दोहोरो सुविधा लिन्छन् उपकुलपति
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले २०७९ असोज ६ गतेदेखि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलतिमा डा. टिएन जोशीलाई नियुक्त गरेको छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को दफा २० को उपदफा ४ मा प्रतिष्ठानका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा प्रचलित कानुन बमोजिम हुने व्यवस्था गरेको छ । सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५’ र ‘मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी २०७५’ प्रचलनमा छ । यही ऐन बमोजिम उपकुलपति जोशीलाई राज्यमन्त्री सरह पारिश्रमिक र सुविधा दिइँदै आएको प्रतिष्ठान स्रोतले जनाएको छ ।
यिनै ऐनहरुमा सरकारी कोषबाट कुनै एक सुविधा वा पारिश्रमिक मात्रै पाउने पनि व्यवस्था गरिएको छ । तर पहिलेदेखि नै शिक्षण पेशमा रहेका उपकुलपति जोशीले शिक्षण पेशासमेत गर्दै सरकारी कोषबाट दोहोरो सुविधा बुझ्दै आएका छन् । उपकुलपतिमा नियुक्त हुनु अघि कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरियास्थित श्री कृष्ण माविमा कक्षा ११ र १२ का विद्यार्थीलाई नेपाली र आमसञ्चार विषय पढाउँदै आएका उपकुलपति जोशीले अझै पनि नेपाली विषय पढाउँदै आएका छन् । सोवापत् उपकुलपति जोशीलाई विद्यालय कोषबाट दैनिक/कक्षाका आधारमा पारिश्रमिक उपलब्ध गराउँदै आएको श्रीकृष्ण माविका प्रधानाध्यापक चन्द्रदेव जोशीले बताए ।
प्रदेश सभाको सामाजिक विकास समितिमा दफवार छलफलको क्रममा रहेको ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ मा उपकुलपतिलाई प्रदेश सरकारको ११औं तहको कर्मचारीले पाउने सुरु तलब स्केल बराबर पारिश्रमिक पाउने व्यवस्था गरेको छ ।
संशोधनमा एक थान चारपांग्रे गाडी, मासिक ७० लिटर इन्धन, त्रैमासिक ५ लिटर मोविल, वार्षिक १० हजार रुपैयाँ लुगा भत्ता, एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्च, दैनिक दुई हजार रुपैयाँ भ्रमण भत्ता, प्रचलित कानुन बमोजिम विदेश भ्रमण भत्ता र प्रदेश निजामति कर्मचारी सरह विदा सुविधा उपकुलपतिलाई दिने व्यवस्था गरिएको छ । संशोधन ऐन पारित नहुँदै प्रदेशमा प्रचलित रहेको कानुन बमोजिम उपकुलपति जोशीले यी सबै सुविधा पाइरहेका छन् ।
उपकुलपति जोशीले श्री कृष्ण माविमा मात्रै नभई धनगढीका विभिन्न निजी कलेजमा समेत अध्यापन गर्दै आएको जानकारहरु बताउँछन् । धनगढीबाट करिव २५ किलोमिटर टाढा रहेको विद्यालयमा अध्यापन गर्न र धनगढीको भागेश्वर एकेडेमी फर हेल्थ साइन्समा अध्यापन गर्न उपकुलपति जोशी प्रदेश सरकारबाट सुविधामा पाएको गाडी र इन्धन दुरुप्रयोग गर्ने गरेका छन् । दोहोरो पारिश्रमिक बुझ्न र सुविधाको दुरुपयोग गर्न प्रदेशमा प्रचलित कानुनहरुले बर्जित गरेका छन् ।
कार्यक्रममा उपकुलपतिको रजाई
प्रदेशका सबै भाषाभाषी, साहित्य, कला, संस्कृति, दर्शन तथा सामाजशास्त्रको संरक्षण, प्रबद्र्धन र विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गरेको भएपनि उपकुलपतिले कुनै एक भाषाभाषीको मात्रै कार्यक्रम गर्ने गरेको आरोप लाग्दै आएको छ । उनले प्रतिष्ठानको वार्षिक कार्यक्रम र बजेट बनाउँदासमेत आफू इतरको भाषा, साहित्य, कला र संस्कृतिका लागि कार्यक्रम र बजेट विनियोजन नगरेको स्रष्टाहरुले आरोप लगाएका छन् ।
प्रदेशका मुख्यमन्त्री कुलपति, सामाजिक विकस मन्त्री सहकुलपति, मुख्यमन्त्रीले नियुक्त गरका एक जना उपकुलपति, १० जना सदस्य र प्रतिष्ठानका वरिष्ठ कर्मचारी सदस्य सचिव रहने व्यवस्था ऐनमा भएपनि मुख्यमन्त्रीले बाँकी सदस्य नियुक्त नगर्दा प्रतिष्ठानको कार्यक्रम र बजेटमा उपकुलपति जोशीले एक्लो निर्णयले कार्यक्रमहरु तय गरिरहेका छन् । प्रतिष्ठानले पूर्णता नपाएको कारण उपकुलपति जोशीले आफू खुशी कार्यक्रम तय गरी कार्यान्वयन गर्ने गरेको स्रष्टाहरुको आरोप छ ।
प्रशंसा र सार्वजनिक पदमा मोहित हुने गरेका उपकुलपति जोशी कैलाली जनपुस्तकालयको अध्यक्ष पनि रहेका छन् । कैलाली जनपुस्तकालय सार्वजनिक संस्था हो । जसले विभिन्न भाषाका साहित्यिक तथा समाजशास्त्री पुस्तक संकलन गरी आफ्ना सदस्यलाई पढ्ने व्यवस्था गर्छ ।