Logo

विकासशील राष्ट्रमा स्तरोन्नति हुनुअघि मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा सांसदको जोड

काठमाडौं- अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनुअघि मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा भएको नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धमा भएको छलफलमा बोल्दै अधिकांश सांसदहरुले अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनु राम्रो भएपनि त्यो भन्दा राज्यले पूरा गर्नुपर्ने दायित्वहरु पूरा गर्न आवश्यक रहेको बताए ।

सांसदहरुले अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा उद्योग क्षेत्रमा पर्ने असर र चुनौतीका विषयमा गहिरो अध्ययन अनुसन्धान गरी रणनीतिक योजना बनाउन जरुरी रहेको बताए । उनीहरुले उद्योग क्षेत्र नै मुलुक आत्मभिर्नरको आधारशिला भएको भन्दै उद्योगमा लगानीवृद्धिमा जोड दिनुपर्ने उल्लेख गरे ।

समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल र भारतबीचको नाका खुला भएका कारण आयात प्रतिस्थापन गर्न नसकिरहेको बताए । उनले भारतीय नाकाहरुमा पर्खाल लगाउन आवश्यक रहेको बताए । उनले प्रधानमन्त्रीले समितिमा आएर मुलुक अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा पर्ने असर र चुनौतीलाई समाना गर्न बनाएको योजना र प्रतिवद्धता जनाउनुपर्ने बताए ।

उनले त्यसको लागि प्रधानमन्त्रीले बनाएको योजना कार्यान्वयन नभए ६ महिनाभित्र राजीनामा दिने प्रतिवद्धता जनाउनुपर्ने उल्लेख गरे । उनले सरकारले निर्यात बढाउने भन्दा पनि आयात बन्द गर्ने नीति दिनुपर्नेमा जोड दिए । उनले आयात प्रतिस्थापन गर्न नसकेका कारण देशको आर्थिक क्षेत्र सुधार हुन नसकेको धारणा राखे ।

उनले राज्यले नेपालमै उत्पादित वस्तु प्रयोगमा जोड दिनुपर्ने भन्दै नेपालमा उत्पादन हुने वस्तुहरु आयातमा प्रतिवन्ध गर्न सक्नुपर्ने बताए । उनले यस्तो प्रतिवद्धता मन्त्रीले नभई सरकार प्रमुख प्रधानमन्त्रीबाट मात्रै हुनसक्ने बताए । उनले भारतबाट खुलेआम रूपमा नेपालमा आयात हुने तर भारततर्फ निर्यात गर्न असहज परिस्थिति रहेको भन्दै सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पनि उद्योगमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । उनले निजी क्षेत्रमा उद्योगमा लगानी गर्ने वातावरण नभएको गुनासो रहेको उल्लेख गरे । उनले अहिले भएका उद्योगहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यवसायीहरुले बताउँदै आएकाले सरकारले निजी क्षेत्रको उद्योग स्थापना गर्न मनोबल बढाउन वातावरण बनाउन जरुरी रहेको बताए ।

उनले मुलुकको स्तरोन्नति उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्दा मात्रै राम्रो हुने उल्लेख गरे । उनले मनोबल बढाएर उद्योगमा लगानी बढ्नसके मात्रै नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिले सार्थकता पाउने बताए । उनले सरकारले स्तरोन्नति हुँदा मुलुकका कुन–कुन उद्योगलाई बढी असर पर्ने बताए । उनले उत्पादन र निर्यातमुखी उद्योगहरुको संरक्षण र प्रवर्द्धन गर्न कस्ता रणनीतिक योजनाहरु सरकारले बनाउन जरुरी रहेको बताए ।

राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिमा हुँदा नेपाल र नेपालीको स्वाभिमानमा अभिवृद्धि हुने बताए । उनले मुलुक अहिलेसम्म मगन्ते जस्तो गरी अनुदान मात्रै खोज्ने भएको बताए । उनले अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिमा हुँदा नयाँ अवसरहरुको सिर्जना हुने बताए । उनले प्रतिव्यक्ति आम्दानी १२४२ अमेरिकी डलर बनाउन कुनै समस्या नभएको भन्दै रेमिट्यान्सको माध्यमबाट पुग्ने अवस्था रहेको बताए । उनले मुलुकको स्तरउन्नतीसँगै कृषिलाई औधोगिकरण नगरेसम्म मुलुक अगाडि बढाउन सक्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले उद्योग क्षेत्रले मात्रै देशलाई विकसित बनाउनसक्ने बताए । उनले उद्योग मन्त्रालयले रुग्ण उद्योगहरु खोल्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले उद्योगहरु बढाउनको लागि राज्यको नीति लगानीमैत्री हुनुपर्ने भन्दै लगानीकर्ताहरु नोक्शान खानको लागि लगानी नगर्ने बताए । उनले सरकारले लगानीको वातावरण बनाउनको लागि आवश्यक नीतिहरु बनाउन जरुरी रहेको बताए । समितिमा अधिकांश सदस्यहरुले मुलुकलाई आत्मनिर्भर बनाउनको लागि आयात भन्दा पनि निर्यातलाई प्राथमिकतामा राखेर राज्यले नीति बनाउन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्