चिया कारखाना संरक्षण गर्न माग

इलाम-नेपालको नै पहिलो ऐतिहासिक उद्योगको रुपमा रहेको इलाम चिया कारखानालाई पहिचानको रुपमा स्थापना गरी संरक्षणका लागि पहल गर्न सरोकारवालाहरुले माग गरेका छन् । चौथो उद्योग दिवस २०७६ का अवसरमा ऐतिहासिक कारखानामा आयोजित कार्यक्रमका वक्ताहरुले यसको महत्वलाई उजागर गरी संग्रहालयको रुपमा विकास गर्न सकिने भन्दै संरक्षणका लागि माग गरेका हुन् ।
इलामका तत्कालीन वडाहाकिम कर्णेल गजराजसिंह थापाले नेपालमा नै पहिलो पटक विक्रम संम्वत १९२० सालमा चिया बगान लगाएर १९३५ सालमा चिया प्रशोधन कारखानाको सुरुवात गरेको बताइएको छ । पहिलो उद्योगको स्थापनासँगै इलाममा चिया बिस्तार भएर हाल २१६ वटा चिया उद्योग घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका छन् ।
इलामका इतिहासविद् तथा समाजसेवी युद्धप्रसाद वैद्यले चिया कारखाना संरक्षण गर्न सके पर्यटन प्रवर्दन हुने भन्दै ऐतिहासिक वस्तु जगेर्नामा स्थानीय सरकार लाग्नु पर्नेमा जोड दिए ।
उद्योगलाई संरक्षण गर्न इलाम नगरपालिकाले आफ्नो मातहतमा जिम्मा दिन माग गरेको छ । नगरले उद्योग स्थापना गर्ने कर्णेल गजराजसिंह थापाको मूर्ति स्थापना पहल थालेको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । उनका अनुसार ऐतिहासिक चिया बगानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरी उद्योगलाई म्युजियम बनाउन इलाम नगरपालिकाले पहल थालेको छ । प्रदेश १ का प्रदेश सांसद रामबहादुर रानाले उद्योग स्थापनासँगै दिगोपनका लागि पनि पूर्वाधारलगायतका विषयमा स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
इलाम चिया बगान समेत सरकारी स्वामित्वमा रहेका सात चिया बगान सरकारले ५० वर्षका लागि संघाई ग्रुपलाई लिजमा दिएको छ । लिजमा दिएपछि जिल्लाका ऐतिहासिक उद्योगहरु संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । जिल्लाका स्थानीय तहहरुले संघाइसँग भएको सम्झौता रद्द गर्नसमेत माग गर्दै आएका छन् ।