एसेम्बल प्लान्ट स्थापना गर्दै सुन्दर यातायात «

एसेम्बल प्लान्ट स्थापना गर्दै सुन्दर यातायात

सुन्दर यातायात प्रालिले आगामि ९ महिनाभित्र विद्युतीय सवारी साधन नेपालमा नै एसेम्बल गर्ने गरी तयारी थालेको छ । चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बिएके चाइनिज कम्पनीको सहकार्यमा सुन्दर यातायातले एसेम्बल प्लान्ट स्थापना गर्न लागेको हो ।
प्रालिका अध्यक्ष भेषबहादुर थापाले रूपन्देहीको मोतिपुरमा प्लान्ट निर्माण गर्न लागिएको बताए । उक्त प्लान्ट १२ विघा क्षेत्रफलमा रहनेछ । हाल सम्पर्क कार्यालय स्थापना गरेर काम अगाडि बढाएको थापाले बताएका छन् । कुल १ अर्बको लगानीमा निर्माण हुन लागेको उक्त प्लान्टमा ७५ प्रतिशत चिनियाँ कम्पनीको र २५ प्रतिशत नेपालीको हिस्सा रहनेछ । थापाले भने, “हाल चीनबाट सवारी आयात गर्दा करिब १३ लाख रुपैयाँ बराबरको ढुवानी खर्च लाग्ने गरेको छ । हामीले नेपालमै प्लान्ट स्थापना गरेर उत्पादन गरेको खण्डमा करिब ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने छन् ।”
मुलुकभित्र विद्युत् उत्पादन बढ्दै गएकोले सरकारले पनि विद्युतीय गाडीको आयातलाई प्रोत्साहन गर्ने नीति लिएको छ । विद्युतीय गाडीमा मात्र १० प्रतिशत भन्सार महसुल रहेको छ । उक्त कम्पनीले पार्टपुर्जा आयात गरी नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने तयारी थालेको हो ।
प्रालिले प्लान्ट स्थापना गरेर हाल कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरिसकेको छ भने उद्योग विभागमा प्रस्ताव पेश गरेका र लगानी बोर्डसँग छलफलको क्रममा रहेको जनाएको छ । उक्त प्लान्टबाट वार्षिक रूपमा १ हजार गाडी एसेम्बल गर्न सके पनि शुरूआतमा भने ५० वटा गाडी एसेम्बल गरिने अध्यक्ष थापाले बताए । “आगामी ६ महिनाभित्र प्लान्ट स्थापना गरीसक्ने र ९ महिनाभित्रमै उत्पादन सुरू गर्ने गरी काम सुरु गरिएको छ,” अध्यक्ष थापाले बताए ।
अबको २ महिनाभित्र २५ सवारीसाधन आयातको क्रममा रहेको कम्पनीले जनाएको छ । सो बस सञ्चालनको लागि प्रदेश १ र ५ मा चार्जिङ स्टेशन स्थापनाको तयारी थालिएको प्रालिले जनाएको छ ।
भदौ २२ गतेबाट २ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायातले थप ५० बस थप गर्ने जनाएको छ । डिजेलबाट सञ्चालन हुने बस भन्दा विद्युतीय बसको खर्च कम हुने र नाफामा गएसँगै सुन्दर यातायतले थप बस आयात गरी सञ्चालनमा ल्याउन लागेको हो ।
यसै वर्षभित्र काठमाडौं उपत्यकाभित्र २५ र काठमाडौं उपत्यका बाहिर २५ बस थप गरेर सञ्चालनमा ल्याउने गरी कम्पनीले आन्तरिक तयारी गरिरहेको अध्यक्ष थापाको भनाइ छ । उनले भने, “विद्युतीय बसबाट मुलुकभर सेवा प्रवाह गर्ने गरि कम्पनीले काम अगाडि बढाएको छ ।” ४ वटा बसबाट सेवा सुरु गरेको सुन्दर यातायातले नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालनमा ल्याएको थियो । सो ४ बसले उपत्यकाको रिङरोडमा सेवा प्रवाह गरिरहेको भए पनि थपिएका बसबाट चक्रपथभित्रका सडकमा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।
सुन्दरले सञ्चालन गरेका हालका बस ४० सिट र ३० जना उभिएर यात्रा गर्न मिल्ने रहेको र अन्य दुई बस ३० सिट तथा २० जना उभिएर यात्रा गर्न मिल्ने रहेको जनाएको छ ।
ठूलो साढे १० मिटर र सानो साढे आठ मिटर लम्बाईको रहेको कम्पनीले जनाएको छ । ठूलो १ करोड ६२ लाख र सानो १ करोड ५३ लाखमा खरिद गरेको हो । कम्पनीले कालोपुलमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । प्रतियुनिट ४ रुपैयाँ २० पैसामा विद्युतीय सवारी चार्ज गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीले सरकारले अनुमति पत्र दिएको खण्डमा सितापाईला, सुकेधारा, सातदोवाटोमा चार्जिङ स्टिेशन निर्माण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्