सेयर बजारमा करेक्सनको सम्भावना
सेयर बजारले कसरी झुक्याउँछ भन्ने अनुभव अहिले धेरै जनाले भोगिरहेका छन् । नेप्से परिसूचक १८०० देखि २२०० बिन्दुमा तीन वर्ष खेल्यो । गत २०८१ असार १७ गतेबाट बजारले उकालो बाटो लियो । धेरै जनाले चाहँदाचाहँदै पनि सेयर किन्न छुट्यो ।
नेप्से परिसूचक २००० बिन्दुबाट ठाडो उकालो लाग्यो । किन्ने व्यक्तिले सेयर किनिहाले । यत्रो बढिसक्यो, भोलि घटेको बेला किनौंला भनेर हेर्दाहेर्दै झन् बढ्दै गयो । नेप्से परिसूचक २६०० पुगेपछि बजारमा करेक्सन अर्थात् मूल्य घट्छ भन्ने आम विश्लेषणहरू सार्वजनिक भए ।
२००० बिन्दुमा त झर्दैन, तर २३०० सम्म झर्छ भन्ने प्राविधिक विश्लेषकहरूका भनाइ आए । यत्रो नाफा गरिसकेकाले नाफा बुक गर्न बेच्छन् । उनीहरूले पुनः बजार छिर्न मूल्य घटाइहाल्छन् । यसपटकको बुलमा कतिपय ठूला लगानीकर्ता नै छुटेका छन् । त्यसैले उनीहरू प्रवेश गर्नका लागि भए पनि बजार घटाउँछन् । यस्ता अनुमानहरू आए ।
बजारमा सेयरको मूल्य घट्छ भन्नेमा विश्वास भएपछि २६०० बिन्दुको रेन्जमा पनि एउटा वर्ग समूहले सेयर किनेन । यता करेक्सन हुन्छ भन्दाभन्दै नेप्से परिसूचक साउन २१ मा २७९६ बिन्दुमा पुग्यो । साउन २२ गते एकै दिन १४५ अंकले बजार सूचक घट्यो । यो ५.१८ प्रतिशतको गिरावट थियो । नेपालमा धेरै वर्षदेखि यति ठूलो गिरावट आएको थिएन ।
आम मनोविज्ञान बजारमा करेक्सन आउँछ भन्नेमै थियो । २२ गतेको करेक्सनलाई सर्वसाधारणले साँच्चै करेक्सन सुरु भयो, आज बेचिएन भने भोलि अझ ५ प्रतिशत तल बेच्नुपर्छ भन्ने आकलन गरे । अझ तल किन्न पाइन्छ भन्ने अनुमानले त्यो दिन धेरै सर्वसाधारणले कित्ता बेचे । २३ अर्ब रुपैयाँको कारोबार भयो । अन्य दिनको तुलनामा यो रकम बढी थियो ।
त्यो दिन बेच्न नभ्याएकाले भोलिपल्ट २३ गते बिहान हिजोकै मूल्यमा वा अझ घटाएर बेचे । तर, आम सर्वसाधारणको सोचाइविपरीत भोलिपल्ट बजारले युटर्न लियो । पुनः १०८ अंकले बजार सूचक बढ्यो । हिजो बेच्नेलाई पछुतो पर्यो । कतिपयले आज बढे पनि करेक्सन त आउँछ भन्दै चित्त बुझाए ।
कतिपय प्राविधिक विश्लेषकहरूले करेक्सनको टाइम आयो, नयाँ लगानी नगर्नुस्, तल्लो बिन्दुमा किन्न पैसा जोहो गरेर बस्नुस् भन्दै शिक्षा दिइरहे । यता बजारले पनि घट्छ कि घट्छ जस्तो गरी जिकज्याक चार्ट बनाउन थाल्यो । कारोबार भइरहँदा बजार रातै हुने, सर्वसाधारण साना लगानीकर्ताहरूले अब घट्न लाग्यो भनेर बेच्ने, एकछिनमा बजार फेरि माथि जाने क्रम चलिरह्यो ।
पहिलेजस्तो एकोहोरो उकालो लाग्न छोड्यो । पहिले एकोहोरो उकालो लाग्दा यस्तो महँगोमा के किन्ने, अलिकति घटेपछि किनौंला भनेर सोच्ने लगानीकर्ताहरू पछिल्लो बजारमा तलमाथि–तलमाथि गरिरहेको छ, घट्लाजस्तो छ के किन्ने भनेर अलमलिए ।
कहिले घट्ला जस्तो देखिने तर समग्रमा माथि जाने हुँदै नेप्से परिसूचक साउन ३१ मा दिउँसो ३०४७ अंकसम्म पुगेर ३००० अंकमा क्लोज भयो । भोलिपल्ट १.१४ प्रतिशतले बजार घटेपछि करेक्सन आउँछ भन्नेको स्वर अझ चर्को भयो । अझ धेरै सर्वसाधारणको मनोविज्ञान नकारात्मक बन्यो । त्यसपछि त कारोबारले झन् झुक्याउने गरी तलमाथि खेलिरहेको छ ।
अहिले पनि आम मनोविज्ञान बजारमा करेक्सन आउँछ भन्ने छ । खेलाडीहरूले १ सय प्रतिशतसम्म मुनाफा गरिसकेका छन् । अब उनीहरूले मुनाफा बुक गरेर बजार तल झार्छन् भन्ने एउटा विश्लेषण छ । विश्राम लिँदै उक्लेको बजार भए दिगो हुन्थ्यो । फटाफट उक्लेको भएर बजार गलिसक्यो, अब नझरी सुखै छैन भन्ने अर्को विश्लेषण छ ।
करेक्सन आउँछ भन्नेहरूले २८००, २६०० र २३०० सम्मकै अनुमान गरिरहेका छन् । २३०० मा पुनः किन्न पाइने हो भने अहिले बेचेर बस्दा निकै फाइदा हुन्छ । तथापि साउन २२ गतेको घटना सम्झेर बेच्नु हुँदैन, बेचेलगत्तै माथि उक्लियो भने रेल छुट्छ भन्ने डर पनि धेरैको मनमा छ ।
बैंकमा ब्याजदर घटिरहेको छ, सरकार सेयर बजारप्रति सकारात्मक छ, सेयर बजारलाई प्रतिकूल असर पर्ने गरी कुनै नीतिगत परिवर्तन भएको छैन, धेरै कम्पनीमा पहिलेको बुल बराबर मूल्य अझै आएको छैन । अझ लोन लिएर सेयर किन्ने थपिँदै छन् । त्यसैले बजार तल फर्कंदैन भन्ने अर्कोथरी विश्लेषण छ । थोरै करेक्सन भए पनि बजार माथि नै जाने हो, त्यसैले चुप लागेर बस्नुपर्छ भन्ने उनीहरूको मान्यता छ ।
वास्तविकता के हो ?
सेयर बजारमा मूल्य बढेपछि घट्छ र घटेपछि बढ्छ भन्ने मात्र सत्य हो । कतिसम्म बढ्छ वा घट्छ र कहिलेसम्म बढ्छ र घट्छ भन्ने थाहा नहुने कुरा हो । यतिभन्दा बढी घट्दैन भनेर चाहिँ अनुमान गर्न सकिन्छ । कम्पनीहरूको डिभिडेन्टले थेग्ने मूल्यभन्दा तल जाँदैन भनेर अनुमान गर्न सकिन्छ । तर, माथि जति पनि जान सक्छ ।
आम मनोविज्ञान बियरिस भए पनि बजार तल नजान सक्छ । किनकि १ लाख रिटेलर लगानीकर्ताको कारोबार क्षमताभन्दा १ सय जना बिग इन्भेस्टर वा खेलाडीको कारोबार क्षमता बढी हुन्छ । उनीहरूले के गर्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । स्मार्ट मनी अर्थात् बिग मनी प्रायः मुख्य भूमिकामा हुन्छ तर कहिलेकाहीं रिटेलरको मनोविज्ञान पनि मुख्य हुन सक्छ ।
बजार करेक्सन हुन्छ कि हुँदैन भन्ने कुरा अनुमान गर्न सकिँदैन । अहिलेको वस्तु परिस्थितिमा बिग मनीले के गर्दा बढी लाभ लिन सक्छ होला भनेर अनुमान गर्नुपर्ने हुन्छ । मार्केट तल झारेर सस्तोमा किन्न पाए त खेलाडीलाई नाफै हुन्छ तर यो काम पनि जोखिमपूर्ण छ । बिग मनीको कुनै संगठन त हुँदैन । धेरै खेलाडीबीच आफैंमा पनि प्रतिस्पर्धा हुन्छ । एउटा खेलाडीले बजार घटाउन सप्लाइ दिने र कित्ता खाली गर्ने तर अर्को खेलाडीले कित्ता खाइदिएर बजार माथि लगिदियो भने त्यो खेलाडी फस्छ ।
बिग मनीले रिटेलरलाई तर्साएर, डर देखाएर सेयर बेच्न प्रेरित गर्ने, तैपनि नबेच्ने रिलेटरको कित्ता सेक (रुख हल्लाएर फल झारेजस्तो) गरेर झार्ने प्रयत्न गर्छन् । सेक गर्ने भनेको इन्ट्रा डेमै मूल्य तलमाथि पारेर तत्काल मनोवैज्ञानिक डर सिर्जना गर्ने हो । बजारमा टाठाबाठा लगानीकर्ता धेरै भए भने खेलाडीलाई चाहेअनुसार गर्न अझ कठिन पर्छ ।
सेयर बजारमा पैसा कमाउने भनेको मूल्य तलमाथि भएर नै हो । एउटाले गुमाउने र अर्कोले कमाउने हो । बजार घट्छ भन्ने डरले बेच्ने र बढ्छ भन्ने लोभले किन्ने वा होल्ड गर्ने व्यक्तिले गुमाउँछ । निडर भएर बस्नेले पनि कमाउँदैन । बसिरहँदा सेयरको मूल्य घटेर कहाँ तल पुगिसकेको हुन्छ । लोभै नगर्ने हो भने झन् कमाउने कुरै भएन । डर र लोभको सन्तुलन कायम गर्न सक्नेले कमाउने र नसक्नेले गुमाउने हो ।
सेयर बजारमा कसैले नीतिगत प्रभाव पारेर कमाउँछन्, कसैले इन्साइडर गरेर कमाउँछन्, कसैले ठूलो रकम समातेर माग र आपूर्ति प्रभावित पारेर कमाउँछन्, कसैले मिडियालाई प्रयोग गरेर न्वाइजहरू क्रियट गरेर कमाउँछन्, कसैले आफ्नै व्यक्तित्व प्रयोग गरेर न्वाइज क्रियट गरेर कमाउँछन् । उनीहरूबीच समेत प्रतिस्पर्धा हुन्छ । यस्तो बजारमा प्रवेश गरेर कमाउन सर्वसाधारणलाई चुनौतीपूर्ण हुन्छ ।
नेपालको इतिहास हेर्दा अघिल्लो बुलको नेप्से परिसूचक पछिल्लो बुलको बटम हुने गरेको छ । २०६५ भदौ ८ मा नेप्सेको बुल टप ११६५ बिन्दु थियो । त्यसपछि घटेर २७० बिन्दुसम्म झर्यो । २०७३ साल साउन १२ गते सेयर बजारले १८८१ बिन्दुको टप लगायो । त्यसपछि बजार घट्दै ११४४ बिन्दुको बटम लाग्यो । पुनः बढेर बजार २०७८ साल भदौ २ गते ३१९८.६ बिन्दुमा टप लाग्यो । त्यसपछि घटेको बजार १८४६ मा बटम लाग्यो । अहिले बढ्दै ३००० बिन्दुको आसपास रहेको छ । इतिहास हेर्दा यो बढेर ५५०० पुग्नुपर्छ ।
५५०० बिन्दु पुगिहाल्छ, बीचमा तलमाथि भएर के भयो र भनेर ढुक्कले बस्दैमा कमाइन्छ भन्ने छैन । बजार सूचक ३००० बिन्दुबाट माथि नजान पनि सक्छ । ४००० बिन्दु पुगेर फर्कन पनि सक्छ । सेयर बजारमा इतिहास एकपटक दोहोरियो, दुई पटक दोहोरियो भन्दैमा सधैं दोहोरिन्छ भन्ने हुँदैन । बजारमा कहिले र कतिसम्म करेक्सन आउँछ भन्ने सही अनुमान गर्न नसकिने हुँदा त्यसैअनुसार आफ्नो रणनीति बनाउनु बुद्धिमानी हुनेछ ।