चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध
करोडौंको स्याउ बोकेका ६३ ट्रक बाटोमै अलपत्र
जुम्ला– बाढीपहिरोका कारण चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध छ । सडक अवरुद्ध हुँदा जुम्लामा उत्पादित स्याउ बोकेका ६३ वटा ट्रक बाटोमा रोकिएका छन् । करोडौं रुपैयाँ पर्ने स्याउ कुहिने जोखिम बढेको छ ।
कर्णाली राजमार्ग अन्तर्गत दैखोला, गगनेखोला, एडमोडलगायत स्थानमा आएको पहिरोले सडक र पुल दुवै बगाएको छ । जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउ निर्यात गरेर आउने आम्दानी हो । स्याउ निर्यातको समयमा चार दिनसम्म सडक अवरुद्ध भएको र खुल्ने समय निश्चित नहुँदा बाटोमा अलपत्र परेको मात्र नभई बोटकै स्याउ पनि कुहिने अवस्था आएको छ ।
स्याउ व्यापारीहरुका अनुसार सडक अवरुद्ध भएपछि जुम्लाबाट स्याउ लिएर गएका ६३ भन्दा बढी ट्रक बीचमै अलपत्र परेका छन् । प्याकिङ गरी निर्यात गर्ने तयारीमा रहेका गाडी र संकलन गरेर प्याकिङ गर्दै गरेको स्याउ पनि जिल्लामै थन्किएको छ । यो समस्याले किसानको करोडौं मूल्यको स्याउ कुहिने जोखिम बढेको छ ।
एउटा ट्रकमा कम्तीमा पनि पाँच सय स्याउका कार्टुन लोड गरिएका छन् । चार दिनदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएपछि करोडौंको स्याउ अलपत्र परेको हिमा गाउँपालिका–३ का किसान बलबहादुर रोकायाले बताए । उनले झण्डै १२ सय कार्टुन स्याउ खरिद गरेका छन् । स्याउ टिप्न र प्याकिङ गर्न नै ४–५ दिन लागेको उनले बताए । उनले भने, ‘सडक अवरुद्ध हुँदा चार दिनदेखि स्याउ थन्किएको छ । सडक खुल्ने निश्चित छैन । सडक खुलाउन सुर्खेत र जुम्ला सडक डिभिजनले चासो देखाएका छैनन् । करोडौंको स्याउ कुहिने खतरा छ । न स्याउ ढुवानीको बीमा छ न त ढुवानीमा सहुलियत । राज्यबाट किसान मारमा परिरहेकै अवस्थामा सडक अवरुद्ध भएर स्याउ कुहिने खतरा बढेपछि किसान दोहोरो मारमा परेका छन् ।’
तातोपानी गाउँपालिका–१ का व्यापारी कालो कामीले पनि ५ सय कार्टुन स्याउ गाडीमा लोड गरी राखेको र सडक नखुल्दा कुहिने जोखिम बढेको गुनासो गरे । जुम्लाको मुख्य आम्दानी नै स्याउ भएकोले करिब ६ दर्जन बढी स्याउका गाडी थन्किँदा रातदिन गरेर सडक खुलाउनुपर्नेमा राज्य निरीह देखिएको उनको भनाइ छ । जुम्लाबाट यस वर्ष ४० करोडको स्याउ निर्यात हुने अनुमान छ । कुल उत्पादन १४ हजार टन हुने र त्यसमध्ये १० हजार टन निर्यात हुने कृषि विकास कार्यालयको प्रक्षेपण छ । भर्खर स्याउ निर्यातको समय सुरु भएको बेला राजमार्ग ठप्प भएपछि स्याउबाट हुने आम्दानी घट्ने देखिएको छ ।
यात्रुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन प्रहरीले सहयोग गरे पनि स्याउ बोकेका गाडी भने सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज, सुर्खेत गाडी पुर्याउन नसके करोडौंको क्षति जुम्लाले व्यहोर्नुपर्ने चन्दननाथ–९ का व्यापारी रामबहादुर खत्रीले बताए । उनले भने, ‘केही कमाइ होला, नजिकिँदै गरेको दशैंतिहार मनाउने रकमको जोहो होला भनेर स्याउ ल्याइयो । चार दिनदेखि बाटोमै थन्किएको छ । चालक, सहचालकलाई खुवाउँदा खर्च बढेको छ । गाडीको ढुवानी पनि बढी तिर्नुपर्ने अवस्था छ । यसरी थन्किएको स्याउ कुहिने समस्या हुन्छ । करोडौंको क्षति हुने निश्चित छ ।’
सडक डिभिजन जुम्लाका प्रमुख चेतनकुमार मण्डलले उपलब्ध स्रोतसाधनको प्रयोग गरेर छिटोभन्दा सडक खुलाउने प्रयास गरिरहेको बताए । उनका अनुसार गगने खोलामा सडक र दैखोलामा पुल नै बगेकोले समस्या भएको छ । उनले भने, ‘सडक खुल्न अझै समय लाग्छ । राजनीतिक दल, नागरिक समाज, प्रदेश सरकार र संघीय सरकारलाई जवाफदेहि बनाउन जरुरी छ ।’
तत्काल सडक खुलाउन ध्यानाकर्षण
चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग तत्काल खुलाउन माग गरिएको छ । जुम्लाको स्याउ निर्यात हुने बेलामा भएको सडक अवरोध हटाउन सरकारले नै ढिलासुस्ती गरिरहेको भन्दै मुख्यमन्त्रीदेखि प्रशासनलाई ध्यानाकर्षण गराइएको हो ।
केही दिनअघि सांसद विनिता कठायतले कर्णाली राजमार्ग स्तरोन्नतिको माग गर्दै प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् । यसैगरी जुम्लाको हिमा गाउँपालिका–१ का वडाध्यक्ष रतनबहादुर शाहीले थन्किएका स्याउलाई मध्यनजर गर्दै राजमार्ग खुलाउन पहल गर्न कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
यस्तै हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले शनिबार जिल्ला प्रशासन कार्यालय जुम्लामा तत्काल सडक खुलाउन गृह मन्त्रालयसँग समन्वय गर्न ध्यानाकर्षण पत्र दिएका छन् । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्षसमेत रहेका शाहीले समयमै स्याउ निर्यात नभए जुम्लाले करोडौंको क्षति व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी तत्काल सडक खुलाउन समन्वयका लागि प्रजिअलाई ध्यानाकर्षण गराएका हुन् ।