अमेरिका छिर्न खोज्ने १७६ ब्राजिलमा रोकिए

काठमाडौं– अमेरिकाको सपना देखेर अवैध रुपमा ‘तल्लो बाटो’ भनिने मुलुक हुँदै ब्राजिलमा पुगेका एक सय ७६ जना नेपाली त्यहीँ रोकिएका छन् ।
ब्रजिलियास्थित नेपाली दूतावासले यी सबै नेपाली ट्रान्जिटमा रोकिएको बताउँदै उनीहरु सुरक्षित रहेको जनाएको छ । दूतावासले आवश्यकता परे मानवीय सहायता पु¥याउन आफ्नो कार्यालय तयारी अवस्थामा रहेको उल्लेख गरेको छ ।
ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिटमा नेपालीसहित करिब ७ सय विदेशी यात्रु रोकिएको भन्ने समाचारप्रति दूतावासको ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । दूतावासले संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरु ब्राजिललगायतमा आउने प्रवृत्ति बढ्दो रहेको पनि जनाएको छ ।
‘संगठित रुपमा सञ्चालित मानव तस्करहरुको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कैयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ,’ मंगलबार दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अवैध रुपमा यसरी जानेमध्ये कतिपयको बाटोमै निधन हुने गरेका उदाहरण पनि छन् । यस्तै अमेरिकाको सुरक्षा निकायले पक्राउ गरी सम्बन्धित मुलुकमा फर्काएका घटना पनि छन् । यस्तो यथार्थ भए पनि संसारका धेरै मुलुकका नागरिक अवैध बाटो अमेरिका छिर्न छोडेका छैनन् ।
दूतावासले ब्राजिल ट्रान्जिट हुँदै तेस्रो मुलुक जान चाहने नेपाली यात्रीका लागि नयाँ नियम आएको पनि जानकारी दिएको छ । ‘ब्राजिल सरकारले तत्काल लागु हुने गरी नेपाललगायत केही देशका राहदानी वाहकलाई प्रवेशाज्ञा लिएको भएमात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगए सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।’
दूतावासले मानव तस्करहरुको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएर त्यसअनुसारका पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा ननिस्कन सबैलाई अनुरोध गरेको छ ।