Logo

तनहुँसुरमा प्याराग्लाइडिङ सञ्चालनको तयारी

फाइल तस्बिर ।

दमौली– तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चले डाँडाबाट व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा परीक्षणको रूपमा गरिएको प्याराग्लाइडिङ सफल भएको थियो ।

पोखरा महानगरपालिका–१२ मा दर्ता कायम रहेको पश्चिमाञ्चल भोकेशनल एण्ड टेक्निकल कलेज प्रालिबाट तनहुँसुरबाट टेक अफ गरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

व्यास नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ उडान सञ्चालन गर्न दिने सम्बन्धमा स्थानीय वासीको बैठक बसेर आवश्यक निर्णय गर्न भनिएको गैरेले बताए ।

उनले भने,‘उक्त स्थानमा प्याराग्लाइडिङ उडान सञ्चालन गर्न दिने सम्बन्धमा आवश्यक समन्वयात्मक भूमिकाका लागि प्याराग्लाइडिङ उड्डयन सम्बन्धी प्रचलित, ऐन, नियम बमोजिम भएका निर्णयमा कार्यालयको समन्वयकारी भूमिका रहने भएकाले पश्चिमाञ्चल भोकेशनल एण्ड टेक्निकल कलेज प्रालिलाई अनुमति दिने सम्बन्धमा वडा भेला गरी डिभिजन वन कार्यालय र तालुक निकायसँग समन्वय गरी राय सहित लेखी पठाउन भनिएको छ ।’

व्यास नगरपालिका–११ का पूर्व वडाध्यक्ष निरबहादुर खड्काले लामो समयको प्रयासपछि अब यस ठाउँबाट व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको बताए । उनले भने, ‘मेरै कार्यकालमा यहाँ परीक्षणका रूपमा प्याराग्लाइडिङ गरिएको थियो । अब दर्ता गरी सञ्चालनको तयारीमा पुगेका छाैं ।’ उनले स्थानीय वासीको भेला गरी प्याराग्लाइडिङ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

वडाध्यक्ष दलबहादुर दुराले यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । ६ वर्ष अगाडी पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शंकर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेका थिए ।

तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वी राजमार्गको घाँसीकुवा पाँच किलोमिटर र त्यहाँबाट ३/४ किमिको दूरीमा यस ठाउँ रहेको छ । त्यस ठाउँको केही घरमा घरबास समेत सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए यस ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सन्जय श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्