Logo

रसुवालाई स्याउ हब बनाउन जुटे दाजुभाइ

धादिङ– जलविद्युतको हवका रूपमा परिचित रसुवा जिल्ला पछिल्लो समय स्याउ उत्पादनको हवका रूपमा विकास भइरहेको छ । पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न गाउँमा स्याउ खेतीगरी उत्पादन लिन थालिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका दुई कृषक दाजुभाइ ग्यालदोर्जे तामाङ र निमादावा तामाङ अंशबण्डासहित भिन्न भएका थिए ।

तर पछि संयुक्त रूपमा स्याउखेती गर्ने निधोमा पुगे । पाँच वर्षअघि लगाएको स्याउका बिरुवाले एक वर्ष पूरा भएपछि उत्पादन दिन थाल्यो । उनीहरू स्याउ बिक्रीबाट आएको आम्दानीबाट सन्तुष्टी लिइरहेका छन् । उनीहरूले गत वर्ष नौ लाखभन्दा बढीको स्याउ बिक्री गरेका थिए । दोर्जे कृषि फर्म नाम दिएर खेती गरिरहेका उनीहरूले १० रोपनी जग्गामा एक हजार सात सय बिरुवा लगाएका छन् । फर्ममा करिब एक हजार ६ सय स्याउको बिरुवा हुनुपर्ने अनुमान ग्यालदोर्जेको छ । उनीहरूले यो खेती गर्न थालेको पाँच वर्ष भयो ।

टिभीमा स्याउबारे दिइरहेको रहेछ र उनीहरूले पनि चासो दिएर हेरेपछि थाहा पाएर घर फर्की युट्युबमा फलको प्रजाति र कसरी रोप्ने, कस्तो हावापानीमा फल्छ भन्नेबारे हेरेपछि ज्ञान त्यहीँबाट पाए । उनीहरू स्याउबारे थप बुझ्न हिमाली आयोजनाको कार्यालय पुगे । उनीहरूले इटाली र सर्बियाबाट फुजी, गाला, गोल्डेन भन्ने जातिका स्याउको बोट प्रदेश सरकारबाट ५० प्रतिशत र आफ्नो ५० प्रतिशत लगानीमा एउटा बोटको एक हजार १५० मा ल्याएर लगाए । बिरुवा लगाउँदा र त्यसका लागि थाक्रा दिन करिब प्रतिबोट ६ सय खर्च भएको छ ।

हामी दाजुभाइ मलेसिया ६/६ वर्ष बसेर आएका हौँ । विदेशको कमाइ कमाउनजेलका लागि मात्र रहेछ । २० वर्षअघि मासिक १० हजार कमाइ हुन्थ्यो । त्यसपछि घर फर्केर चिराइतो खेती गरियो, फ्लप भयो, परम्परागत खेती पनि टिकेन । अहिले हाम्रो लक्ष्य भनेकै वार्षिक १५ मेट्रिक टन स्याउ फलाउने रहेको छ । त्यसैले हामीले स्याउखेतीलाई प्राथमिकतामा राखेर मिहिनेत गरिरहेका छाैं ।’ अहिले केही सफलता मिलेको छ ग्यालदोर्जेले बताए । ‘एउटा बोट १० किलोग्राम फालउने लक्ष्य रहेको छ । उत्पादन गर्नसके बजारको दु:ख छैन । हारालुछ नै हुन्छ । यो चौथो वर्षमा एक हजार ६ सय बोटबाट तीन हजार चार सय किलो स्याउ फल्ने मोटामोटी अनुमान छ । प्रतिकिलो थोक मूल्य सरदर २५० रुपयाँमा बेचेका छाैं । कति अरिँगाल र चराले खाए, कति झरे । स्याउखेतीबारे तालिम लिन जाँदा बाहिर देशबाट १३ अर्बको स्याउ नेपाल आउने रहेछ भन्ने थाहा पायाैं । त्यसपछि हामीलाई लाग्यो, ‘विदेशी स्याउ नेपाल ल्याएर त्यत्रो पैसा विदेश जान्छ । हाम्रो देशमा नै प्रशस्तै स्याउ फलाएर नेपालको पैसा नेपालमा नै राखी विदेशी पैसा नेपाल ल्याउन पाए हुन्थ्यो ।’

त्यही सोचले पनि हामीहरू स्याउ खेतीमा लागेका छौं । अहिलेसम्म करिब ३० लाख लगानी भएको छ । गत वर्ष नौ लाखको बिक्री गरेका थियाैं । यो वर्ष पनि त्यही साढे आठ लाख जतिको बिक्री होला । असिनाले केही नोक्सानी गरेकाले केही कम हुने देखिएको छ । अहिलेसम्म तीन हजार एक सय केजी बिक्री गरिसकेका छौं ग्यालदोर्जेले बताए । रसुवाकै ब्राबलमा पनि नागुङमा लगाइएको स्याउको प्रजाति नै लगाइएको छ । तिनमा केही सामूहिक र केही व्यक्तिगत छन् । त्यहाँका कृषकले पनि स्याउबाट लाखौँ रुपैयाँ आयआर्जन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्