महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण
दशरथ रंगशालालाई उत्कृष्ट बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरुका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने बताए ।
भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरु स्वयंले पनि बताइसकेको भन्दै सरकारले आवश्यक ध्यान दिइ काम गरिरहेको उल्लेख गरे । उनले हरेक प्रदेश र जिल्ला-जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीहरुलाई अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको बताए ।
प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको बताए । केही समयअघि भूटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिए । उनले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी रंगशाला निर्माण गर्न आग्रह गरे ।
उनले दर्शकलाई देखाउने गरीको खेल खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै मैदान चुस्त, दुरुस्त बनाउन आग्रह गरे । प्रधानमन्त्री ओलीले मैदानको दुरुपयोग नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले १० औं राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त दुरुस्त बनाउन सक्नुपर्ने बताए । उनले बिहीबारबाटै मैदान उत्कृष्ट बनाउन सुरु गर्न निर्देशन दिए ।
यसैगरी, सोही कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिने बताए । उनले विश्वका अन्य देशहरुले खेल क्षेत्रलाई उच्च महत्त्व दिँदा नेपालले भने अझै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको बताए । उनले खेलाडीहरुलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिष्पर्धा बढाउन राज्यले नीतिगत र व्यवहारिक रुपमा सहजता प्रदान गर्नुपर्ने बताए ।
उनले खेलाडी र निजका सन्ततिको लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन प्रयास जारी रहेको पनि बताए । मन्त्री चौधरीले खेलाडी र उनीहरुका परिवारलाई स्वास्थ्य, शिक्षा, रोजगार र अन्य सुविधाहरु कसरी उपलब्ध गराउने भन्ने सन्दर्भमा छिटै नै कार्यक्रम घोषणा गर्ने प्रतिवद्धता जनाए ।

साथै, प्रधानमन्त्रीले ‘काभा वुमन्स भलिबल नेसन्स लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गरेका छन् । टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई, दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशीको पुरस्कार प्रदान गरेका हुन् ।
गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कुल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकासका लागि प्रधानमन्त्री निवासमा छलफल गरेका थिए ।