Logo

बिरामी कुर्दै कैलालीको गेटा अस्पताल

धनगढी– शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयल सञ्चालन गर्ने उद्देश्यले कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित गेटा अस्पतालमा निरन्तर सेवा विस्तार भइरहेको छ । साउन ३२ गतेदेखि गेटा अस्पताल प्रशासनले बहिरंग सेवामा आधारित अन्तरंग सेवा सुरु गरेको छ । तर सेवा सुरु भएको एक साता हुँदा पनि अन्तरंग सेवामा एक जना पनि बिरामी उपचारका लागि भर्ना भएका छैनन् ।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बिहीबारसम्म भर्ना गरी उपचार गर्नुपर्ने बिरामी नआएको बताए । ‘बहिरंग सेवा लिन आएका बिरामीलाई भर्ना गरी उपचार गर्न पर्ने अवस्थामा भर्ना गरी उपचार गर्ने गरी अन्तरंग सेवा सुरु गरिएको छ,’ उनले भने, ‘तर, भर्ना गरी उपचार गर्नुपर्ने बिरामी नआएकाले अन्तरंग सेवा लिने बिरामीको संख्या शुन्य छ ।’ २०८० कात्तिक १ गतेदेखि बहिरंग सेवा सुरु गरी गेटा अस्पतालले सेवा दिन सुरु गरेको थियो ।

अस्पतालमा सुविधासम्पन्न ल्याब, अप्रेसन थिएटर र विशेषज्ञ सेवा उपलब्ध छ । हाल बहिरंग सेवा लिन दैनिक ४० देखि ४५ जना बिरामी आउने गरेको अपस्तालका मेडिकल सुपरिटेन्डेन्ट विप्लव सापकोटाले बताए । उनले बिरामीलाई हाडजोर्नी, स्त्रीरोग, फिजिसियन, जनरल सर्जरी, रेडियोलोजीलगायतका विशेषज्ञ सेवा दिइरहेको बताए ।

गेटा अस्पतालमा दुई जना अर्थोपेडिक सर्जन, एक जना स्त्रीरोग विशेषज्ञ, एक जना जनरल फिजिसियन, एक जना जनरल सर्जन, दुई जना रेडियोलोजिष्ट र एक जना एनेस्थेसियोलोजिष्ट डाक्टर कार्यरत छन् । सूचना अधिकारी कार्कीका अनुसार गेटा अस्पतालमा अहिले सबै क्षेत्रका गरी ७१ कर्मचारीमध्ये १३ जना विशेषज्ञ डाक्टर र मेडिकल अफिसर कार्यरत छन् । हाल सञ्चालित सेवाहरु दिनका लागि अस्पतालमा पर्याप्त चिकित्सक र उपकरण भएपनि बिरामी नआएको अस्पतालले जनाएको छ ।

‘हाललाई सञ्चालन गरिएको सेवा दिनका लागि पर्याप्त जनशक्ति छ,’ सूचना अधिकारी कार्कीले भने, ‘बिरामी आएपछि हामी सेवा दिन सक्छौं । अहिलेलाई सामान्य अप्रेसन गर्नको लागि ओटी पनि तयारी अवस्थामा छ । ठूलो अप्रेसन गर्न नपर्ने तर भर्ना गरी उपचार गर्नुपर्ने बिरामी आए भर्ना गरेर उपचार गर्नका लागि वार्डहरु रेडी छन् ।’ अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग थप १४१ जना जनशक्ति माग गरेको छ । बिरामी आउन थालेपछि आकस्मिक सेवा समेत सञ्चालन गर्ने तयारी रहेको अस्पतालका सुपरिटेन्डेन्ट डा. सापकोटाले बताए ।

उनले छिट्टै स्तन क्यानसरको जाँच गर्नका लागि मेमोग्राफी सेवा पनि सुरु गरिने बताए । उनले मेसिन आएर जडान गर्ने कार्य भइरहेको बताए । अस्पतालमा एमर्जेन्सी वार्डसमेत तयारी अवस्थामा छ । गेटा अस्पतालले फिजियोथेरापी, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, एक्स रे, इको, इसिजी, कार्डियोग्राफीलगायतका प्रयोगशाला सेवा दिइरहेको छ । तर, बिरामीको संख्या कम भएकाले पनि अस्पतालमा सेवा लिन सहज रहेको अस्पतालका सूचना अधिकारी कार्कीले बताए ।

गेटामा विश्वविद्यालय सञ्चालनका लागि नेपाल सरकारले करिब आठ अर्ब रुपैयाँ खर्च गरेर अस्पताल, कलेज, अडिटोरियम, क्वाटर, फोहोर व्यवस्थापन केन्द्र, खानेपानी, ढल निकासलगायतका संरचना निर्माण गरेको छ । विश्वविद्यालय सञ्चालनका लागि राष्ट्रिय सभाबाट शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भइसकेको छ भने प्रतिनिधि सभामा छलफलकै क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्