दूध बिक्रीको रकम भुक्तानी गर्न निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दूध बिक्रीको रकम भुक्तानी गर्न गर्न नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन् । बिहीवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुखसहित कर्मचारीहरुसँगको छलफलमा मुख्यमन्त्री आयार्यले उक्त निर्देशन दिएका हुन् ।
६/७ महिनादेखि दूधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न उनले निर्देशन दिए । ‘तपाईंहरुसँग छलफल गर्न चाहन्थे । किसानले दूधको भुक्तानी नपाउँदा समस्या परेको छ । किसानको कुरा आइपुगेको छ । दूधको भुक्तानी रोकिदा चौतर्फी असर परेको छ । छिटो भुक्तानी गर्नोस,’ उनले भने, ‘किसानको भुक्तानी रोकेर राख्न हुँदैन । म संघीय सरकारसँग पनि यस बारेमा पहल गर्छु ।’
गत पुस महिनाबाट किसानले दूधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले दूधको भुक्तानी गर्न अर्थ मन्त्रालयमा ६० करोड रुपैयाँ माग गरेको छ । बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज दुग्ध वितरण आयोजनाले मात्रै २० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । लुम्बिनी प्रदेशको ग्रामिण अर्थतन्त्रको बलियो आधारको लागि दुग्ध व्यवसायलाई प्रवर्द्धन गर्ने गरी प्रदेश सरकारले समेत योजना बनाउने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे ।
सो अवसरमा नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलिप चौधरी दूधमा आत्मनिर्भरताको लागि नेपालगन्ज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गरेका थिए । यो आयोजनाको लुम्बिनी र कर्णाली प्रदेश गरी पाँच जिल्लामा दुग्ध चिस्यान केन्द्र रहेका छन् । दूध उत्पादन बढ्दै गए पनि बजारीकरण समस्या किसानले भोग्नु परेको छ । असोज महिनादेखि चैतसम्म दैनिक आठ हजार लिटर दूध संकलन हुने गरेको छ ।
असोजदेखि चैतसम्म दूध उत्पादन बढे पनि बजारीकरण गर्न समस्या हुँदा मिल्क होलिडेको मारमा किसान रहेका छन् । तर, वैशाखदेखि भदौसम्म दूध संकलन घट्ने हुँदा दूधको बजारलाई सन्तुलनमा राख्न समस्या पर्ने गरेको छ । वैशाखदेखि भदौसम्म दैनिक दुई हजार लिटर मात्रै दूध संकलन हुँदा बजारको माग धान्न नसक्ने अवस्था रहेको छ । दुग्ध वितरण आयोजनाले दाङको शान्तिनगर दुग्ध चिस्यान केन्द्र, लमही दुग्ध चिस्यान केन्द्र, बर्दियाको सानोश्री, भूरिगाउँ चिस्यान केन्द्रबाट दूध संकलन गरिरहेको छ ।
यस्तै सुर्खेतको छिन्छु दूध चिस्यान केन्द्र र कोहलपुर आयोजना कार्यालयबाट समेत दूध संकलन हुँदै आएको छ । एक सय ११ सहकारी संस्थाबाट हजारौं किसानले दूध बिक्री वितरण गर्दै आएका छन् । उद्योगको प्रति घण्टा एक हजार लिटर दूध प्रशोधन गर्न सक्ने क्षमता छ । हाल दैनिक १२ हजार लिटर दूध संकलन हुँदै आएको आयोजना कार्यालयले जनाएको छ । दूधको सहज बजारीकरणको लागी पाउडर प्लान्ट बनाउन प्रस्ताव गरिएको छ ।