सिमरा–काठमाडौं हवाई भाडा घट्यो
बारा– सिमरा–काठमाडौं हवाई भाडा घटेको छ । यात्रुलाई आकर्षित गर्ने होडमा निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले उक्त रुटको हवाई भाडा घटाएका हुन् । सिमरामा घण्टौं डिले हुने समस्या झेलिरहेको यात्रुहरुलाई अनटाइम सर्भिससहित आर्कषित गर्न कम्पनीहरुले भाडा दर घटाएको बताएका छन् ।
केही समयअघि विभिन्न ४ कम्पनीहरूले ११ वटा स्वीकृत उडान अनुसार नै उडान भर्ने गरेको भए पनि घण्टौं डिलेकै कारण यात्रु कम हुन थालेपछि पछिल्लो समय उडान स्वीकृत भएपनि उडान नियमित हुन सकेको थिएन । नेपाल आयल निगमले हवाई इन्धनको रेट घटाउँदा घट्ने अन्य समय नघट्ने प्रचलन जस्तै बनेको यो रुटमा नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलमा फ्युल पम्प सर्भिस दिएपछि यति एयरलाइन्सले सिमरा काठमाडौं एकतर्फी ५ सय १५ रुपैयाँ तथा काठमाडौं–सिमरा ४ सय ३० रुपैयाँ घटाएको हो ।
यति एयरलाइन्सको सिमरा स्टेशन प्रमुख दामोदर तिवारीले यात्रुहरूलाई अनटाइम सर्भिस दिन सफल बनेको दाबी गर्दै हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको बताए । यति एयरलाइन्सले हालै अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड ‘आईएसएसए’ प्राप्त गरेपछि एटिआर ७२ विमानमार्फत सिमरा–काठमाडौं दैनिक दुई वटा उडान भर्दै आएको छ । दशैंअघि नै थप एक गरी तिन उडान गर्ने स्टेशन प्रमुख तिबारीले बताए ।
विगतमा एउटै मात्र विमान कम्पनीले उडान गरिरहँदा सिमरा विमानस्थलमा एक दशकसम्म ४ हजार २५० रुपैयाँ भाडादर यात्रुसँग असुल्ने गरेपछि अन्य कम्पनीहरुको सिमरा विमानस्थलमा प्रवेश पाएका हुन् । यात्रुले सस्तो भाडादरको पछिल्लो समय अनुभुति गर्न पाएको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष अर्जुन लम्सालले बताए ।
यति एयरलाइन्सले अनटाइम सर्भिसको दावी गर्दै भाडामा आक्रामक छुट दिएको दुई सातापछि बुद्ध एयरले प्रति यात्रु १ सय ६० घटाएर तीन हजार ६ सय रुपैयाँ कायम गरेको हो । सिमरा विमान स्थलका प्रमुख सुर्यबहादुर खडकाले सरकारले तोकेको भाडामा न्यूनतम बेसरेटसम्म निजी विमान कम्पनीहरुले यात्रुलाई छुट दिएर सेवा दिन सक्ने बताए । उनले विमानस्थलमा यात्रु तथा विमानलाई सुरक्षा र सुविधाका पूर्वाधार थप गर्दै भौतिक निर्माणका कार्यहरु प्राधिकरणले जारी राखेको जानकारी गराए ।
सिमराबाट हवाई यात्रा गर्ने यात्रु तोकिएकै समयमा विमानस्थलमा पुग्ने गरे पनि विमान घण्टौंसम्म नआउँदा निजी कम्पनीहरुले विभिन्न बहाना गर्ने गरेपछि यात्रुहरु दैनिक समस्यामा पर्ने गरेका थिए । यता बुद्ध एयरले आफनो विमान मौसमका कारण डिले हुने गरेको प्राविधिक कारण बताए पनि यतिले भने ९० प्रतिशत आफ्नो विमान कम्पनीले यात्रुहरुलाई अनटाइम सर्भिस दिएको स्टेशन प्रमुख तिवारीले जिकिर गरे ।
पथलैया वीरगन्ज औद्योगिक करिडोरका उद्योग, व्यवसायी, बारा पर्सा मकवानपुर, रौतहटका सर्वसाधारण बाहेक राजधानी जाने छोटो यात्राको रुपमा भारतीय पर्यटकको रोजाईमा यो उडान परे पनि सिमरा विमानस्थलमा निजी कम्पनीहरुले अनटाइम सर्भिस नदिएको बिहारबाट आएका राजेश बर्णबालले बताए । करिब १५ मिनेट उडान समय रहेको उक्त रुटमा एटिआर ७२ तथा एटिआर ४३ विमानले ९ वटा उडान भर्ने गरेको र दैनिक १४ सय बढी यात्रुहरुले ओहोर–दोहोर गर्ने सिमरा विमानस्थलले जनाएको छ ।