Logo

वडाले बाँडेको मकै फलेन

धादिङ– रानीबारीका किसानले बारीमा रोपेको मकै राम्रो घाेंगा लागेको भए हरियोमा घोंगा बेच्नेले हातमा नगद पार्ने बेला भयो । मकैको बोट घोंगा कुहिएर गनाएकाले अहिले किसानहरू बारीमा जान नसक्ने अवस्थामा छन् । रानीबारीका किसानले हरियो मकै चाख्नसमेत पाएका छैनन् । के खाने र वस्तुभाउलाई के खुवाउने भन्ने चिन्ताले पिरोलेको छ ।

‘थाक्रे गाँउपालिका–६ ले पालिकाको बजेटमा राखेर ५० प्रतिशत अनुदानमा मकै बीउ वितरण गर्ने कार्यक्रमअनुसार अनुदानमा किसानले बीउ लियौं,’ हरि थापाले भने । ‘एक दिन वितरण गरेको सिपी जातको मकैको बीउ चाहिँ घाेंगामा सेतो जुँगा निस्क्यो । घोंगामा जब दाना लाग्न थालयो बोट कुहिन थाल्यो । घोंगा नै कुहिन थाल्यो । केही दिनमा टाढाबाट हेर्दा मकै सुकेको देखियो ।’

बारीमा जाँदा ढोड र मकैको घोंगा कुहिएर जान सक्ने अवस्था नभएको हरिले बताए । ‘मैले ६ केजी मकै रोपेको हो पोलेरसमेत खान पाइन । हाम्रो वडामा सेतो जुँगा आउने मकै लगाउने ६० जनाभन्दा बढी होलान् । यस्तो समस्या आएपछि वडाध्यक्षलाई जानकारी गराएका छाैं’ हरिले भने । विगत वर्षमा पनि सिपी जातको मकै लगाउने गरेका थियौं । यस्तो समस्या आएको थिएन ।

थाक्रे गाउँपालिका–६ बाट ५० प्रतिशत अनुदानमा सिपी ८०८ जातको मकै ल्याएको बाली भित्र्याउन पाइएन कृष्णबहादुर थापाले बताए । ‘मेरो जति बारी छ सबैमा तीन केजी बीउ लगाएको थिएँ । अहिले पोलेर खान पनि पाइन । सरकारले हाम्रो मकैको क्षतिपूर्ति दिनुपर्छ,’ कृष्ण बहादुरले भने । यसैगरी गुरुदत्त गर्तौलाले पनि १८ रोपनी बारीमा आठ केजी सिपी ८०८ जातको मकै लगाए ।

‘सुरुमा मकैको बोट सुत्ला राम्रै थियो, जब मकैमा दान लाग्न सुरु भयो । धानचमारा सुक्न थाल्यो । केही दिनमा बोट र घाेंगा कुहिन थाल्यो । ढोड र मकैको घोंगा कुहिएर बारीमा पस्न सक्ने अवस्था नै छैन । सेतो जुँगा भएको मकैमा यो समस्या आयो । मेरो बारीमा १५ देखि १८ क्विन्टल मकै फल्थ्यो । यस वर्ष एक घोंगा मकै घरमा ल्याउन पाइएन’ गर्तौलाले भने ।

धनबहादुर थापाले पनि १४ रोपनी बारीमा सिपी ८०८ जातको मकैको बीउ ६ केजी रोपेको बताए । साँधको रातो जुँगा भएको मके देख्दा लोभ लाग्छ । आफूले लगाएको मकै युरिया मल हाल्दासम्म निकै राम्रो थियो । जब धान चमरा आयो । सुत्ला लाग्न थाल्यो । त्यसपछि समस्या आयो । औषधी उपचार गर्नसमेत भ्याइन । सबै कुहियो धनबहादुरले बताए । लोकल मकै लगाउँदा यस्तो समस्या आएको थिएन ।

थाक्रे गाउँपालिका–६ ले ५० प्रतिशत अनुदानमा वर्णशंकर (सिपी ८०८) जातको मकैको बीउ बाँडेको र मकै ढोड र घोंगा नै कुहिएको किसानको गुनासो पछि वडाध्यक्ष हीराबहादुर थापासँंग बुझ्दा उनी भन्छन्, ‘पालिकाको वार्षिक कार्यक्रममा वडा नं. ६ का किसानलाई ५० प्रतिशत मकैको बीउ कार्यक्रम राखें । कृषि शाखामार्फत् बीउ खरिद तथा वितरण गर्ने काम भएको हो । अहिले समस्या आएपछि स्थलगत अवलोकन गरेका छौं । मंगलबार छलफल राखेको छु । त्यसपछि के निष्कर्ष आउँछ । किसानको समस्या समाधान गराउन लाग्छु ।’

यस वर्ष वडा नं. ६ मा एक हजार २३० केजी बीउ वितरण गरेको र ३२० केजी बीउमा समस्या देखिएको कृषि शाखा प्रमुख सौगात थापाले बताए । ‘स्थलगत अनुगमन गरेका थियौं । किसान समस्यामा छन् । मकै बीउ सप्लायर्स कम्पनी कर्मा सिड र स्थानीय बिक्रेता वाग्ले एग्रोभेटलाई पत्राचार गरेका छौं । बीउका खराबीका कारण भए किसानले क्षतिपूर्ति पाउने व्यवस्था छ । कर्मा सिडले रोग किराको कारण होला भनेको छ ।’ स्थलगतरूपमा लगेर समाधान गर्ने कृषि शाखा प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्