नबिल बैंकले पाँच अर्बको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने

काठमाडौं– नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । विशेष साधारणसभाले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको व्यापार वृद्धि तथा जोखिमलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृति पश्चात् जारी हुने गरी पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।
सभाले पारित गरेको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ ।
साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पुँजी उपकरण भएकाले राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिलले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंकलाई यो उचाइमा पुर्याउनमा सेयरधनीलगायत सरोकारवाला पक्षबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए ।