Logo

दाङमा दुईवटा पुलको ठेक्का सम्झौता रद्द

दाङ– सडक डिभिजन कार्यालय दाङले दुईवटा पुलको ठेक्का सम्झौता रद्द गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ गिधनियास्थित तुइखोला र घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पत्रेखोला पुलको ठेक्का सम्झौता खारेज गरेको हो । तुईखोला पुल २०७६ असोज महिनासम्म निर्माणको काम सक्ने गरी २०७४ मा बाँकेको एडभेन्चर जेभी नेपालगन्जसँग ६ करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार काम नभएपछि सडक डिभिजन कार्यालय दाङले ठेक्का सम्झौता रद्द गरेर निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको सूचना अधिकारी इन्जिनियर उज्ज्वलकुमार झाले जानकारी दिए । उनका अनुसार घोराही–तुलसीपुर सडक खण्डको पत्रेखोलामा पुल निर्माणको जिम्मा पाएको कान्छाराम शंकरमाली जेभीसँग पनि ठेक्का सम्झौता रद्द भएको छ ।

२०७४ भदौ ९ सम्म पुल निर्माण सक्ने गरी २०७१ भदौमा चार करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल लामो समयपछि निर्माण भए पनि पुलमा निर्माण गर्नुपर्ने रेलिङ र एक्सिस रोडलगायतको काम हुन सकेको थिएन । उक्त काम निर्माण कम्पनीलाई गर्नका लागि पटकपटक ताकेता गर्दा पनि नगरेपछि गत आर्थिक वर्षमै ठेक्का सम्झौता रद्द गरिएको सूचना अधिकारी झाले बताए ।

ठेक्का रद्द गरेपछि निर्माण व्यवसायी अदालत गएकाले नयाँ ठेक्काको काम हुन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । ‘पुल निर्माणका लागि पटकपटक म्याद थपसँगै ताकेता गर्दा पनि पुल निर्माणको काम पूरा हुनसक्ने अवस्था नदेखिएपछि बाध्य भएर सम्झौता खारेज गरेका हौँ,’ सूचना अधिकारी झाले भने ।

विगत आठ वर्षदेखि अलपत्र डुरुवा–कोठरी जोड्ने हापुरखोला पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोला पुलको करिब ८५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । २०७५ चैत १८ सम्म काम सम्पन्न गर्ने गरी सुर्खेतको एसपीए सूर्य जेभीसँग २०७३ असोज १९ मा भ्याटबाहेक १० करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार दुई वर्ष ६ महिनामा पुल निर्माणको काम सक्नुपर्ने भए पनि निर्माण कम्पनीले काम नगर्दा लामो समयदेखि अलपत्र परेको थियो । पुल निर्माणका लागि चार पटक म्याद पथ गरेपछि अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गत वर्षदेखि निर्माण कम्पनीले राम्रोसँग काम गरेकाले पुल निर्माणको कामले गति लिएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर झाले जानकारी दिए ।

पुलको पिलर निर्माणसँगै सुपरस्ट्रक्चरको काम सकिएको छ । पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । ‘निर्माण व्यवसायीको लापरबाहीका कारण लामो समयदेखि पुल निर्माण हुन सकेको थिएन तर पछिल्लो समय पुलका लागि पिलर निर्माणसँगै स्ल्याब राख्ने काम सकिएपछि खोलामा बाढी आएको बेला मान्छे पुलबाट वारपार गर्नेसम्म भएको छ,’ उनले भने ।

तुईसोता पुलको ८३ प्रतिशत काम
तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुईसोतामा निर्माणाधीन पुलको भौतिक प्रगति ८३ प्रतिशत रहेको छ । २०८१ पुस २३ सम्म पुल निर्माणको काम सक्ने गरी २०७९ असार २३ मा महेश इन्जिनियरिङ सत्यवती जेभी बर्दघाट नवलपरासीसँग ठेक्का सम्झौता भएको थियो । तुलसीपुर उपमहानगरपालिका–१३ को फूलबारी र दंगीशरण गाउँपालिका–२ को सरुवाडाँडा गाउँ जोड्ने गरी पुल निर्माणको काम भइरहेको छ ।

पुल निर्माणको काम सन्तोषजनक रहेको भन्दै सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विकले यही गतिमा पुल निर्माणको काम भए निर्धारित समयमै सकिने बताउँछन् । पुलका लागि पिल्लर निर्माणसँगै स्ल्याब राख्ने काम सकिएकाले अब फिनिसिङ लगायतका काम बाँकी छ । १० करोड आठ लाख रुपैयाँ लागत रहेको पुलको हालसम्म आठ करोड ४३ लाख ९९ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

रनसिङ खोला पुलको ४२ प्रतिशत काम
दुई जिल्ला जोड्ने गरी गढवा गाउँपालिका–१ रनसिङ खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ४३ प्रतिशतमात्रै रहेको छ । गढवा गाउँपालिका–१ जुरौनी र अर्घाखाँचीको शीतगंगा नगरपालिका–८ चिरङ्गे जोड्ने रनसिङ खोला पुल निर्माणका लागि २०७९ फागुन ३० सम्म सक्ने गरी सूर्य सेरम तिरुपाते जेभी वीरेन्द्रनगर–६ सुर्खेतसँग २०७७ कात्तिक २ मा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले काम नगर्दा दुई पटक म्याद थप भइसकेको छ । पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम नगरेपछि विगत एक वर्षदेखि तिरुपाते निर्माण कम्पनीले पुल निर्माणको काम गरिरहेको साइट इन्चार्जसमेत रहेका इन्जिनियर विकले जानकारी दिए । उनका अनुसार पुलका चार पिलर र तीन स्ल्याबमध्ये पिलर निर्माणको काम सकिएको र एउटा स्ल्याब राखिएको छ ।

‘नयाँ कन्ट्याक्टरले पुल निर्माणको जिम्मा लिएपछि अहिले पुलको भौतिक प्रगति देखिने अवस्था भएको छ,’ इन्जिनियर विकले भने, ‘कन्ट्याक्टरले यही गतिमा काम गरे थपिएको समयमा पुल निर्माण हुने देखिन्छ ।’ नौ करोड २४ लाख ४० हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको पुलको वित्तीय खर्च तीन करोड ९१ लाख ६८ हजार रुपैयाँ रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । समयमा पुल निर्माणका काम नहुँदा स्थानीयलाई वर्षात्को समया रनसिङ खोला वारपार गर्न समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्