मेरो पालिका
कृषि, पर्यटन र पूर्वाधार निर्माण क्व्होलासोथारको प्राथमिकता

क्व्होलासोथार गाउँपालिका लमजुङका स्थानीय तहमध्ये भौगोलिक रुपमा विकट पालिका हो । गाउँपालिकाको क्षेत्रगत अवस्था, वस्तुस्थिति, आम नागरिकको गुनासो र विकास निर्माण लगायतका विषयमा नजिकबाट जानकारी लिनका लागि म स्वयं जनतामाझ पुग्ने गरेको छु । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको हालको अवस्थालाई समीक्षा गर्दा योजना तथा कार्यक्रमहरुको उपलब्धि सन्तोषजनक देखिन्छ । यद्यपि भूगोल अनुसार बजेट पर्याप्त नहुँदा जनताले अपेक्षा गरेजति उपलब्धि प्राप्त गर्न सकिएको छैन ।
नेपालको संवैधानिक व्यवस्था, संघीय तथा प्रदेश सरकारको नीति तथा कार्यक्रममा रहेर वडाबाट प्राप्त सुझाव तथा कार्यक्रमहरु, विभिन्न व्यक्ति तथा संघ सस्थाहरुबाट प्राप्त रायसल्लाहलाई प्राथमिकतामा राखी गाउँपालिकाको विकास र समृद्धिको खाका बनाउँदै आएका छौं । गाउँपालिकाको आन्तरिक श्रोतसाधन, दिगो विकास लक्ष्य प्राप्तिको लागि अन्तर्राष्ट्रिय स्तरमा व्यक्त गरेका प्रतिवद्धताहरु, निर्वाचनको समयमा मतदातासमक्ष व्यक्त गरेका प्रतिवद्धताहरुलाई नीति तथा कार्यक्रमको मुख्य मार्गदर्शनको रुपमा लिएर हामी अघि बढिरहेका छौं ।
नेपालकै दोश्रो होमस्टेको अवधारणा सहित चर्चामा रहेको घलेगाउँ क्व्होलासोथारमै पर्छ । कृषि पर्यटन र आन्तरिक रीति–संस्कृतिले पनि क्व्होलासोथारको आफ्नै छुट्टै पहिचान बनाएको छ । गुम्बा, मठ–मन्दिर र समुदायको भेष–भुषा, चाड–पर्वको विषयमा अध्ययन गर्नेको लागि पनि एक गन्तव्य स्थलको रुपमा देखिएको छ । चिया बगान, कफि बगान, अलैंची खेति र घुम्ती भेडीगोठ यस भेगका आम सर्वसाधारण मानिसको प्रमुख आयआर्जनको स्रोत हो । लमजुङ जिल्लाको मनोरम दृश्य, सेता हिउँले ढाकिएको हिमाल र मनोरम पहाडी दृश्य, गुरुङ समुदायको परा–पूर्ब कालदेखिको रिति संस्कृति र पहिचान क्व्होलासोथारको सम्पत्ति हो ।
गाउँपालिकाका अघिकांश नागरिक कृषि पेशासँग सम्बन्धित रहेका छन् । सोहि कारण पनि हामीले कृषिलाई प्राथमिकता दिनैपर्छ । कृषि तथा पशुपन्छी विकास गर्न सकियो भने समग्र गाउँपालिकाको समृद्धि सम्भव छ भन्ने हाम्रो मान्यता हो । यसकारण कृषि तथा पशुपन्छी विकासका लागि कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रीकरण मार्फत जनताको आयस्तर वृद्धि गर्ने नीति गाउँपालिकाले लिएको छ ।
यसबाहेक नगदे बाली उत्पादक कृषकहरुको लागि अनुदानको व्यवस्था, निर्वाहमुखी कृषि प्रणाली तथा पशुपालन प्रणालीलाई विस्थापित गर्दै व्यावसायिक कृषि तथा पशुपालन प्रणालीमा जोड दिँदै कृषकहरुको आर्थिक उत्थानको लागि विभिन्न प्याकेजका कार्यक्रमहरु ल्याएका छौं । कृषिलाई सिँचाइसँग जोड्दै थोपा सिँचाइलाई प्राथमिकतामा राखेका छौं ।
क्व्होलासोथार गाउँपालिका पर्यटन क्षेत्रका लागि पनि पर्याप्त सम्भावना भएको गाउँपालिका हो । सार्क राष्ट्रकै नमुना घलेगाउँ, साविक एक गाविस एक गाउँ भनेर चिनिएको भुजुङ, गुरुङ सम्पदामा धनी पसगाउँ आन्तरिक तथा बाह्य पर्यटकका गन्तव्य रहेका छन् । पछिल्लो समय कास्कीदेखि लमजुङ हुँदै मनाङ जोड्नेगरी प्रवद्र्धन गरिएको गुरुङ सम्पदा मार्गले पनि क्व्होलासोथारको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्दै छ ।
गाउँपालिकाको पर्यटन विकासका लागि पर्यटनमैत्री वातावरण निर्माण गर्दै विभिन्न आवश्यक पूर्वाधारहरुको निर्माण गर्ने, व्यावसायिक होमस्टेको थप प्रवद्र्धन गर्ने, धार्मिक, ऐतिहासिक पर्यटकिय सम्पदाको थप प्रवद्र्धन गर्ने, गुरुङहरुको बाहुल्यता रहेको क्व्होलासोथारको गुरुङ संस्कृति, सभ्यता, संस्कारको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएका छौं ।
गाउँपालिकाभित्रको मुख्य समस्या भनेको सडक हो । गाउँपालिकाको बजेटले सडकका लागि पर्याप्त बजेट विनियोजन गर्न सक्दैन । त्यसका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौं । यसबाहेक भौगोलिक विकटताको बाबजुद पनि प्रत्येक गाउँसम्म पुग्ने सडक ट्रयाक खोल्ने काम भने गाउँपालिकाले नै गरिरहेको छ ।
गाउँपालिकाको केन्द्र र विभिन्न वडाहरुलाई जोड्ने सडकहरुलाई संघ, प्रदेश र स्थानीय तहको आफ्नै लगानीमा स्तरोन्नति गर्दै लाने नीतिलाई अवलम्बन गरिएको छ । बाहेक अन्तर जिल्ला तथा अन्तर स्थानीय तह जोड्ने सडक खण्डलाई पनि आवश्यकता र प्राथमिकीकरणका आधारमा संघीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्दै आएका छौं ।
भौगोलिक विकटताका बाबजुद हाम्रो पालिकामा अहिलेसम्म ठूला उद्योग छैनन् र अहिलेलाई त्यो सम्भावना देखिँदैन । यद्यपि साना तथा घरेलु उद्योगका हकमा व्यवसाय गर्न चाहने नागरिकलाई भने हामीले प्राथमिकतामा राखेका छौं । विशेष गरी दलित समुदाय, अपाङ्गता भएका व्यक्तिहरुले कुनै पनि घरेलु व्यवसाय सञ्चालन गर्दा दर्ता शुल्कमा निःशुल्क र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिने नीति लिएका छौं । परापूर्वकालदेखि सञ्चालन गर्दै आएका पेशाहरुलाई संरक्षण एवं सम्वद्र्धन गर्दै युवाहरुलाई प्रोत्साहन एवं क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएका छौं ।
गरिबीको रेखा मुनी रहेका नागरिकहरुलाई सुरक्षित आवासको अनुभूति दिलाउन खरको छानामुक्त गाउँपालिका अभियान सञ्चालन गरेका छौं । उद्यमशीलता, रोजगारीमूलक, सशक्तिकरण, सीप विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रमहरुमा ती वर्गका नागरिकलाई प्राथमिकतामा राखेका छौं । विशेष गरी स्थानीय स्रोतसाधनको प्रयोग गरी लघु घरेलु उद्यम मार्फत रोजगारी सिर्जना गर्ने नीति हामीले लिएका छौं ।
भौगोलिक विकटताले सबैभन्दा बढी प्रभाव पार्ने भनेको शिक्षा र स्वास्थ्यमा पनि हो । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउनका लागि गाउँपालिका स्तरीय वार्षिक परीक्षा प्रणाली शुरु गरेका छौं । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि नियमित अनुगमन, शिक्षकहरुको क्षमता विकास कार्यक्रम र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं । गरिब तथा जेहेन्दार र उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई माध्यमिक तथा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँपालिकाभित्रका दलित तथा विपन्न परिवारको लागि स्वास्थ्य बीमा, भौगोलिक विकटताकै कारण नियमित स्वास्थ्य सेवा पाउन नसकेका नागरिकहरुलाई आवश्यकता अनुसार विशेषज्ञ टोली सहितको विशेष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं । अघिल्ला वर्षबाटै शुरु भएको ज्येष्ठ नागरिक क्लिनिक कार्यक्रमलाई निरन्तरता दिँदै ८० वर्ष नाघेका नागरिकहरु तथा अपांगता भएका व्यक्तिहरुलाई मासिक रुपमा घरमै गई स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेका छांै । यसबाहेक तालिम प्राप्त स्वास्थ्यकर्मीहरुद्वारा गर्भवती महिलाहरुलाई निःशुल्क ग्रामिण भिडियो एक्स–रे घुम्ती शिविर पनि शुरु गरिएको छ ।
नागरिकको आधारभूत आवश्यकता खानेपानी हो । खानेपानीको स्रोत पहिचान गरी एक घर एक धाराको कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाएका छौं । सो बाहेक स्थानीय परम्परागत धार्मिक एवं ऐतिहासिक मुल, कुवा, ढुङ्गेधारा एवं पोखरीहरुको संरक्षण तथा सम्वद्र्धनमा पनि विशेष ध्यान पुर्याएका छौं । क्व्होलासोथारका सबै गाउँहरुमा अहिलेसम्म राष्ट्रिय विद्युत पुगेको छैन । गाउँपालिका भित्रको विद्युत सेवालाई भरपर्दो र विश्वसनिय बनाउनको लागि नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रसारण लाइनमा क्रमशः जोड्दै लाने नीति लिएका छौं । नवीकरणीय उर्जालाई प्राथमिकतामा राखी पर्यटकीय स्थानमा सडक सौर्य बत्ती जडान कार्यलाई प्राथमिकता राखेका छौं । निश्चित मापदण्डको आधारमा विद्युतिय चुलो र धुवाँरहित सुधारिएको चुलो वितरण गर्ने गाउँपालिकाको योजना रहेको छ ।
प्रदेशः गण्डकी
जिल्लाः लमजुङ
गाउँपालिकाः क्व्होलासोथार
वडा संख्याः ९
क्षेत्रफलः १७५.३७ वर्गकिमि
जनसंख्याः १०,०६७
उपाध्यक्षः गमीमाया गुरुङ
प्रमुख प्रशासकीय अधिकृतः माधवप्रसाद वाग्ले