Logo

३३ करोड लागतमा लमहीमा सभाहल निर्माण हुँदै

दाङ– लमहीमा ३३ करोड बढी लगानीमा सभाहल निर्माण थालिएको छ । सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन लागेको सभाहलको स्ट्रक्चर निर्माणको काम सकिएको छ ।

एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत करिब ३३ करोड २१ लाख रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्न थालिएको हो । लमहीमा सभाहल, धार्मिक एवम् पर्यटकीय क्षेत्र रिहारमा पूर्वाधार निर्माण, जखेरा ताल सुधार र दामोदर सडक एवम् नाला निर्माणको काम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजनाका दाङका प्रमुख खड्ग चौधरीले जानकारी दिए ।

आयोजना प्रमुख चौधरीका अनुसार सभाहलको स्ट्रक्चर निर्माणको काम सकेर अहिले फिनिसिङको काम भइरहेको छ । त्यसपछि टपमा ट्रस्ट राख्ने, सभाहलमा सिट राख्ने, रङरोगन, वायरिङ, साउन्ड सिस्टमलगायत सभाहल परिसरमा ब्लक बिछ्याउने लगायतका काम गर्न बाँकी रहेको छ । करिब चार सय जना अट्ने क्षमतासँगै छुट्टाछुट्टै बैठक बस्न मिल्ने हलसमेत निर्माण भइरहेको उनले बताए ।

लमहीमा सभाहल नहुँदा बाहिर टेन्ट राखेर ठूला कार्यक्रम गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा लमहीमा बनिरहेको सभाहलले ठूलो सहयोग पुग्ने बताइएको छ । सभाहल निर्माणले आर्थिक विकाससँगै लमही क्षेत्रको चहलपहल बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । सभाहलसहित रिहारमा पूर्वाधार निर्माण, जखेरा ताल सुधार र दामोदर सडक एवम् नाला निर्माणका लागि २०७९ फागुन ११ मा शिवशक्ति कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग सम्झौता भएर काम सुरु भएको थियो ।

सम्झौताअनुसार २०८० असार मसान्तभित्र एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत लमहीमा सभाहल, जखेरा ताल सुधार, रिहारमा पूर्वाधार निर्माण तथा सडक एवम् नाला निर्माणको काम सकिनु पर्ने भए पनि फरक–फरक प्रकृतिका चार ठाउँमा काम गर्नुपर्ने भएकाले काममा ढिलाइ भएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना दाङका इन्जिनियर मिलन अर्याल बताउँछन् ।

इन्जिनियर अर्यालका अनुसार सभाहल र पर्यटकीय क्षेत्रमा पिक्निक स्पोर्ट निर्माण, शौचालय तथा सूचना केन्द्रका लागि भवन निर्माणको काम करिब ८० प्रतिशत सकिए पनि दामोदर मार्ग निर्माणको काममा प्रगति हुन सकेको छैन । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि करिब १० महिना म्याद थपका लागि केन्द्रमा फाइल पठाइएको उनले बताए ।

‘अबको करिब १० महिनामा सम्पूर्ण काम सक्ने गरी फाइल म्याद थपका लागि केन्द्रमा पठाएका छौँ,’ इन्जिनियर अर्यालले भने, ‘यो अवधिमा एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत लमही नगरपालिकाका चार ठाउँमा भइरहेका फरक–फरक प्रकृतिका सबै काम निर्माण सम्पन्न हुनेछन् ।’ समग्रमा एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत ५० देखि ६० प्रतिशत देखिए पनि सभाहल निर्माणको काम करिब ८० प्रतिशतभन्दा बढी भइसकेको इन्जिनियर अर्यालले बताए ।

सभाहलको फिनिसिङको काम भइरहे पनि वर्षाको समय भएकाले पर्यटकीय क्षेत्र तथा सडक क्षेत्रमा निर्माणको काम हुन नसकेको तर वर्षात् काम भएपछि सबै ठाउँमा काम अघि बढ्ने उनले बताए । पर्यटकीय क्षेत्रअन्तर्गत जखेरा तालमा तीनवटा पिक्निक स्पट, सूचना बोर्ड, अपाङ्गमैत्री सुविधासहित शौचालय र तालको वरपर पक्की वाल लगाउने काम भइरहेको बताए ।

यसले जखेरा तालको सौदर्यकरणमा सहयोग गर्ने विश्वास गरिएको छ । त्यहीअनुसार रिहारमा पनि पिक्निक स्पट, शौचालय, पार्किङस्थल लगायतका पूर्वाधार निर्माणको काम भइरहेको इन्जिनियर अर्यालले बताए । उनका अनुसार लमहीमा रहेको दामोदर मार्ग करिब २७ मिटर सडक विस्तारसँगै नाला निर्माण गरी कालोपत्रे गरिने छ । यसको वित्तीय प्रगति ३६ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्