Logo

स्याउका गाडीलाई पहिलो प्राथमिकतामा पठाइयो, सडकमा पहिरोको जोखिम कायमै

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो स्तरोन्नतिको माग

जुम्ला– चार दिनदेखि अरुवद्ध कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षाका कारण गत भदौ १२ गतेदेखि अवरुद्ध कर्णाली राजमार्ग आइतबार दिउँसो साढे २ बजे खुलेको हो । गगने खोला र दहिखोलाको पहिरो पन्छाएसँगै सडक खुलेको छ । सडक खुलेसँगै ताडीमा रोकिएका स्याउका ट्रकलाई पहिलो प्राथमिकता दिएर पठाइएको छ । चार दिनदेखि कालिकोटको ताडी बजार, हुल्म र जितेमा जुम्लाबाट झण्डै एक सय बढी स्याउका गाडी थन्किएका थिए ।

अधिकांश स्याउ गाडीमै कुहिसकेका छन् । किसान र व्यापारी सडक छिटो खुलाउनु पर्ने माग गरेका थिए भने नागरिक अगुवाले सडकदेखि सदनसम्म कर्णाली राजमार्गको अवरुद्ध खुलाउन र स्तरोन्नति गर्न प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । चौतर्फी दबाब र सडक डिभिजन जुम्ला र सुर्खेतको सक्रियताले चार दिनमा सडक खुलेको हो । तर सडक भरपर्दाे भने छैन । जेनतेन स्याउका गाडी पठाए पनि सडक भरपर्दाे नभएको यात्रु बताउँछन् ।

राजमार्गअन्तर्गत कालिकोटको गगनेखोलामा बाढी पहिरोको जोखिम कायमै छ । आइतबारबाट सडक खुलेसँंगै विशेष प्राथमिकताका साथ स्याउका गाडी पठाइएको किसान बलबहादुर रोकायाले बताए । आइतबार बिहान कालिकोटका प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेअनुसार सडक खुल्ने बित्तिकै ताडीमा रोकिएका स्याउ बोकेका ट्रकलाई पहिला पठाइएको किसान रोकायाले जानकारी दिए ।

उनका अनुसार अहिले ताडीमा रोकिएका सबै गाडी अगाडि गइसकेका छन् । दैखोला र गगने खोलाको पहिरो पन्छिएको छ । सडक खुल्न ढिला हुँदा सबै स्याउ कुहिएर खेर जाने चिन्तामा किसान थिए । तर चार दिनपछि सडक खुलेर स्याउका गाडी सुर्खेत नेपालगन्जतर्फ गए पनि ठूलो मात्रामा स्याउ कुहिने सम्भावना छ । झण्डै आठ करोड बराबरको स्याउ कुहिएको अनुमान गरिएको छ ।

यसैबीच बाढी पहिरोले कर्णाली राजमार्गमा १० करोड बढीको पूर्वाधारमा क्षति पुगेको छ । कालिकोटको गगने खोलामा आएको पहिरोले ५० मिटरको ग्याबिन वाल बगाएको छ । यस्तै जितेगडामा १५ मिटरको ग्याबिन वालका साथै दैलेखको आठबिस नगरपालिका–५ मालाचौरमा पनि १५ मिटर सडक बाढी पहिरोले बगाएको छ भने दही खोलाको पक्की पुलसमेत बगाएको छ ।

बाढी पहिरोले अनुमानित करिब १० करोड बराबरको सडक पूर्वाधारमा क्षति पुगेको सडक डिभिजन जुम्लाले जनाएको छ । तर क्षतिको एकिन विवरण भने आउन सकेको छैन । यता सडक डिभिजन जुम्लाका प्रमुख चेतनकुमार मण्डलले वर्षाले कर्णाली राजमार्गमा ठूलो क्षति पुर्‍याएको बताए ।

उनका अनुसार दहीखोलाको पुलका साथै जितेगडा, गगने खोला, एस मोडलगायत ठाउँमा वर्षाले ठूलो क्षति पुर्‍याएकोले स्तरोन्नतिका लागि सरकारसँंग बजेट माग गरिने उल्लेख गरे । हरेक वर्ष बजेट अभाव हुने कर्णाली राजमार्गमा स्तरोन्नतिका लागि बजेट जुटाउनु फलामको चिउरा चपाउनुजस्तै हुने डिभिजन प्रमुख मण्डलले उल्लेख गरे ।

दुई लेन सडक बनाउन माग
नेकपा एमाले जुम्लाले कर्णाली राजमार्गमा वर्षेनी हुने सास्तीलाई अन्त्य गर्न राजमार्ग दुई लेनको बनाउनु पर्ने माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै कर्णालीको जनजीवनसँग जोडिएको कर्णाली राजमार्गको स्तरवृद्धिमा विशेष बजेट विनियोजनसहित दुई लेन बनाउन माग गरिएको हो ।

हरेक वर्षामा सडक अवरुद्ध हुँदा उत्पादन बाटोमै कुहिने, सयौ सवारी र नागरिक अलपत्र पर्ने, बिरामी बाटोमै छटपटिनु पर्ने विडम्बना विद्यमान रहेकोले यी सबै समस्या हल गर्न सुरुङमार्ग (टनेल) निर्माण गर्न, दुई लेनको सडक बनाउन संघ प्रदेशलाई माग गरिएको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताए ।

अध्यक्ष महतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हरेक वर्ष सडक अवरुद्ध हुँदा सास्ती खेप्नु परेको छ । जनजीवन अस्तव्यस्त हुने गरेको छ । यसरी प्रत्येक वर्षायाममा माथिल्लो कर्णालीका जनताले सास्ती भोग्नु पर्ने अवस्थालाई समाप्त गर्न छोटो मार्गका रूपमा उक्त खण्डमा सुरुङ (टनेल)को सर्वेक्षण गरी कार्यअघि बढाउन सम्बन्धित प्रदेश सरकार तथा संघीय सरकारको ध्यानाकर्षण गराउँदछौं । साथै उक्त राजमार्गलाई दुई लेनको बनाउने कार्यलाई तदारुकताका साथ कार्यान्वयन गर्न प्रदेश सरकार तथा संघीय सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्