सांसद भन्छन्– ९० को चिनी १२० किन पुग्यो ?
काठमाडौं– उद्योगी व्यवसायीले दसैं, तिहारजस्ता ठूला चाडपर्व नजिकिएसँगै चिनीको मूल्य बढाएकामा बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले विरोध जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले चिनीको मूल्य वृद्धिमा सरकारको ध्यानाकर्षण गराए । सांसद पराजुलीले केही दिनअघिसम्म ९० रुपैयाँ प्रतिकेजीमा पाउने चिनीको मूल्य अहिले १२० रुपैयाँ पुगेको बताए । उनले भने, ‘भ्रष्टाचार गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्न छ, केही समय अगाडिसम्म ९० रुपैयाँमा पाइने चिनीको मूल्य अहिले १२० सम्म पुर्याएको रहेछ । उत्पादन लागत बढेको वा आयात गर्दा मूल्य बढेको हो ? सरकारले जवाफ दिनुपर्यो ।’
समयमै अत्यावश्यक वस्तुको आपूर्ति गर्न बजार हस्तक्षेप र नियमन गर्नुपर्ने सरकार नै कमिसनतन्त्रमा लिप्त भएको आशंका रहेको उनले बताए । चाडपर्व नजिकिएको बेला बजार अकासिन लागेको उनले बताए । पराजुलीले भने, ‘बेरोजगारी र अभावले थिलथिलो भएका जनताले कालोबजारीलाई प्रश्रय दिने र कमिसनतन्त्रको बार्गेनिङ गर्ने सरकारको खबरदारी नगरेर के दीपावली गर्नुपर्ने हो ?’
सांसद पराजुलीले भनेजस्तै अहिले बजारमा चिनीको मूल्य बढेको छ । विगतका वर्षहरुमा जस्तै चाडपर्वको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका हुन् । दुई साताअघि प्रतिकिलो एक सय रुपैयाँ पर्ने चिनी अहिले एक सय २० रुपैयाँसम्म बनाइएको हो ।
विगतका वर्षहरुमा पनि चाडपर्वअघि चिनीको कृत्रिम अभाव देखाएर व्यवसायीहरुले मूल्य बढाउँदै आएका थिए । यो वर्ष चाडपर्व सुरु हुनासाथ चिनीको मूल्य बढाइसकिएको छ । अहिले बजारमा मूल्यको एकरुपता भने छैन । खुद्रा पसलले आफूखुसी मूल्य लिने गरेका छन् ।
खुद्रा व्यापारीहरुका अनुसार दुई साताअघि चिनी प्रतिकिलो ९५–१०० रुपैयाँ थियो । अहिले बजारमा १ सय १० देखि १ सय २० रुपैयाँसम्म पुगेको छ । गत साता कारोबारसँग कुरा गर्दै खुद्रा व्यवसायी संघका महासचिव अमुल तुलाधरले पछिल्लो दुई सातायता चिनीको मूल्य बढेको जानकारी दिएका थिए ।
केही दिनअघि सय रुपैयाँमा पाउने चिनी अहिले थोक बजारमै १०९ रुपैयाँ पुगेको उनको भनाइ थियो । उनका अनुसार बजारमा चिनी पर्याप्त छ तर पनि के कारणले मूल्य बढेको छ भन्ने उनीहरुलाई नै थाहा छैन ।
विगतमा साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी हुन्थ्यो । बजारमा व्यापारीले मनपरी गर्न पाउँदैनथे । अहिले सरकारले साल्ट ट्रेडिङलाई चिनी ल्याउने जिम्मा नदिएर उद्योगी–व्यापारीहरुलाई दिएको छ । चिनी ल्याउने जिम्मा पाएका यी उद्योगी र व्यापारीले भन्सार महशुल बढी भएको भन्दै आयात गरेका छैनन् । अहिले चिनीमा २० प्रतिशत भन्सार महशुल लाग्दै आएको छ । उनीहरुले यसलाई १० प्रतिशतमा झार्न खोजिरहेका छन् ।
नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि गत साता कारोबारसँग कुरा गर्दै पछिल्ला दिनमा दैनिक उपभोग्य वस्तु चिनीसहित दाल, गेडागुडी, चामल, तरकारी लगायतका धेरै वस्तुमा अस्वाभाविक रुपले १० देखि ५० प्रतिशतसम्म मूल्य बढेको बताएका थिए । उपभोक्ताको हितमा सरकारले ध्यान नदिँदा बजारमा कालोबजारी मौलाएको अध्यक्ष महर्जनको भनाइ छ ।
व्यवसायीहरुसँग हातेमालो गरी सरकारले कालोबजारी नियन्त्रण गर्न छोडेर उल्टै प्रोत्साहित गर्दै आएको उनको आरोप छ । उनका अनुसार चाडपर्वमा चिनीको सहज आपूर्तिका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङलाई कोटा छुट्याएर आयातको अनुमति दिनुपर्ने थियो । तर, सरकारले निजी क्षेत्रलाई चिनी ल्याउन कोटा दिएकाले यो परिणाम देखिएको हो ।
यस्तै, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले पनि चिनी महँगो हुनुमा सरकारलाई दोष दिए । उनका अनुसार बजारमा अहिले चिनीमात्र नभई सबै खाद्यवस्तुको मूल्य बढेको छ । बजारमा सरकारको उपस्थिति छैन । व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर कालाबजारी गरी उपभोक्तालाई ठगिरहेका छन् ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी राकेश पाण्डेका अनुसार चाडपर्वमा उपभोक्तालाई सहज रुपमा चिनी आपूर्तिको व्यवस्था मिलाउन सात व्यावसायिक फर्मलाई आयात अनुमति दिइएको छ । उनीहरुलाई १९ हजार टन चिनी आयात गर्न अनुमति दिइएको थियो ।
देशभर चिनीको वार्षिक माग २ लाख ८० हजार टन रहेको सरकारी आकलन छ । स्वदेशी उत्पादन १ लाख ८० हजार टन हुन्छ । अरु नपुग करिब एक लाख टन आयात गर्नुपर्ने अवस्था छ ।