Logo

व्यावसायिक तरकारी खेतीबाट वार्षिक १५ लाख आम्दानी

पर्वत– जलजला गाउँपालिका–६ सालिजाका बाबुराम रेग्मीले तरकारी खेती मनग्य आम्दानी गर्दै आएका छन् । विगत एक दशकदेखि व्यावसायिक तरकारी खेतीमा लागेका रेग्मीले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । तरकारीबाटै भएको आम्दानीले उनले जेठो छोरालाई इन्जिनियर र कान्छोलाई कृषि प्राविधिक बनाएका छन् ।

रोजगारीका लागि १० वर्ष विदेशमा भौतारिका रेग्मीले गाउँ फर्किएर बुबाले अङ्गालेको कृषि कर्मलाई जीवन धान्ने पेसाका रूपमा रोजेका थिए । कृषि पेसा गरेर बाबुरामले घर परिवारको खर्च चलाउनुका साथै लाखौं रुपैयाँ खर्चिएर दुई छोरालाई प्राविधिक शिक्षामा अब्बल बनाए । कृषि पेसाबाट परिवारको आर्थिक समृद्धि प्राप्त गर्नुका साथै र उदाहरणीय व्यक्ति बनेका छन् ।

जेठो छोरालाई सिभिल इन्जिनियरमा स्नातकसम्म पढाएर माष्टर डिग्री पढ्नका लागि हाल बेलायत पठाएका छन् भने कान्छो छोरा रामपुर कृषि क्याम्पसबाट कृषि प्राविधिकमा स्नातक गरेर अहिले नेपालमै रोजगारी गर्न थालेका छन् । छोराछोरीलाई पढाउने खर्च जुटाउन विदेश नै जानु पर्दछ, स्वदेशमा केही छैन, भन्नेका लागि बाबुरामको प्रगतिले गतिलो जवाफ दिएको छ ।

‘उनको कृषि पेसा लोभलाग्दो छ । कृषिमा केही छैन भन्नेका लागि बाबुरामको कृषि पेसाले गाउँमा आशा जगाएको छ । परिश्रमी र लगनशील बाबुराम युवाका लागि प्रेरणा बनेका छन्,’ स्थानीय युवा डिलनाथ सापकोटाले भने । करिब १५ रोपनी खेतबारीमा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । ‘काँक्रा बजार लैजाने भएका छन्, दैनिक रूपमा ५० केजी उत्पादन हुने गरेको छ । काउली र बन्दाका बिरुवा भर्खर रोपेको छ,’ उनले भने ।

रेग्मीलाई तरकारी खेतीको काम गर्न श्रीमती र बुबाले पनि सघाउँदै आएका छन् । बर्खे आलु लगाएर पाँच लाख रुपैयाँ आम्दानी गरेको बताउने बाबुरामले वार्षिक रूपमा १० देखि १५ लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्ने गरेको बताए । १० मुरी धान उत्पादन हुने खेतमा उनले गोल्डेन जातको किबी पनि लगाएका छन् । किबी खेतीबाट वार्षिक रूपमा दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको सोच छ ।

गाउँपालिकाले उनलाई अनुदानमा किबीका विरुवा उपलब्ध गराएको छ । ‘मेरो अन्य आम्दानीको स्रोत केही थिएन, तरकारी बेचेर छोराहरूले रोजेको विषय पढाएँ,’ बाबुरामले भने, ‘विदेश छाडेर गाउँ फर्किंदा छरछिमेकले गाली गरेका थिए । छोराहरू पढ्ने भएका छन् । राम्रो पढाउन धेरै पैसा खर्च हुन्छ । विदेश फर्क भन्थे । तर छिमेकीको सल्लाह मानिन ।’ बेमौसममा उत्पादन गरे बजारको समस्या पनि नहुने र राम्रो मूल्य पाउने उनको अनुभव छ ।

आफूले अङ्गालेको पेसा रोजेर छोरा गाउँकै नमुना कृषक भएकोमा बुबा कलाधर रेग्मी पनि खुसी छन् । ‘ऊ बेला मैले पनि तरकारी खेतीबाट छोराहरूलाई अक्षर चिनाएको हुँ,’ कलाधरले भने, ‘छोरा कृषि पेसामा अब्बल भएको देख्दा मनमा खुसी र आत्मसन्तुष्टी मिलेको छ । तरकारी खेतीको आम्दानीले नातिहरूले राम्रो विषय लिएर पढे । बाउबाजेले अङ्गालेको कृषि पेसाले राम्रो गरेकाले नछाड भनेको छु ।’

प्रतिक्रिया दिनुहोस्