Logo

क्यासिनोमा जुवा खेलेका नेपालीको बिचल्ली

पोखरा– पोखराको क्यासिनोमा जुवा खेलेका नेपालीको बिचल्ली भएको छ । करिव एक वर्ष अघिदेखि सञ्चालनमा आएको एक मात्र ताज क्यासिनोमा नेपाली खेलेर लाखौं हारेपछि हाल उनीहरुको बिचल्ली भएको हो ।

कानुन अनुसार नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाइएको छ । तर पनि खल्ने र खेलाउनेको तजबिजले गर्दा क्यासिनोमा करिब ३० जना भन्दा बढी नेपाली जाने गरेको स्रोतले जनाएको छ । पोखराका नयाँ धनाड्य र उनीहरुको संगतले गर्दा मध्यम वर्गका केही युवासमेत जुवाको लतमा लागेर लाखौं हारेपछि हाल उनीहरुको घरझगडासमेत हुन थालेको छ ।

पोखरा र लेखनाथदेखि तनहुँ, स्याङजालगायतका जिल्लाबाट समेत क्यासिनो खेल्न जाने नयाँ धनाड्य एउटा वर्गको राम्रै बाहुल्यता रहेको बताइएको छ । उक्त क्यासिनोमा जाने नेपालीले एक लाखदेखि २ करोडसम्म हारेको स्रोतको दाबी छ । नेपालीलाई क्यासिनोमा बन्देज मात्र गरेको हुँदैन त्यहाँ नेपाली रुपैयाँसमेत चल्दैन ।

क्यासिनोले कानुन पालना नगरेको र पर्यटन विभागले पनि प्रभावकारी अनुगमन नगर्दा धेरै नेपाली जुवाको लतमा फस्दै गएको गुनासो बढ्न थालेको छ । एक वर्षअघि सञ्चालनमा आएको उक्त क्यासिनोमा विगत केही महिनादेखि नेपालीहरु जुवा खेल्न जाने गरेको स्थानीयले बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले क्यासिनोको अनुमति र नियमन गर्ने क्षेत्राधिकार पर्यटन मन्त्रालयको भएकाले अनुगमन गर्न नसकिएको बताए ।

प्रशासनले बेला बेलामा क्यासिनोमा नेपालीको प्रवेशबारे अनुगमन गर्ने गरेको उनको दावी छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले स्थानीय को गुनासो आएपछि क्यासिनोमा अनुगमन गर्दा नेपाली फेला नपरेको बताए । क्यासिनो ताजका पर्चेज म्यानेजर किरण गुरुङले नेपाली मुलका विदेशी नागरिकहरु क्यासिनोमा आउने गरेको बताए । हाल उक्त क्यासिनोमा ८० प्रतिशत भारतीय र २० अन्य मुलुकका पर्यटक रहेको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्