बाढीले पुल र सडक बगाउँदा कर्णाली राजमार्ग ठप्प
जुम्ला– अविरल वर्षापछि आएको बाढीपहिरोले साविक कर्णालीका जुम्ला, कालिकोट र मुगु जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बुधबार रातिदेखिको अविरल वर्षापछि गगने खोलामा आएको बाढी र पहिरोले सडक अवरुद्ध भएको हो ।
गगने खोलामा माथिबाट आएको ढुंगा माटोसहितको बाढीले सडक नै बगेर गएको छ । यसैगरी दैखोलामा आएको बाढीले पक्की पुल बगाएको सडक डिभिजन जुम्लाले जानकारी दिएको छ ।
असार लागेसँगै भएको वर्षापछि आएको बाढीपहिरोले राजमार्गमा निरन्तर पहिरो आइरहेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि राजमार्ग क्षतविक्षत भइसकेको छ । राजमार्गको गगने खोला, एस मोड, दैखोला र मेहर खोलामा आएको बाढी र पहिरोले राजमार्ग अवरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख चेतनकुमार मण्डलले बताए । उनका अनुसार तीन ठाउँमा ठूलो पहिरोसहित हुल्म, जितेगाडा, सेरिघाट लगायतका स्थानमा स–साना थुप्रै पहिरो आएकोले सडक खुल्न कम्तीमा तीन दिन लाग्ने देखिएको छ ।
दैखोला–जुम्लाको १०४ किमी क्षेत्रभित्र निरन्तर आइरहेको पहिरोले यात्रा सास्तीपूर्ण बनेको छ । दैखोलामा बगेको पुल सुर्खेत सडक डिभिजनको कार्यक्षेत्रभित्र पर्छ । दैखोलाको माथिबाट आएका ठूला ढुंगाले पुल नै थिचिएको छ भने सडकमै खोलो बगिरहेको छ । यसका कारण यात्रा निकै कष्टकर बनेको स्थानीय जयबहादुर शाहीले बताए । उनका अनुसार सरोकारवालाले ३–४ दिनमा सडक खुल्ने भने पनि अवस्था हेर्दा निकै समय लाग्ने देखिन्छ । गगने खोलामा सडकको निसाना पनि नरहेको उनको भनाइ छ ।
विशेषगरी शुभकालिका गाउँपालिका जानका लागि निर्माण गरिएको ग्रामीण सडकबाट ढुंगासहितको पहिरो आएपछि राजमार्गको गगने खोलाको सडक बगाएको छ । गगने खोलामा सडक नै भिरालो जमिनमा परिणत भएको छ । ढुंगासहितको बाढीले दैखोलाको पक्की पुल पनि पुरिएको छ । स्थानीय तहले राजमार्ग हुँदै गाउँ जोड्ने सडकमा मापदण्ड नपुर्याउँदा पहिरोको जोखिम बढेको हो । ठाउँठाउँमा निर्माण भएका ग्रामीण सडककै कारण कर्णाली राजमार्ग ध्वस्त भएको सडक डिभिजन प्रमुख मण्डलको तर्क छ । शुभकालिका गाउँपालिका जाने बाटोको माटो र ढुंगा एकैसाथ आएपछि गगने खोलामा लगाएको टेवा पर्खाल र सडक पूरै बगाएपछि सडक अवरुद्ध भएको मण्डलले जानकारी दिए । डिभिजनबाट मेसिनसहित पहिरो पन्छाउन जनशक्ति परिचालन भइरहेका छन् । तर, साना–ठूला गरी दर्जन बढी ठाउँमा पहिरो आएकोले सडक खुल्न ३ देखि ४ दिन लाग्ने अनुमान गरिएको डिभिजन कार्यालयले जनाएको छ ।
उता दैखोलामा बाढीले पुल बगाउँदा एक मालवाहक ट्रक फसेको छ । गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । सडक अवरुद्ध भएपछि जुम्ला, कालिकोट, मुगुबाट सुर्खेत तथा नेपालगन्ज जाने सवारीसाधन रोकिएका छन् । स्याउ बोकेर गएका ट्रक पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन् । २ सय ३२ किमी लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि पटक–पटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।
सार्वजनिक महत्वको प्रस्ताव दर्ता
कर्णाली राजमार्ग स्तरोन्नतिको माग गर्दै प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभा सदस्य विनिता कठायतको पहलमा राजमार्ग सुधारको माग गर्दै बुधबार प्रस्ताव दर्ता भएको हो ।
२०६३ सालबाट सञ्चालनमा आएको कर्णाली राजमार्ग राज्यको उपेक्षाका कारण मृत्यु मार्गका रुपमा परिचित भएको भन्दै चिन्ता व्यक्त हुँदै आएको छ । कर्णालीको लाइफलाइन भनिए पनि हरेक आर्थिक वर्षको बजेट वक्तव्यमा कर्णाली राजमार्गलाई उपेक्षा गरिँदै आएको छ । हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने राजमार्गको काँचुली फेर्न सरकार अनुदार भएपछि जुम्लाकी सांसद कठायतले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी हुन् ।
कठायत प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू सोबिता गौतम, मैना कार्की, अम्मरबहादुर थापा, अनिशा नेपाली, कान्तिका सेजुवाल, चन्द्रबहादुर विश्वकर्मा, गणेश पराजुली, शिव नेपाली, विराजभक्त श्रेष्ठ, मनिष झा, निशा डाँगी, सुमना श्रेष्ठ, तोसिमा कार्की, चन्द्रा कार्की, लक्ष्मी तिवारी र छिरिङ लामाले समर्थन गरेका छन् । कर्णालीको आर्थिक समृद्धि र जीविकोपार्जनसँग जोडिएको कर्णाली राजमार्गको स्तरोन्नतिमा संघीय सरकारको ध्यान केन्द्रित गर्न प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको सांसद कठायतले जानकारी दिइन् । कर्णाली राजमार्गको स्तरोन्नति गर्दै सम्भावित सार्वजनिक सवारीसाधनको दुर्घटनाको रोकथाम र नियन्त्रण सम्बन्धी छलफल गर्न प्रस्ताव दर्ता गरिएको हो ।
कर्णाली राजमार्ग बारम्बार अवरुद्ध हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने सवारीसाधन बीच बाटोमा रोकिँदा सयौं यात्रु अलपत्र पर्ने गर्छन् ।