एनआईसी एशिया क्यापिटलको ५२.५३ प्रतिशत नगद लाभांश पारित

काठमाडौं– एनआईसी एशिया क्यापिटलले ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बुधबार सम्पन्न कम्पनीको १८औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको ५२.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण पारित गरेको छ ।
सभामा सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार राठीले २० करोड चुक्ता पुँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड भन्दा बढी आम्दानी गरी १२ करोड १६ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए ।
त्यसैगरी व्यवसायतर्फ असार मसान्तसम्म सात लाख ३९ हजार ८६८ डिम्याट खाता खोल्न सफल भएको कम्पनीले म्युचुअल फण्ड सेवा अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मक ६ वटा योजनामार्फत पाँच अर्ब ५२ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको बताइएको छ ।
कम्पनीले लगानी व्यवस्थापन सेवा अन्तर्गत ७०४ जना ग्राहकबाट दुई अर्ब ११ करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको साधारणसभामा जानकारी दिइयो । सेयर रजिष्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आइडिया टु आईपीओ सेवा अन्तर्गत १७ कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको कम्पनीको भनाइ छ ।