विद्यमान दलको विधानमा एक सदनको मात्र व्यवस्था रहेकोले त्यसमा संशोधन गर्दै दुई सदनको व्यवस्था थप गरिएको छ । संसदीय दलको नेता र प्रमुख सचेतक भने प्रतिनिधिसभा सदस्यमध्यबाटै हुनेछन् । दलको कार्यसमितिमा भने राष्ट्रिय सभा सदस्य पनि रहन सक्ने गरि विधान संशोधन गरिएको छ । सचेतक भने राष्ट्रिय सभा र प्रतिनिधिसभामा १/१ जना रहने व्यवस्था गरिएको छ । दलको नेताका लागि प्रतिनिधिसभाका सदस्यले मात्र मतदान गर्ने पुरानै व्यवस्थालाई कांग्रेसले कायम गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यहरूको बैठकले गरेको निर्णय केन्द्रीय समितिमा पेश हुने र थप छलफल गरेर अनुमोदन हुने जानकारी दिए । “संसदीय दलको निर्वाचनका लागि केन्द्रीय समिति बैठकले समिति गठन गर्नेछ,” उनले भने, “सो समितिले चुनावको कार्यतालिका ल्याउनेछ ।” प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रियसभामा १३ गरी ७६ जना सांसद् रहेका छन् ।
त्यस्तै, सांसदहरूको बैठकले सफलतापूर्वक ३ चरणको निर्वाचन सम्पन्न गरेकोमा तत्त्कालिन प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिएको छ ।
त्यस्तै बैठकले केन्द्रदेखि प्रदेशसम्म छायाँ सरकार बनाउने भएको छ । बैठकपछि सांसद गगन थापाले भने,“केन्द्रमा जतिवटा मन्त्रालय रहन्छ, त्यति नै छायाँ मन्त्री बनाएर काम गर्ने टुंग्याएका छौं ।” छायाँ प्रधानमन्त्री र मन्त्रीहरूले आआफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको निगरानी गर्नेछन् । छायाँ सरकारमा मन्त्रीको जिम्मेवारी कसलाई दिनेभन्नेबारे संसदीय दलको निर्वाचन पछि टुंगो लाग्ने छ ।
सर्वसम्मत नेता छान्न सुझाव बैठकमा धारण राख्ने क्रममा अधिकांस सांसदहरूले संसदीय दलको नेता सर्वसममत चयन गर्न सुझाव दिएका छन् । सांसदहरू दिलेन्द बडु, भरत शाह, मानबहादुर विश्वकर्मा, भिमसेनदास प्रधान लगायतले यस्तो सुझाव दिएका हुन् । “पार्टी अप्ठ्यारोमा परेको बेलामा सर्वसम्मत दलको नेता छानौं,” बैठकमा सांसदहरूले भने, “अहिले चुनाव गर्दा गुटबन्दी थप बढ्छ । त्यतातिर नजाऔं, छलफल गरेर सहमति खोजौं ।” अहिले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहको नाम चर्चामा छ । कांग्रेसका केही केन्द्रीय सदस्यले भने महामन्त्री शशांक कोइरालालाई सर्वसम्मत दलको नेता बनाउनुपर्ने धारणा पनि राख्दै आएका छन् । कांग्रेसका सांसदहरूको संख्या हेर्दा सभापति देउवा निकटहरूको संख्या नै धेरै देखिन्छ । दलको नेतामा निर्वाचन भएमा कृष्ण सिटौला गुटका सांसदहरूले भने रामचन्द्र पौडेल समूहको उम्मेदवारलाई समर्थन जनाउने जनाएका छन् । उनीहरूबीच सो बारे छलफल समेत भइरहेको छ ।
राष्ट्रपतिको कदम असंवैधानिक
सांसदहरूको केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ । अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयन नगरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिस भने सदर गरेकी थिइन् । सो निर्णय असंवैधानिक भएको बैठकले निष्कर्ष निकालेको राष्ट्रिय सभा सदस्य पाण्डेले बताए । कांग्रेसले पत्रकार सम्मेलन गरेरै राष्ट्रपतिले ‘भिन्न भिन्न दललाई भिन्न भिन्न’ चश्माले हेरेको आरोप लगाएको थियो । देउवा नेतृत्वको सरकारले सिफारिस गरेका ३ जनाले शुक्रबार आफ्नो सिफारिस कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा समेत रिट दायर गरेका छन् ।