कोदोको बिस्कुट बजारमा
विराटनगर– पौष्टिक आहाराका रुपमा लिइने कोदोको ब्राण्डलाई बजारमा स्थापित गर्न एसियन बिस्कुट कन्फेक्सनरीले कोदोको बिस्कुट बजारमा ल्याएको छ । नेपालमा यसअघि कुटिर उद्योगका रूपमा पश्चिम नेपालमा कोदोको बिस्कुट उत्पादन भएको थियो । तर, एसियन बिस्कुटले उद्योग लेभलबाटै कोदोको बिस्कुट बजारमा ल्याएको हो ।
कोदो खासगरेर सुगर, प्रेसका विरामीलाई निकै लाभदायक पौष्टिक आहारा मानिन्छ । ‘देशभर बजार विस्तारको उद्देश्य राखेर हामीले धेरै अध्ययनपछि कोदोको बिस्कुट बजारमा ल्याएका हौं’ एसियन बिस्कुटका प्रबन्ध निर्देशक महेश जाजुले भने, ‘कोदो नेपालको मौलिक खानेकुरा हो, यो विभिन्न रोग लागेकालाई समेत उपयोगी हुने हाम्रो निश्कर्ष हो ।’
बिस्कुटलाई सुगन्धमय बनाउन इलामको अलैँचीको प्रयोग गरिएको छ । ‘हामीले आफ्नै उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने कोसिस गरेका हौं’ उनले थपे । खासगरेर मधुमेह, प्रेसरका रोगीलाई यो बिस्कुट प्रभावकारी हुने ठानिएको छ । बिस्कुटको मूल्य २५ रुपैयाँ कायम गरिएको छ ।
प्रबन्ध निर्देशक जाजुले कोदोको बिस्कुट भारत निकासी गर्ने प्रक्रियाअघि बढेको बताए । ‘भारतबाट धेरै डिमाण्ड आएको छ,’ उनले भने, ‘नेपालमै पनि ७७ जिल्लाबाट चासो बढेको छ, हामीले उत्पादन गर्न सकिरहेका छैनौ ।’ भारतमा कोदोभन्दा थाहा हुँदैन सोही कराण यसलाई नयाँ नामाकरण गरिएको जाजुले बताए ।