सागलाई ४५ वटा होटल बुकिङ «

सागलाई ४५ वटा होटल बुकिङ

पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरा ६ लेकसाइडमा हुने बिच भलिबल प्रतियोगितालाई सफल पार्न लेकसाइडवासी एक जुट भएका छन् । नेपाल र पोखराको इज्जत र प्रतिष्ठासँग जोडिएको सागअन्तर्गत बिच भलिबल लेकलाइडमा हुने भएकाले आफ्नो ठाउँमा हुने सागलाई सफल पार्नुपर्छ भन्दै स्थानिय आमा समूह तथा स्थानिय एकजुट भएका हुन् ।
पोखरा महानगरपालिका कार्यालय–६ को वडा कार्यालयमा भएको बुधबारको एक छलफलमा उनीहरु सबै मिलेर लेकसाइड क्षेत्रमा रंग रोगन, झिलिमिलि, झकिझकाउ, सहितको सजिसजावट एवं स्वागत गर्न स्थानीयवासी तयार रहेको वडा ६ का अध्यक्ष जगत पहारीले बताए । अध्यक्ष पहारीले लेकसाइडमा खेलाडी तथा अतिथि स्वागतका लागि वडामा रहेको आमा सम्ूह, क्लब तथा संघ–संस्थाहरुलाई आवश्यक समन्वय गरी प्रतियोगिता सफल बनाउने बताए । लेकसाइडलाई सागमय बनाउनका लागि मंसिर १३ गते बृहत् सरसफाइ कार्यक्रम समेत आयोजना गरी पूर्ण सफा गर्नका लागि कामदारसमेत वडाको तर्फबाट खटाउने प्रतिबद्धता व्यक्त गरे ।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले बिच भलिबल सम्पन्न पार्न लेकसाइडवासी प्रतिबद्ध रहेका बताए । लेकसाइड सजाउनका लागि आफूले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । उनले रत्नमन्दिर र हिमागृहलाई आम सर्वसाधारण जनताका लागि सार्वजनिक गर्नुपर्ने माग गरे ।
पोखरामा हुने बिच भलिबलका लागि पर्यटकीय क्षेत्र लेकसाइडलाई सागमय बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश गुरुङले आग्रह गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरा ६ लेकसाइडमा बिच भलिबल प्रतियोगिता हुँदैछ । पोखरा ६ लेकसाइडमा हुने बिच भलिबलको तयारीको क्रममा वडा ६ तथा स्थानीयसँग राखिएको छलफल कार्यक्रममा बोल्दै राखेप सदस्य गुरुङले उक्त कुरा बताएका हुन् । बिच भलिबल नेपालका लागि नौलो खेल भएकाले खेलाडीले लगाउने ड्रेससमेत अन्य खेलमा भन्दा फरक हुने हुँदा त्यसलाई अन्यथा नलिन पनि गुरुङले आग्रह गरे । पोखरा पर्यटकीय सहर भएकै कारण समेत फेवाताल किनारमा उक्त प्रतियोगिता गर्न लागेको उनले बताए । बिच भलिबल सम्पन्न गर्नका लागि अंग्रेजी वर्षमा भन्दा पनि भव्य रूपमा लेकसाइडलाई सजाउनु पर्ने उनको धारणा छ ।
“यो राष्ट्रिय गौरवको मात्र कुरा होइन, गण्डकी प्रदेश र फेवातालको समेत गौरवको विषयको कुरा हो । यो सफल बनाउनु अब लेकसाइडवासीको जिम्मेवारी हो,” सदस्य गुरुङले भने । पोखरा रंगशाला निमार्णका लागि सरकारले १ अर्ब २८ करोड रकम विनियोजन भएसँगै बिच भलिबलका लागि ५० लाख रुपैयाँ लेकसाइडमा छुट्टिएको उनले सुनाए । लेकसाइडलाई सके सहिदचोकदेखि जरेबरसम्म नसके बैदामदेखि हल्लनचोकसम्म राष्ट्रिय झण्डा राखी झकिझकाउ बनाउन लेकसाइडवासी तथा व्यवसायीलाई उनले आग्रह गरे ।
लेकसाईडमा पर्यटकको बसार्इं लम्बाउने योजना समेत रहेको कारणले नै प्रतियोगिता गर्न लागिएको उनले बताए । त्यस्तै, मंसिर १६ गते पोखरामा उद्घाटन समारोहमा समेत आफ्नो सांस्कृतिक भेषभूषासहित सहभागी हुन आग्रह गर्दै खेलाडीको स्वागतका लागि राष्ट्रिय झण्डासहित स्वागतद्वार निमार्ण गरे खेलाडीको मनोबल बढ्नुको साथै आफ्नो राष्ट्र प्रतिगौरवसमेत बढ्ने उनले बताए ।
पोखरा लेकसाइडमा मंसिर १९ गतेदेखि २२ गतेसम्म हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । बिच भलिबलका लागि पूर्वाधार तयार भइसकेको छ । नेपाली खेलाडीहरु हाल पोखरामा बन्द प्रशिक्षणमा रहेका छन् । विदेशबाट केही दिनमा खेलाडीहरु आउने भएको अध्यक्ष पराजुलीले बताए । आगामी दुई दिनमा तीनवटा भलिबल कोर्ट निर्माण हुने उनले जनाए । खेलाडीहरुले हाल पहिला नै निर्माण भएको भलिवल कोर्टमा प्रशिक्षण गरेका हुन् ।
यसैबीच, साग लक्षित पोखरामा पर्यटक स्तरीय ४५ वटा होटल बुकिङ भएको १३ औं साग पोखरा आवास व्यवस्थापन समितिका संयोजक सूर्यबहादुर भुजेलले बताए । उनका अनुसार केही दिनमा थप १० देखि १५ वटा होटल पुनः थपिने भएका छन् । साग लक्षित खेलाडी, अपिसिय सहित गर्दा करिब एक हजार जनाभन्दा बढीलाई आवासीय सहितको व्यवस्था मिलाएको संयोजक भुजेलले बताए । उनले भने, “हाम्रो आफ्नो ठाउँमा हुने यो ठूलो खेलकुदको इभेन्टलाई सबै मिलेर सफल पारौं, खेल पर्यटन प्रबद्र्धन गर्न यसले सहयोग पुग्छ, सागमा सहभागि खेलाडी एवं अपिसियललाई हामीले पहिलो प्राथमिकता दिएर उनीहरुलाई चुस्त दुरुस्त सेवा दिन आव्हान गर्न चाहन्छु । ”
सागमा सहभागी खेलाडीसहितका अफिसियललाई पोखराका पर्यटकीय गन्तव्यहरुमा निःशुल्क रूपमा घुमघामको समेत व्यवस्था मिलाउने उनले जनाए । उनका अनुसार पोखराका धेरै ठाउँमा सागमा सहभागीहरुलाई खेलसँगै थप मनोरन्जन दिलाउन विभिन्न ठाउँमा झाँकी सहितको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने उनले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्