Logo

काँकडभिट्टाबाट नेपाली सिमेन्ट भारत निर्यात

बिर्तामोड– काँकडभिट्टा नाकाबाट नेपाली सिमेन्ट भारततर्फ निर्यात हुन थालेको छ । नेपाली सिमेन्ट उद्योगले उत्पादन गरेका विभिन्न ब्राण्डका सिमेन्ट गत आर्थिक वर्षदेखि भारततर्फ निर्यात हुन थालेको हो । मेची भन्सार कार्यालय काँकडभिट्टा सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलले २०८०–८१ मा ३२ करोड ६६ लाख रुपैयाँबराबरको सिमेन्ट निर्यात भएको बताए ।

यसअघि पूर्वी नाका काँकडभिट्टा भएर नेपाली सिमेन्टको निर्यात शून्य भए पनि गत आवमा ४९ हजार नौ सय ५९ टन सिमेन्ट निर्यात हो । नेपाली सिमेन्ट र क्लिंकरको बजार भारत मात्रै भएको र नेपालमा उत्पादित सिमेन्टको गुणस्तर राम्रो भएका कारण माग सन्तोषजनक रहेको सिमेन्ट व्यवसायीहरुको भनाइ छ ।

कुनै बेला नेपालले भारतबाटै कच्चा पदार्थ आयात गर्नुपर्ने अवस्था रहेकोमा सिमेन्ट निर्यातले निरन्तरता पाउन सकेको थिएन् । तर अहिले नेपालमै कच्चा पदार्थ प्राप्त भएकाले निर्यात सुरु भएको गोरखकाली सिमेन्ट उद्योगका सञ्चालक दिपेश ढकालले बताए । नेपालमै कच्चा पदार्थ पाइने भएकाले सिमेन्ट निर्यात बढ्दै गएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी कँडेलले बताए ।

सरकारले सिमेन्ट निर्यात बढाउन करिब आठ प्रतिशतसम्म निर्यात अनुदान दिने व्यवस्था गरेको र पछिल्लो समय कच्चा पदार्थ पनि स्वदेशमै उत्पादन हुने हुँदा निर्यात बढ्दै गएको उनको भनाइ छ । पूर्वी नाका काँकडभिट्टा भएर करोडौंको सिमेन्ट निर्यात भए पनि झापामा उत्पादन भएको सिमेन्टले आन्तरिक बजार मात्र धानेको कञ्चनजंघा सिमेन्ट उद्योग प्रालि चार पाने झापाका सञ्चालक अजय साहेवालाले बताए ।

स्थानीय उद्योगको उत्पादन स्थानीय बजारमा खपत हुने गरेको उनको भनाइ छ । झापामा एक दर्जन बढी सिमेन्ट उद्योग भए पनि अहिले कञ्चनजंघा, मेघा, मनसा, गोरखकाली र सेञ्चुरी सिमेन्टमात्र उत्पादन हुने गरेको उनको भनाइ छ । नेपाली सिमेन्टको गुणस्तर स्थापित हुन थालेको, निर्यातमा पनि सहज वातावरण बन्दै गएको, भारतमा नेपाली ब्रान्ड स्थापित भए पनि झापामा उत्पादित सिमेन्ट विदेश पठाउन नसकेको साहेवाला बताउँछन् ।

नेपालबाट विभिन्न नाका भएर आर्थिक वर्ष २०७७–७८ मा ८३ हजार रुपैयाँबराबरको ११ टन सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ । आव २०७८–७९ मा १२ लाख ९३ हजार रुापैयाँराबरको १५ हजार १ सय ८९ टन, आव २०८०–८१ मा तीन अर्ब ८५ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागले जनाएको छ ।

पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तम, सीजी सिमेन्ट भारतमा निर्यात हुन थालेको सिमेन्ट उत्पादक संघले जनाएको छ । नेपालमा ६० भन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा भएकोमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन रहेको सिमेन्ट उत्पादक संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्