‘भक्तपुरमा अवैध प्लटिङको बिगबिगी’
भक्तपुर- स्वीकृति नै नलिइ अनाधिकृत प्लटिङ गरेर घडेरी बिक्री गर्ने परिपाटी हाबी हुँदै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । शुक्रबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्तको कार्यालय भक्तपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार भक्तपुर जिल्लामा १ सय ९० स्थानमा स्वीकृति नलिई मापदण्ड विपरीत प्लटिङ भइरहेको सार्वजनिक गरेको हो ।
जसमध्ये सबै भन्दा धेरै चाँगुनारायण नगरापालिका रहेको जिल्ला आयुक्तको कार्यालय भक्तपुरका आयुक्त कृष्णकुमार महर्जनले जानकारी दिए । उनका अनुसार चाँगुनारायण नगरपालिकामा १ सय ४३ स्थानमा स्वीकृति नलिई मापदण्ड विपरीत प्लटिङ भइरहेको छ । यस्तै, मध्यपुर ठिमिमा ११ वटा र सूर्यविनायक नगरापलिकामा ३६ वटा रहेका छ ।
भक्तपुर नगरपालिकामा भने स्वीकृति नलिई मापदण्ड विपरीत प्लटिङ नभएको आयुक्त महर्जनले जानकारी दिए । उनले चाँगुनारायण नगरपालिकाको पनि वडा नं ६, ८ र ९ मा एकदमै धेरै अवैध रुपमा जग्गा प्लानिङ भएको बताए । जिल्ला आयुक्तको कार्यालय भक्तपुरका आयुक्त महर्जनका अनुसार भक्तपुर जिल्लामा वैध रुपमा योजना स्वीकृत लिएर प्लानिङ भएको संख्या भने ५५ वटा मात्रै रहेको छ ।
सबै भन्दा धेरे सूर्यविनायक नगरापलिकामा २३ वटा (४ सय ६५ रोपनी), मध्यपूर ठिमि नगरापलिकामा ८ वटा (८२ रोपनी), चाँगुनारयण नगरपालिकामा १८ वटा (६ सय ७१ रोपनी) र भक्तपुर नगरापलिका ६ वटा (९१ रोपनी) गरी कुल १३ सय ११ रोपनी मात्रै योजना स्वीकृत लिएर प्लानिङ भएको छ ।
जग्गा प्लानिङ गर्दा न्यूनतम मापदण्ड ६ मिटरको बाटो हुनु पर्ने मापदण्ड छ । यस्तै, कुल क्षेत्रफलको ५ प्रतिशत खुल्ला क्षेत्र र १५ प्रतिशत बाटोको लागि छुट्याउनु पर्ने व्यवस्था छ । यसका साथै व्यायामशाला, पार्क, ढल, बत्ती, पानीलगायत सुविधा हुनुपर्ने पनि उल्लेख छ । तर अवैध रुपमा सञ्चालत प्लानिङले यस्ता मापदण्डको खिल्ली उडाउने गरेका छन् ।
त्यती मात्र हैन भक्तपुरमा अवैध रुपमा सञ्चालनमा रहेका प्लानिङहरुले सार्वजनिक जग्गा, खोला नाला, कलो कुलेश सबै अतिक्रमण गर्दै आएका छन् । यी सबै गर्न लागि कतिपयि स्थानमा नगरापलिकाले नै बजेट छुट्याउने गरेको छ भने जनप्रतिनिधिहरुले समेत जग्गा सम्याउने नाममा मापदण्ड विपरीत प्लटिङलाई प्रश्रय दिने गरेका छन् ।