Logo

‘कांग्रेसको जनमत बढेको छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, “यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ । अहिले दुई तिहाई बहुमतको वर्तमान सरकारमा गम्भिर ह्रास भएको छ । हामी आगामी दुई वर्षमा कांग्रेसलाई पुनस्र्थापित गराउँछौं । कांग्रेस बलियो हुन्छ ।”
आफूहरु आगामी निर्वाचनको लागि तयारीमा जुटेको पनि उनले सुनाए । उनले भने, “यो निर्वाचन परिणामलाई सकारात्मक रुपमा लिएका छौं । जनताप्रति हामी हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छौं ।”
यद्यपि उपनिर्वाचनको परीणामले तीनवटै तहका आधारभूत संरचनामा खासै प्रभाव नपर्ने उनको भनाइ छ । उनले भने, “यो निर्वाचनले नेकपाप्रति रुची घटाएको छ । कतिपय महत्वपूर्ण ठाउँमा हामीले जित हासिल गरेका छौं । भक्तपुर र धरानमा हामीले जित्यौं । कतिपय महत्वपूर्ण वडामा पनि जितेका छौं । यसले कांग्रेसलाई उत्साहित बनाएको छ ।”
त्यस्तै, कांग्रेस पराजित भएका कतिपय ठाउँमा पनि धेरै ठूलो मतान्तर नभएको उनको स्पष्टोक्ति थियो । उनले भने, “पराजित भएका ठाउँमा पनि हामीले मतान्तर घटाएका छौं । निर्वाचनको परिणाम सत्तासिन अनुकूल आएन, यो भनेको उसको लोकप्रियतामा गम्भिर ह्रास हो ।”
कास्की क्षेत्र नम्बर २ र दाङमा सहानुभूतिका कारण नेकपाका उम्मेदवारले विजय हासिल गरेको उनको विश्लेषण छ । बाग्लुङमा त नेकपाले पराजयको डरले उम्मेदवारी नै नदिएको र जनमोर्चासँग आत्मसमर्पण गरेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्