पत्रकारिताको बदलिँदो आकाश «

पत्रकारिताको बदलिँदो आकाश

पत्रकारिता राज्यको चौथो अंग हो । यसलाई समाजको ‘वाच डग’का रूपमा लिइन्छ । पत्रकारिता व्यवस्थित हुन सक्यो भने समाजका आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक, सांस्कृतिकलगायत समग्र आयामहरूमा परिवर्तन आउन सक्छन् । समाज र राष्ट्र व्यवस्थित हुनसक्छ । विकसित मुलुकहरूमा हेर्ने हो भने सबैभन्दा शिक्षित र बौद्धिक वर्गहरू पत्रकारितामा संलग्न रहेका पाइन्छन् । पत्रकारिता पनि अत्यन्त खोजमूलक, तथ्यपरक र विश्लेषणात्मक हुने गरेका दृष्टान्त पनि छन् ।
चाहे चाइनाबाट निस्कने बेइजिङ रिभ्युको कुरा गरौं वा अमेरिकाबाट प्रकाशित हुने न्युयोर्क टाइम्सकै कुरा गरौं वा बेलायतबाट प्रकाशित हुने फोब्र्र्स म्यागेजिनकै कुरा गरौं अथवा बीबीसी–सीएनएनजस्ता विश्वप्रसिद्ध मिडियाहरूकै कुरा गरौं । ती सबै मिडिया हाउस वा जर्नलहरूले ठूला–ठूला अनुसन्धानमुलक खबरहरू बाहिर ल्याएका हुन्छन् । जसले कतिपय अवस्थामा पूरा विश्व नै हल्लाइरहेको हुन्छ । तिनीहरूले प्रकाशित गर्ने जर्नलहरूले समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत् बुझ्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । यसरी विश्व परिवेशलाई नियाल्ने हो भने पत्रकारिता सबैभन्दा बौद्धिक र सम्मानित पेसाका रूपमा विकसित भएको देखिन्छ । तर नेपाल, भारत, बंगलादेशलगायत आर्थिक विकास र सगम्र सम्मृद्धिमा केही कमजोर तर उदार लोकतन्त्र भएको मुलुकमा मिडियाहरू व्यवस्थित एवं गर्व गर्न लायक हुन सकेका छैनन् । यद्यपि प्रेस फ्रिडमलाई यी मुलुकहरूले पनि अंगिकार गरेका छन् ।
खासगरी यी देशहरू विभिन्न राजनीतिक संकटहरूबाट गुज्रनुपरेको, विभिन्न खाले सामन्तवादी शासन व्यवस्था झेल्नुपरेकाले पनि यहाँका जनताले उचित शिक्षादीक्षाको अवसर पाएनन् । शिक्षा, स्वास्थ्य तथा सञ्चारको क्षेत्रमा आवश्यक प्रगति हुन सकेन । फलस्वरूप जनता पर्याप्त चेतनशील हुन सकेनन् । चेतना कमजोर भएपछि मान्छेले आफ्नो आवश्यकताबाहेक देश तथा समाजको आवश्यकता र विकासलाई अपरिहार्य ठान्दैन । जनता शिक्षित एवं चेतनशील नभएपछि पत्रकारिता पनि व्यवस्थित एवं उत्तरदायी हुन सक्दैन । कमजोर शैक्षिक धरातलका मान्छेहरू पत्रकारिताको आडमा आफ्नो बिहान–बेलुकीको छाक टार्ने हिसाबमा यहाँ अघि बढेका पाइन्छन् । फलतः पत्रकारिताले आर्थिक रूपान्तरण, विकास एवं समृद्धिलाई चाहेजति टेवा दिन सकेको छैन । बरु स्वार्थ समूहहरूको प्रयोगवादी जन्जालमा यहाँको पत्रकारिता फसेको छ । नेपालमा पनि अहिले भएको पत्रकारिता व्यवस्थित र समाज एवं राष्ट्रप्रति उत्तरदायी हुन सक्थ्यो भने भ्रष्टाचार नियन्त्रण, सद्चारिता, राजनीतिक स्थिरतामा निकै ठूलो योगदान पुग्थ्यो ।
केही हदसम्म पछिल्ला वर्षहरूमा पत्रकारिता व्यावसायिक एवं मर्यादित हुँदै नगएको पनि होइन । केही प्रयास भएकै छन् । त्यसै भएकाले पनि भ्रष्टाचार एवं अनियमितता, राजनीतिक तथा आर्थिक अपराधलगायतका समाचारहरू बढी नै आइरहेका देखिन्छन् । फलस्वरूप भ्रष्टाचारी, दलाल एवं शोषक–सामन्तहरू पत्रकार तथा पत्रकारिताप्रति नै एकाध त्रुटिपूर्ण घटना देखाएर चोर औंला ठड्याइरहेका छन् । पत्रकारिता क्षेत्रलाई नियन्त्रणमा राख्ने हर्कत गरिरहेका छन् ।
तर, नेपालमा पनि अब पत्रकारिता जगत् र पत्रकार परिवर्तनमुखी हुनु आवश्यक छ । लोकतन्त्र आइसकेपछि यो पेसा अझै विस्तारित भए पनि विभिन्न तवरका विकृतिहरू भित्रिएका छन्, जसलाई नियन्त्रण र व्यवस्थापन गर्न नसक्नु नियामक निकायहरूको कमजोरी हो । पत्रिकारितालाई व्यवस्थित गर्न प्रेस काउन्सिल, पत्रकार महासंघ, सूचना विभागलगायत अन्य संस्थाहरू लागि त परिरहेकै छन् । तर, पत्रकार आफैं जिम्मेबार नभई पत्रकारिता सुध्रन्न । अरू पेसा, वर्ग र समूहलाई प्रश्न गर्ने पत्रकार आफै कति जिम्मेवार छ, त्यसले पनि समाजको पत्रकारलाई हेर्ने आँखा परिवर्तन हुन्छ । नत्र जसरी सबै कर्मचारी भ्रष्टाचारी तथा सबै व्यापारी कालोबजारी भनेर लेबल लगाइएको छ, त्यस्तै सबै पत्रकार बदमास भनेर सामान्यीकरण भैहाल्छ ।
तर अब विगतमा जे–जस्तो भए पनि यस क्षेत्रमा शिक्षित वर्गको प्रवेश गराउने, पत्रकारिताप्रति समर्पित एवं निष्ठावान् नयाँ पत्रकार उत्पादन गर्ने जिम्मा पनि पत्रकारहरूकै हो । अहिले त सामाजिक रूपमै पत्रकारिता क्षेत्रलाई औंला ठड्याएको अवस्था छ । यसमा मूल रूपमा अशिक्षित वर्गको प्रवेश (जीविकोपार्जमुखी पत्रकारिता) ले यी समस्या निम्तिएका हुन् ।
पत्रकारिताको क्षेत्रमा नयाँ–नयाँ परिवर्तन देखा परिरहेका छन । समाचारपत्रहरू, रेडियो, टिभीपछि यस क्षेत्रको कान्छो आयामका रूपमा अनलाइन मिडियाहरू (इन्टरनेटको सहायतामा समाचार पस्कने माध्यम) आज संसारभर लोकप्रिय भइरहेका छन् । नेपालमा पनि अनलाइन मिडियाहरू लोकप्रिय हुँदै गएका देखिन्छन्, तर विश्वसनीय र भरपर्दो भने भइसकेका छैनन् ।
प्रविधिका कारण विकसित भएको अनलाइन माध्यमलाई कसरी जिम्मेवार र मर्यादित गराउने भन्नेमा सञ्चारमाध्यम आफैं सजग रहन जरुरी छ ।
पछिल्ला समयमा केही हदसम्म सञ्चारका एक माध्यमले अर्को माध्यमलाई थिच्न खोज्ने असहिष्षुण प्रवृत्ति पनि नेपालमा देखा परिरहेको छ । वास्तवमै त्यो गलत प्रवृत्ति हो । कुनै पनि माध्यमका आफ्नै खालका विशेषताहरू छन् । चाहे त्यो रेडियो, टिभी, पत्रपत्रिका, अनलाइन किन नहोस् । सबैका आफ्नै खालका विशेषता र महत्व छन् । मिडियाकर्मीहरूले पनि पहिले आफैंबाट सुरु गरेर परिवर्तनलाई आत्मसात् गर्न सकेका छैनन् भने समाज परिवर्तन गर्ने गरी कसरी कलम चलाउन सक्छन् ।
कतिपयले विगतमा बहस नै चलाएर प्रिन्ट मिडियाहरूको भविष्य अब सक्कियो समेत भने, तर सकिन्थ्यो कसरी ? मिडियाको एउटा नयाँ प्रविधि सम्पन्न आयाम भएर अनलाइन माध्यम देखा परेको हो । यसैको कारण अरू मिडियाहरू ध्वस्त हुने कुनै आधार छैन । त्यसकारण नयाँ सोच राख्नुपर्छ तर पुराना चीजको अस्तित्व सक्कियो भन्नु गलत नै हुन्छन् । किनभने कुनै जमाना दाल, भात, ढिँडो, तरकारी मात्रै खाने मात्रको जमाना पनि थियो । तर, अहिले त हजारौं प्रकारका परिकारको आविष्कार भएका छन् । तर, के दाल, भात, ढिँडो, तरकारीको संस्कार हराएको छ र ? यसकारण पत्रकारिता पेसा अँगाल्नेहरूले लघुताभासपूर्ण व्यवहार देखाउन हुँदैन । नेपालमा विकसित भएका सबै खालका मिडियालाई व्यवस्थित गर्दै लैजानु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्