Logo

लमजुङ कार्यक्षेत्र भएका १० वटा एम्बुलेन्स सम्पर्कविहीन

लमजुङ– लमजुङ कार्यक्षेत्र बनाएर सञ्चालनमा आएका १० वटा एम्बुलेन्स लामो समयदेखि सम्पर्कविहीन भएका छन् । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति लमजुङबाट विभिन्न समयमा सञ्चालन अनुमति लिएका १० वटा एम्बुलेन्स सम्पर्कविहीन भएपछि खोजी हुन थालेको हो ।

लमजुङका विभिन्न स्थानीय तहमा सेवा प्रवाह गर्नेगरी समितिबाट सिफारिस भई भन्सार छुटसमेत लिएका एम्बुलेन्स लामो समयदेखि सम्पर्कमा नभएपछि नागरिकबाटै उजुरी परेको छ । नागरिकले आवश्यक परेको बेला पटक–पटक एम्बुलेन्स नपाएपछि सम्बन्धित निकायमा उजुरी परेको हो । प्रशासनमा परेको उजुरी अनुसार जिल्लामा सञ्चालन अनुमति लिई केही समय सेवा दिएका एम्बुलेन्स हाल समितिसँग सम्पर्क नगरी जिल्ला बाहिरमात्रै सञ्चालनमा रहेका छन् ।

सम्पर्कविहीन भएर जिल्ला बाहिरमात्रै सञ्चालन हुँदै आएका एम्बुलेन्सलाई कारबाही गर्ने तयारी भएको छ । स्वास्थ्य कार्यालय लमजुङले एक सार्वजनिक सूचना जारी गर्दै जिल्ला समितिसँग सम्पर्कविहीन बनेका १० वटै एम्बुलेन्सलाई कारबाही गर्ने चेतावनी दिएको हो । स्वास्थ्य कार्यालयले जारी गरेको सूचनाअनुसार जिल्लामा सम्पर्कविहीन भएर बाहिरी जिल्लामा मात्रै सञ्चालन हुने एम्वुलेन्स बेसीसहरका चार, राईनासका र सुन्दरबजारका तीन/तीन वटा रहेका छन् ।

स्वास्थ्य कार्यालयले सम्पर्कविहीन एम्बुलेन्सलाई जिल्लाभित्र सेवा सञ्चालन नगर्नुको लिखित कारणसहित २० भदौभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । यसअघि पनि सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिए पनि हालसम्म कुनै पनि एम्बुलेन्स सम्पर्कमा नआएकोले अन्तिम मौका दिइएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रवीणकुमार खनालले बताए ।

पछिल्लो पटक निर्धारण गरिएको मितिसम्ममा पनि सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने कार्यालय प्रमुख खनालको भनाइ छ । ‘जिल्लाभित्र सेवा प्रवाह गर्ने अनुमति लिएपछि जिल्लाको समितिमा सम्पर्कमा रही जिल्लाबासीलाई नै सेवा दिनुपर्छ,’ खनालले भने ‘निर्धारित क्षेत्रमै रहेर सेवा प्रवाह गर्नुपर्नेमा त्यस्तो नहुँदा सेवा खारेजीको लागि सिफारिस गरिन्छ ।’

कतिपय एम्बुलेन्स सम्बन्धित निकायले सञ्चालन गर्न नसकेर अर्को निकायलाई दानको रूपमा समेत दिइएको उजुरी परेको छ । ‘कुनै एउटा संस्थाले निर्धारित कार्यक्षेत्र बनाएर विशेष छुटमा खरिद गरेको एम्बुलेन्स आफूखुसी अन्यत्र दान दिन वा बिक्री वितरण गर्न पाइँदैन,’ खनालले भने । सोबाहेक कतिपय एम्बुलेन्स भने अनुमति लिएको क्षेत्रमा अपेक्षित सञ्चालन हुन नसकेपछि व्यावसायिक रूपमा बाहिरी जिल्लामा मात्रै सञ्चालन हुँदै आएको उजुरी परेको छ ।

विभिन्न समयमा लमजुङ कार्यक्षेत्र बनाएर विशेष छुटसहित एम्बुलेन्स ल्याइएको र हाल आफू अनुकूल क्षेत्रमा मात्रै एम्बुलेन्स सञ्चालन गर्दा न्यायोचित नहुने स्वास्थ्य कार्यालयले जनाएको छ । निर्धारित समयमा सम्पर्कमा नआउने एम्बुलेन्सको सञ्चालन अनुमति खारेजीका लागि माथिल्लो निकायमा सिफारिस हुने र सेवा बन्द गरिने कार्यालयको चेतावनी छ ।

जिल्लामा सञ्चालन अनुमति लिएका तर हाल आफू अनुकूल जिल्ला बाहिरमात्रै सञ्चालन हुने मध्ये बेसीसहरबाट दिलकुमारी सेढाईं स्मृतिमा सञ्चालित एम्बुलेन्स, बेसीसहरकै सुकमाया आले स्मृतिमा सञ्चालित एम्बुलेन्स, स्व. सम्शेरबहादुर स्मृतिमा सञ्चालित एम्बुलेन्स र भीमबहादुर पन्त स्मृतिमा सञ्चालित एम्बुलेन्स रहेका छन् ।

त्यसैगरी राईनासमा नेपाल रेडक्रस सोसाइटी धमिलीकुवाद्वारा सञ्चालित एम्बुलेन्स, राईनास बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित एम्बुलेन्स र गोपिनी दुर्गाकुमारी कडरीया एम्बुलेन्स रहेका छन् । सुन्दरबजारमा सञ्चालन अनुमति पाएर जिल्लाबाहिर सञ्चालन हुने एम्बुलेन्समा टुकुना बसेल स्मृति एम्बुलेन्स, पुतली क्षेत्री स्मृति एम्बुलेन्स र इन्द्रबहादुर स्मृतिमा सञ्चालित एम्बुलेन्स रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल ३३ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । तर सोमध्ये १० वटा एम्बुलेन्स जिल्ला बाहिरमात्रै सञ्चालन हुँदै आएपछि जिल्लामा आवश्यक पर्दा एम्बुलेन्स नपाएको गुनासो आउने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्