पोखरामा वाटर स्पोटर्स र क्रुजको सम्भावना
पोखरा– पोखरामा वाटर स्पोटर्स र क्रुजको सम्भावना रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले बताएका छन् । पोखरा पर्यटन परिषदको बुधबार पोखरामा सम्पन्न २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनको उद्घाटनमा मन्त्री थापाले सो कुरा बताएका हुन् ।
पोखरा तालै तालको सहर भएकोले वाटर स्पोटर्स र मिनी क्रुजको प्रबल सम्भावना रहेकोमा मन्त्री थापाले जोड दिए । पोखरामा फेवाताल, बेगनास, रुपासहितका ९ ताल रहेको यस क्षेत्रमा वाटर स्पोटर्सको धेरै सम्भावना रहेकोले पर्यटनको राजधानी पोखरामा अब नयाँ उत्पादन वाटर स्पोटर्स हुन सक्ने उनले दाबी गरे । पोखरामा पर्यटनको बसाइ अवधि लम्बाउन वाटर स्पोटर्स सम्बन्धी गतिविधि गर्नुपर्ने उनको भनाइ थियो ।
छिमेकी राष्ट्र भारतबाट पोखरामा धेरै पर्यटक आउने हुँदा सहुलियत दरमा गुणस्तरिय सेवासहितका प्याकेज दिन पर्यटन व्यवसायीलाई मन्त्री थापाले सुझाव दिए । उक्त अवसरमा पोखराका अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान गरिएको महासचिव संजयकान्त सिग्देलले बताए । होटल वाराही, वाराही जंगल लजलगायतका विभिन्न पर्यटन क्षेत्रमा करिब ३ अर्बभन्दा बढी लगानी गरी पौडेल परिवारले ६ सयभन्दा बढीलाई रोजगार दिएको परिषदले जनाएको छ ।
परिषद अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङ, गायक विवेक श्रेष्ठ, भारतीय पेन्सन क्याम्पका प्रशान्त सिंह, परिषदका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले पोखराको पर्यटन प्रवर्द्धनमा नयाँ पर्यटन पर्यटकीय गन्तव्यको खोजी र प्रवर्द्धन गर्न जोड दिए । यसैबीच, पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन भएका छन् ।
परिषदको २४ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष पहारी आगामी दुई वर्षीय कार्यकालको लागि चयन भएका हुन् । परिषदमा ६ जना सदस्य चयन भएकोे निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । परिषदको सदस्यमा हरि भुजेल, चौबहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन सापकोटा र नारायण सुवेदी चयन भएका छन् । अन्य पदाधिकारीसहित थप ३ जना सदस्य अध्यक्षले मनोनयन गर्न बाँकी रहेको छ ।