Logo

नेपालमा पर्यटक

न संख्या बढ्यो नत आम्दानी र बसाइ अवधि

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमनको पछिल्लो सात वर्षको अवस्था हेर्दा न संख्यामा सुधार आएको छ, नत पर्यटक बस्ने अवधि र खर्च नै बढेको छ ।

सन् २०१७ मा नेपालमा ९ लाख ४० हजार पर्यटक आएका थिए । ती पर्यटकको औषतमा बसाइ अवधि १२.६ दिन थियो भने खर्च प्रतिदिन औषत ५४ अमेरिकी डलर थियो । यसको सात वर्षपछि अर्थात् २०२३ मा १० लाख १४ हजारको संख्यामा पर्यटक आएका छन् भने उनीहरुको बसाइ अवधि १३.२ दिन र खर्च प्रतिदिन औषतमा ४१ अमेरिकी डलर रहेको छ ।

यो तथ्यांकले पर्यटनका क्षेत्रमा सात वर्षको लामो अवधि नेपालले उपयोग गर्न नसकेको देखिन्छ । पर्यटन क्षेत्रका लागि सात वर्ष लामो समय हो, तर देखिने र महसुस हुने गरी यो क्षेत्रमा सुधार आउन सकेको छैन । जबकी यही बेला निजी क्षेत्रले खर्बौं रुपैयाँ लगानी गरेको छ ।

यो सात वर्षका बीचमा कोभिड महामारीले २–३ वर्ष पर्यटकीय गतिविधिमा ठूलो असर पारेको थियो । तर, अहिले विश्वका अधिकांश मुलुकमा पर्यटन गतिविधि पुरानै लयमा फर्केको छ । साथै पर्यटक संख्या, बसाइ अवधि र आम्दानी सबैमा थप सुधार भएको छ । हामी भने अझै कोभिड अगाडिको अवस्थामा फर्कन सकेका छैनौं ।

कोभिड सुरु हुनुअघि सन् २०१९ (२०१९ को अन्तमा कोभिड सुरु भएको) मा नेपालमा ११ लाख ९७ हजार जना पर्यटक आएका थिए । ती पर्यटकको औषत बसाइ अवधि १२.७ दिन थियो भने प्रतिपर्यटक औषत दैनिक खर्च ४८ अमेरिकी डलर थियो ।

कोभिडकालमा पर्यटक धेरै नआए पनि उनीहरुको बसाइ अवधि र खर्च धेरै भएको थियो । सन् २०२० मा प्रतिपर्यटक प्रतिदिन खर्च ६५ डलर पुगेको थियो भने उनीहरुको बसाइ अवधि १५ दिनभन्दा धेरै थियो । गत वर्ष १० लाख १४ हजारमात्र पर्यटक आए भने उनीहरुको बसाइ अवधि १३.२ दिन र प्रतिदिन खर्च ४१ डलरमात्र रह्यो । यो तथ्यांकले नेपाली पर्यटन कोभिड अगाडिको अवस्थामा पनि नपुगेको देखिन्छ ।

पछिल्लो सात वर्षको तथ्यांक हेर्दा पर्यटकको संख्या, उनीहरु बस्ने अवधि र उनीहरुले गर्ने खर्चमा सुधार नआए पनि सरकारले महत्वाकांक्षी लक्ष्य राख्न छोडेको छैन । राष्ट्रिय योजना आयोगले तयार पारी लागु भएको सोह्रौं योजना (२०८१/८२–८५/८६) मा वार्षिक पर्यटन आगमन संख्या २५ लाख पुर्‍याउने, औसत बसाइ अवधि १५ दिन बनाउने र प्रतिपर्यटक प्रतिदिन औषत खर्च ८५ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको छ । यस्तै, योजनाले कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

पर्यटन क्षेत्रका अधिकारीहरुका अनुसार पर्यटक आगमन, बसाइ अवधि र खर्च बढ्न नसक्नुमा पर्यटकका लागि उपयुक्त गन्तव्यको विकास गर्न नसक्नु नै मुख्य कारण हो । यस्तै, भएका गन्तव्यहरुको पनि प्रचारप्रसार गर्न नसक्दा यस क्षेत्रबाट राज्यले लाभ लिन सकेको छैन । नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशीले कोभिडकालमा सरकारी नियमका कारणमात्र पर्यटकको बसाइ अवधि र खर्च बढेको जानकारी दिए । उनले भने, ‘सन् २०२० र २०२१ को कोभिडकालमा पर्यटक होटल क्वारेन्टिनमा दुई सातासम्म बस्नुपर्ने नियम थियो । यही कारण पर्यटकको अवधि र खर्च दुवै बढेको हो ।’ पर्यटकको संख्यासँगै बसाइ अवधि र खर्च बढाउन चुनौती रहेको उनले बताए ।

उनका अनुसार सोह्रौं योजनाको लक्ष्य असम्भव छैन । तर, लक्ष्य प्राप्ति भने चुनौतीपूर्ण छ । यो लक्ष्य पूरा गर्न पूर्वाधार निर्माणमा विस्तार, स्रोत बजार र डिजिटल पेमेन्टको चुहावट नियन्त्रण गर्न उनको सुझाव छ । ‘पूर्वाधारको विस्तार गर्न नसक्दा खर्चालु पर्यटक आगमनमा वृद्धि हृुन सकेको छैन,’ जोशीले भने, ‘बाटोदेखि विमानस्थलसम्म सुधार गरेर प्रचारप्रसारमा जोड दिए सबै क्षेत्रमा वृद्धि गर्न सकिन्छ ।’ गत वर्ष १० लाख बढी पर्यटक आउँदा पनि प्रतिपर्यटक दैनिक खर्च ४१ डलरमात्र हुनु भनेको चिन्ताजनक विषय भएको पूर्व प्रमुख जोशीको भनाइ छ ।

सरकार र यसका निकायले पर्यटक आउने स्रोत बजारमा प्रचारप्रसार गर्न जोड नदिएकाले पर्यटक नबढेको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) पूर्व अध्यक्ष रमेश थापाले बताए । उनका अनुसार प्रचारप्रसार बाहेक युरोप तथा अन्य पर्यटकीय स्रोत बजारमा सिधा हवाई उडान नहुँदा पनि पर्यटक आगमन बढ्न सकेको छैन । एकातिर विभिन्न मुलुकलाई ट्रान्जिट बनाएर आउँदा हवाई भाडा महँगो पर्ने गरेको छ भने अर्कोतिर सरकारले हवाई टिकटमा कर लगाएर थप निरुत्साहित बनाएको छ । आएका पर्यटकको बसाइ अवधि लम्ब्याउन र खर्च धेरै गराउने प्याकेज पनि हामीसँग राम्रा छैनन् ।

आयोगको लक्ष्य पूरा गर्न सरकारले भएका विमानस्थलको सञ्चालन, प्रचारप्रसारमा जोड र खर्चालु पर्यटक ल्याउनका लागि यूरोपमा सिधा उडानमा जोड दिनुपर्ने थापाको सुझाव छ । भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी नगद ल्याउन नदिनु तथा सरकारले पर्यटन उद्योगको नीतिगत सहजता र ल्याएका कार्यक्रम कार्यान्वयन नगर्दा पर्यटनबाट हुने खर्च र बसाइ अवधि कम भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्