Logo

नाफा कमाउने लगानीकर्ताको ध्याउन्न

२२५ अंकले झर्‍यो नेप्से

काठमाडौं– नयाँ सरकार गठनपछि एक महिनामै करिब एक हजार अंकले बढेको सेयर बजारमा यस साता ‘ब्रेक’ लागेको छ । सेयर बजारका जानकारहरूले अहिले सेयर बजार ‘करेक्सन टाइम’मा रहेको र अझै केही दिन रहने बताएका छन् ।

२०८१ असार १७ देखि निरन्तर बढेको नेप्से करिब तीन हजार बिन्दुसम्म पुगेर घटेको छ । अघिल्लो हप्ता २६ अंकले घटेको बजार यो हप्ता २७ अर्ब कारोबार रकमसहित २२५ अंकले तल झरेको छ । कारोबार रकम पनि घट्दो क्रममा रहेको छ ।

३४ कारोबार दिनमा झन्डै ५० प्रतिशत बढेर ३०५० को बिन्दुसम्म पुगेको बजार विगत ७ कारोबार दिनदेखि करेक्सन हुँदै आएको छ । इन्ट्राडे अनुसार यो करेक्सन १० प्रतिशतको हाराहारीमा छ । सेयर बजारका प्राविधिक विश्लेषक सुवासचन्द्र ढुंगानाका अनुसार बुल बजारभित्रको १०–१५ प्रतिशतसम्मको करेक्सनलाई सामान्य नै मान्न सकिन्छ । त्यसकारण अहिलेको करेक्सन धेरै देखिए पनि सामान्य हो । ‘२८००–२६६० को रेन्ज डिमाण्ड जोनमा बजार छिरिसकेकाले अब यसमा केही समय साइडवेजमा बसेर कताको ब्रेकआउट दिन्छ त्यसले नै बजारको दिशा निर्धारण गर्दछ,’ ढुंगानाले भने ।

घट्दो बजारमा कारोबार घट्दै जानु सकारात्मक पक्ष भए पनि २० दिनको औषत आकारभन्दा लगातार कारोबार हुनु त्यति राम्रो नमानिने उनी बताउँछन् । ‘अब बजार माथि जाँदा औषतभन्दा बढी आउँछ भने पहिलेको माथिल्लो बिन्दुभन्दा माथि नै बजार जान सक्छ भनेर अनुमान गर्न सक्छौं,’ उनले भने ।

यदि बजार अहिलेकै बिन्दुबाट फर्कियो र २८५० माथि बन्द हुन सकेमा र कारोबार रकमले पनि साथ दिएमा अहिलेको करेक्सन सकियो भन्ने आधार बलियो उनले उनको भनाइ छ । कतिपय जानकारहरूले सेयर बजारमा तीन हजार बिन्दुको मनोवैज्ञानिक ज्ञासका कारण लगानीकर्ताले धेरै गिरावटको सामना गर्नुपरेको बताएका छन् ।

विगतदेखि नै सेयर बजारले रुचाएका अर्थमन्त्री पौडेल आएपछि लगानीकर्ता उत्साहित हुँदा सेयर बजार तीव्र गतिमा वृद्धि भएको थियो । तर, अहिले विगतमा निकै नै घाटा खाएका लगानीकर्ताले नाफा लिन थाल्दा करेक्सन आएको सेयर बजारका जानकार अम्बिर बोगटी बताउँछन् । ‘विगतमा निकै पेनिक भएका लगानीकर्ताले अहिले धमाधम नाफा लिएँ,’ उनले भने, ‘नाफा लिइसकेपछि उनीहरूले तत्कालै बजार प्रवेश गरेका छैनन्, त्यसकारण अहिले करेक्सन आयो ।’

अब बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएपछि सेयर बजार पुनः आफ्नै लयमा फर्कने उनको विश्लेषण छ । ‘नयाँ सरकार गठनप्रति लगानीकर्ता सकारात्मक हुँदा बजार सुपर स्पिडमा बढेको थियो । त्यस अवधिमा पुराना लगानीकर्ताले नाफा पनि लिए,’ उनले भने, ‘अब नयाँ लगानीकर्ताको प्रवेश हुँदै जाँदा बजार फेरि अगाडि बढ्छ ।’

सेयर बजारका लगानीकर्ता एवम् नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले लगानीकर्ताले नेप्से २२ सय, २५ सय र तीन हजार बिन्दुमा पुग्दासम्म करेक्सन नआएपछि ३२ सयमा करेक्सन आउने मनोवैज्ञानिक त्रासका कारण बजार घटेको बताए । एकैपटक सेयर बजार तीन हजार बिन्दुमा पुगेपछि लगानीकर्ताले अब फेरि बजार घट्छ भन्ने सोचेर नाफा कमाउनतर्फ लागेको उनको भनाइ छ । उनले अहिले सेयर बजारको गिरावट करेक्सन मात्रै भएको र अब केही दिनमै बजारले फेरि गति लिने अपेक्षा गरे । ‘अहिले करेक्सनमात्रै भएको हो । करिब २ कारोबार दिनपछि बजार फेरि लयमा जान्छ भन्ने अपेक्षा छ,’ लम्सालले भने । ब्याजदर घट्नु, तरलता बढ्दै जानु, पुँजीकोषमा लचक नीति आउनु लगायतका कारण अब बजार अगाडि बढ्दै जाने आधार रहेको उनले बताए ।

साताको सेयर बजार
नेप्से परिसूचक
गत आइतबार नेप्से परिसूचक २.६८ प्रतिशत घटेर २८९४.५७ बिन्दुमा झर्‍यो । सार्वजनिक बिदाका कारण सोमबार सेयर बजार बन्द भयो । त्यसपछि मंगलबार खुलेको सेयर बजारमा नेप्से परिसूचक १११.९६ अंक अर्थात् ३.८६ प्रतिशत घटेर २७८२.६० बिन्दुमा झरेको थियो । बुधबार नेप्से परिसूचक ३.८० अंक बढेर २७८६.४० बिन्दुमा पुगेको थियो । ‘इन्ट्राडे’मा भने नेप्से २८६०.८९ बिन्दुसम्म पुगेको थियो । बिहीबार नेप्से परिसूचक १.३२ प्रतिशत घटेर २७४९.५७ बिन्दुमा झरेको छ ।

कारोबार रकम
पछिल्ला दिनमा कारोबार रकम भने सुस्त भएको छ । बजार घटिरहँदा लगानीकर्ताको सक्रियता कम भएकोले पनि कारोबार केही घटेको जानकार बताउँछन् । बिहीबार ३२२ धितोपत्रको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर १ लाख ४६ हजार २०४ पटकमा १२ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार परिसूचक बढे पनि कारोबार रकम भने घटेको थियो । बुधबार ३२६ धितोपत्रको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर १ लाख ६८ हजार १७५ पटकमा १३ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार ३३० धितोपत्रको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर २ लाख ३४ हजार ३६० पटकमा १८ अर्ब ६४ करोड रुपैयाँ हाराहारीमा कारोबार भएको थियो । गत आइतबार ३३३ धितोपत्रको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर २ लाख १८ हजार ५७८ पटकमा १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सेयर मूल्यमा वृद्धि
बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार लिवर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लाग्यो ।

मंगलबार तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो ।

गत आइतबार विन नेपाल लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको थियो ।

सेयर मूल्यमा गिरावट
बिहीबार १०.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०८३ नामक ऋणपत्रको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । डिबेञ्चरको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा१० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो ।

बुधबार कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक धेरै ६.८८ प्रतिशत गुमाएका थिए । मंगलबार नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो ।
गत आइतबार मन्दाकिनी हाइड्रोपावर कम्पनीका सेयरधनीले सर्वाधिक बढी ९.९१ प्रतिशत गुमाएका थिए ।

सर्वाधिक कारोबार
बिहीबार सर्वाधिक सेयर खरिदबिक्रीको हिस्सा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ओगटेको छ । यस कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ कायम भएको छ । सेयर सर्वाधिक खरिदबिक्री हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ । कम्पनीको ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बुधबार चन्द्रागिरी हिल्सले ४३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार गर्दै सर्वाधिक कारोबार गर्ने कम्पनीको रुपमा रहेको थियो । मंगलबार सेयर सर्वाधिक खरिदबिक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगट्यो । यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

गत आइतबार सेयर सर्वाधिक खरिदबिक्रीको हिस्सा अपि पावर कम्पनीले ओगट्यो । यस कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

सूचकको वृद्धि र गिरावट
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये बिहीबार ६ समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये विकास बैंक समूहको सूचक सबैभन्दा बढी ४.५२ प्रतिशत बढेको छ । यस्तै व्यापार समूहको सूचक सबैभन्दा बढी १.५५ प्रतिशत घटेको छ ।

गत बुधबार सात समूहको सूचक बढ्दा बाँकी समूहको सूचक घट्यो । तीमध्ये लगानी समूहको सूचक सबैभन्दा बढी १.०१ प्रतिशत बढ्यो भने वित्त समूहको सूचक १.६९ प्रतिशत घट्यो ।
मंगलबार होटल तथा पर्यटन समूहको सूचक ०.४३ प्रतिशत बढ्यो भने बाँकी सबै समूहको सूचक घट्यो । जसमध्ये बैकिङ समूहको सूचक सबैभन्दा बढी ४.९२ प्रतिशत घट्यो ।

गत आइतबार लघुवित्त समूहको सूचक सबैभन्दा बढी १.०८ प्रतिशत बढ्दा बाँकी सबै समूहको सूचक घट्यो । तीमध्ये लगानी समूहको सूचक सबैभन्दा बढी ३.८३ प्रतिशत घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्