Logo

एक वर्षमा ८२१ घरमा खानेपानीको धारा

दाङ– सल्यान जिल्लामा रहेको छत्रेश्वरी गाउँपालिकाले एक वर्षमा ८२१ खानेपानीको धारा निर्माण भएका छन् । पालिकाका सबै नागरिकसमक्ष स्वच्छ र दिगो खानेपानीको व्यवस्थापनका लागि ‘एक घर, एक धारा’को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ८२१ घरधुरीमा खानेपानीको सुविधा पुर्‍याएको हो । जसबाट पाँच हजार ३६० जनसंख्या लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।

खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा उल्लेख्य लक्ष्य हासिल गर्नका लागि पालिकाको आफ्नै लगानी तथा विभिन्न दातृ निकाय, संघ संस्था एवम् परियोजनासँगको सहकार्य र साझेदारीमा योजना सञ्चालन गर्दा एक वर्षको अवधिमा ८२१ बढी घरधुरीमा खानेपानीको धारा निर्माण गर्ने सफलता मिलेको गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले जानकारी दिए ।

पालिकाका विभिन्न ३६ योजना तथा गाउँपालिकासँगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) मार्फत घरघरमा धारा निर्माण गरिएको उनको भनाइ छ । एक गाग्री खानेपानीको जोहो गर्न निकै दु:ख भोग्ने गरेकी सल्यानको छत्रेश्वरी गाउँपालिका–४ हारिचारकी रामकली खत्री घरमै धारा निर्माण भएर नियमित पानी आउन थालेपछि दंग छिन् ।

पानीको समस्यासँगै सबैभन्दा बढी जुध्ने गरेका छत्रेश्वरीकै वडा नं ७ स्थित पानीखोलाका महिला जागरुक भएर महिलाको मात्रै समिति निर्माण गरेर बृहत् योजना सम्पन्न पार्दै घरघरमा धारा निर्माणसँगै विकटको मुहानबाट पानी ल्याउन सफल भएका हुन् । स्थानीय मिनाकुमारी वलीले अहिले वर्षाैँदेखिको खानेपानी समस्या समाधान भएको बताउँछिन् । गाउँपालिकाले स्थानीय समुदायलाई समेत सक्रिय बनाउँदै विभिन्न निकायसँगको साझेदारीमा एक वर्षको अवधिमा मात्रै उल्लेख्य प्रगति हासिल गरेको छ ।

खानेपानीका धारासँगै घरघरमा हात धुने स्थान तथा चाङसमेत निर्माण भएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आफ्नै लगानीबाट ३६ वटा योजना सम्पन्न गरेर ५१२ वटा धारा निर्माण भएको र यसबाट दुई हजार ६२१ जना लाभान्वित भएको योजना शाखा प्रमुख नविन चन्दले जानकारी दिए । यस्तै सुस्वा परियोजनामार्फत ३०९ जनाको घरमा धारा निर्माण भएको गाउँपालिकाको वास इकाईले जानकारी दिएको छ ।

परियोजनाअन्तर्गत खानेपानी तथा सरसफाइका योजनाबाट दुई हजार ७३९ जना लाभान्वित भएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । उनले भने, ‘घरघरमा खानेपानीका धारासँगै भाँडाकुडा माझिसकेपछि सुकाउन, राख्नका लागि २३६ घरमा चाङ र २७५ घरमा हात धुने स्थान पनि बनाइएको छ । गत आर्थिक वर्षमा खानेपानीका चारवटा बृहत् योजना सम्पन्न भएका छन् ।’

वडा नं १ मा ७९ लाख ४७ हजार ११३ रुपैयाँको लागतमा १४६ घरमा धारा पुर्‍याएर दुदेलिगैरा खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको छ भने वडा नं २ मा ३२ लाख ९७ हजार ८६४ रुपैयाँ लागतमा पांग्रेखोला दमाचौर खानेपानी तथा सरसफाइ योजनाबाट ४५ घरमा धारा पुगेको केसीले जनाए ।

यस्तै वडा नं ४ मा ३४ लाख ८६ हजार ८०७ रुपैयाँ लागतमा निर्माण भएको ढुंगेखानी हारिचार पोखरीडाँडा खानेपानी योजनाले ३२ घरमा धारा पुगेको छ भने वडा नं ७ मा ५२ लाख ४१ हजार २६३ रुपैयाँ लागतको छहरेखोला पानीखोला खानेपानी तथा सरसफाइ योजनाबाट ८६ घरमा धारा पुगेको उनले जनाए । सुस्वा परियोजनाको ६१.१४ प्रतिशत, गाउँपालिकाको १३.६२ प्रतिशत र उपभोक्ताको २५.२३ प्रतिशत साझेदारीमा खानेपानी तथा सरसफाइका योजना सम्पन्न भएको वास इकाइले जनाएको छ ।

स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्न कम हुँदै गएका खानेपानीका स्रोतको जगेर्ना गर्दै खानेपानी तथा सरसफाइका संरचनालाई जलवायु अनुकूल तथा विपद् व्यवस्थापनमैत्री बनाउँदै लगिने गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक बुद्धकुमारी खत्रीले बताइन् । गत आर्थिक वर्षमा मात्रै जनसहभागिता सहित खानेपानी योजनाको लागि दुई करोड ७८ लाख ९९ हजार ३१७ रुपैयाँ लगानी भएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।

मानव स्वास्थ्य, वातावरण, र सामाजिक–आर्थिक विकासका दृष्टिले दिगो तथा स्वच्छ खानेपानीको महत्त्व धेरै रहेको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुप्रसाद योगीले पानी स्रोतहरूको पहिचान, संरक्षण, र उचित व्यवस्थापनमा गाउँपालिकाले विशेष ध्यान दिएको बताए । समुदायका मानिसलाई पानीको संरक्षण, उपयोग र सरसफाइबारे सचेतना जगाउने काम पनि भइरहेको भन्दै छत्रेश्वरी गाउँपालिकाले दिगो खानेपानी व्यवस्थापनमा समुदायलाई सक्रिय रूपमा सहभागिता गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्