जापानी अर्थव्यवस्थाले खोलेको मार्ग «

जापानी अर्थव्यवस्थाले खोलेको मार्ग

सन् २०१७ मा जापानको कुल जीडीपी ४.८८ ट्रिलियन अर्ब अमेरिकी डलर पुगेको छ । यस हिसाबले जापान विश्वको तेस्रो र क्रयशक्तिका आधारमा चौथो ठूलो अर्थतन्त्र हो । जीडीपीमा सेवाक्षेत्रको हिस्सा ७१.१ प्रतिशत छ । त्यस्तै उद्योगको २७.७ प्रतिशत र कृषिक्षेत्रको १.२ प्रतिशत योगदान रहेको छ ।
सन् २०१७ मा जापानको प्रतिव्यक्ति आम्दानी ३८ हजार ५ सय ५० अमेरिकी डलर पुगेको छ । यस हिसाबले जापान २० औं स्थानमा रहेको छ र पर्चेजिङ पावर प्यारेटीका हिसाबले २८ औं स्थानमा रहेको छ । जापान महँगीको सकस रहेको मुलुक होइन, जहाँ उपभोक्ता मूल्य सूची ०.७ प्रतिशत रहेको छ । नेपालमा मुद्रास्फीति दर ७/८ प्रतिशतभन्दा कम छैन । विकसित मुलुकको आर्थिक वृद्धिदर स्वाभाविक रूपमा न्यून हुन्छ, जुन कुरा पछिल्लो पाँच वर्षको औसत आर्थिक वृद्धि १.१८ प्रतिशतमै सीमित हुनुले पुष्टि हुन्छ । त्यसमाथि जापानको आर्थिक वृद्धि सन् २०१७ मा ०.७ प्रतिशतमै संकुचित रहेको छ ।

पारदर्शिता
कुनै मुलुकको आर्थिक प्रगतिमा आर्थिक पारदर्शिताको ठूलो हात हुन्छ । जापानले भ्रष्टाचारलाई प्रगतिको बाधक ठान्छ । जापान भ्रष्टाचार अत्यन्त धोरै हुने मुलुकमा गणना हुन्छ, जुन कुरा हेरिटेज फाउन्डेसनले प्रकाशन गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले पुष्टि गर्छ । कुल १ सय ८० मुलुकमध्ये २० औं स्थानमा रहनु वा कुल १ सय अंकमध्ये ७२ स्कोर प्राप्त गर्नुबाट पनि पुष्टि हुन्छ । स्मरण रहोस्, औसत स्कोर सन् २०१६ मा ईयू तथा पश्चिम युरोपको ६६ अंक र एसिया तथा प्रसान्त क्षेत्रको औसत अंक ४४ र विश्वको औसत अंक ४३ छ । प्रस्तुत तथ्यबाट आर्थिक समृद्धिका लागि आर्थिक अनुशासन अपरिहार्य हुन्छ भन्ने कुरा पुष्टि हुन्छ ।

व्यवसाय गर्ने वातावरण
कुनै मुलुकमा किन उद्योगधन्दा, व्यापार–व्यवसाय मौलाउँछ ? किन बाह्य लगानी भित्रिन्छ ? किन उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरा त्यस मुलुकमा निहित व्यावसायिक वातावरणले निक्र्योल गर्छ । उक्त दौडमा जापान सधैं अग्रस्थानमा रहँदै आएको छ । विश्व बैंक समूहले प्रकाशन गर्दै आएको डुइङ बिजनेस प्रतिवेदन २०१८ बाट यसको पुष्टि हुन्छ । प्रतिवेदनअनुसार जापान डुइङ बिजनेस इन्डेक्समा विश्वका १ सय ९० मुलुकमध्ये ३४ औं स्थानमा रहेको छ । कुल ११ वटा परिसूचकलाई आधार मानी तयार पारिएको उक्त प्रतिवेदनमा जापानले १ सयमध्ये ७५.६८ स्कोर प्राप्त गरेको छ । यसमा सम्पत्तिको हकमा ८६, न्यायिक प्रभावकारितामा ७३.२, श्रम स्वतन्त्रतामा ७९.२, मुद्रा स्वतन्त्रता ८५.४, व्यापार स्वतन्त्रतामा ८२.३ र लगानी स्वतन्त्रतामा ७० स्कोर प्राप्त गरेको छ । प्रस्तुत तथ्यबाट आर्थिक समृद्धिका लागि व्यापार–व्यवसाय गर्ने वातावरण उपयुक्त हुनुपर्छ भन्ने कुरा उजागर हुन्छ ।

उद्योग
जापानले महँगो र भरपर्दो वस्तु उत्पादनमा विश्वमा पृथक् पहिचान बनाएको छ । उच्च मूल्यका र टिकाउपूर्ण सामानका लागि जापानी ब्रान्डको इमेज बनिसकेको छ । स्टिलजन्य उत्पादन, पानीजहाज, हवाईजहाज, अटोमोबाइल, इलोक्ट्रोनिक्स, केमिकल, इक्युपमेन्ट, प्रशोधित खानामा जापानको विशेष पडक रहेको छ । प्राकृतिक स्रोतसाधनको अभाव हुँदाहुँदै पनि बाह्य मुलुकबाट कच्चा पदार्थ आयात गरी निर्मित वस्तु विश्वभर निर्यात गर्न सक्नु जापानकोे खुबी मान्नुपर्छ ।
जापान टोसिवा, प्यानासोनिक, सोनी, क्यानन, हिटाची, क्यासियो, होन्डा मित्सुबिसी, निसान, टोयोटा, कावासाकी, सुजुकी, माज्दा, यामाहा, सिटिजन, फुजीलगायतका बहुराष्ट्रिय कम्पनीहरूको कर्पाेरेट भूमि पनि हो । यहाँ कुनै कम्पनी स्थापना भएपछि लामो समयसम्म सञ्चालनमा रहन्छ । महŒवपूर्ण कुरा के हो भने विश्वका २ सय वर्ष पुराना ५ हजार ५ सय ८६ कम्पनीमध्ये ४ हजार १ सय ४६ वटा कम्पनी जापानमा मात्र रहेका छन् । यस्ता कम्पनीको संख्या जर्मनीमा ८ सय ३७, नेदरल्यान्डमा २२, फान्समा १ सय ९६ वटा मात्र छन् । विश्वका ठूला मोटर कम्पनीमध्ये ६ वटा जापानमै रहेका छन् । अर्धकन्डक्टर कम्पनीमा पनि जापानको त्यत्तिकै लगाव तथा पहुँच छ । यहाँ २० वटा अर्धकन्डक्टर कम्पनीहरू सञ्चालनमा छन् । प्रतिघण्टा ५ सय किलोमिटरभन्दा बढी गतिमा गुड्ने बुलेट ट्रेनको प्रादुर्भाव जापानमै भएको हो । प्रस्तुत तथ्यबाट उत्पादनमूलक उद्योग मौलाउन प्राकृतिक स्रोतसाधन होइन, अक्कल र उद्यमशीलता आवश्यक हुन्छ भन्ने कुरा उजागर हुन्छ ।

व्यापार
व्यापार–व्यवसायलाई आर्थिक समृद्धिको इन्जिन मानिन्छ । जुन मुलुकमा व्यापार–व्यवसाय मौलाउँछ, उक्त मुलुक धनी बन्न समय लाग्दैन । भलै व्यापार गर्न वस्तु तथा सेवा उत्पादन गर्नु अपरिहार्य हुन्छ । त्यसो त जापानले सन् १८५४ ताकाबाट पश्चिमा मुलुकसँग व्यापार सुरु गरेको थियो । अहिले जापानको व्यापार लगभग विश्वभर फैलिएको छ । एपेक, डब्लूटीओ, ओईसीडी, जी–२०, जी–८ जापानका मुख्य व्यापार साझेदारहरू हुन । सन् २०१६ मा जापानले ६४४.९ अर्ब अमेरिकी डलरको वस्तु तथा सेवा निर्यात गर्यो भने सोही सममयमा ६०६.९ अर्बको वस्तु तथा सेवा आयात गरेको छ । यसमा अमेरिकामा २०.२ प्रतिशत, चीनमा १७.७ प्रतिशत, दक्षिण कोरियामा ७.२ प्रतिशत निर्यात गरेको छ । त्यस्तै २५.८ प्रतिशत चीनबाट, १२.४ प्रतिशत ईयूबाट, ११.४ प्रतिशत अमेरिकाबाट र ५ प्रतिशत अस्ट्रेलियाबाट आयात गरेको छ । प्रस्तुत तथ्यबाट इच्छाशक्ति भएमा प्राकृतिक स्रोतसाधनको अभाव भए पनि वस्तु तथा सेवाको उत्पादन र व्यापार गर्न सकिन्छ भन्ने दृष्टान्त मिल्छ ।

पर्यटन
निःसन्देह जापानका प्रत्येक सहरले पृथक् मौलिक विशेषता बोकेका छन् । यी पृथक् विशेषताहरूलाई जापानले पर्यटन प्रवद्र्धनको कडी बनाएको छ । पर्यटकीय सम्पदाहरूको व्यवस्थित र व्यावसायिक विकास गरेका कारण सन् २०१६ मा २ करोड ४३ लाख पर्यटक भित्राउन सफल भयो । यो संख्या नेपालले भित्राउने भन्दा करिब ३० गुना अधिक हो । स्मरण रहोस्, टोकियो आर्थिक तथा कूटनीतिक केन्द्रभूमिका रूपमा, क्योटो परम्परागत संस्कृति बोकेको सहरका रूपमा, ओशाका– औद्योगिक नगरी र अन्तर्राष्ट्रिय कम्पनीहरूको हबका रूपमा, योकोहामा– ट्राभल, सपिङ र बन्दरगाह सहरका रूपमा, नारा विश्व सम्पदाको खजानाका रूपमा, एमोरी मनोरञ्जन तथा हनिमुन सहरका रूपमा, ओकीनवाखुला समुद्र र सब टर्पिकल मौसमी सहरका रूपमा, हनाजवा तालतलैया, बगैंचा र उद्यानको सहरका रूपमा प्रवद्र्धन भएका छन् । त्यसमाथि हेमेजी क्यास्ट्रल (ऐतिहासिक दरबार), कुमामोटो क्यास्टल, क्योटो नारा, माउन्ट फुजीलगायतका २१ वटा सम्पदा युनिस्कोमा सूचीकृत छन् । प्रस्तुत तथ्यबाट हरेक मुलुकमा फरक–फरक पर्यटन खजानाहरू हुन्छन्, तर लाभ त्यस मुलुकले मात्र लिन सक्छ र उसले पर्यटकीय खजानाको व्यावसायिक विकास गर्न सक्छ भन्ने सन्देश मिल्छ ।
जापानको यो समृद्धिबाट नेपालले प्रशस्त पाठ सिक्न सक्छ । जुन आधारभूमिमा जापानले विकासको मार्ग तय गर्यो हामीले पनि त्यसमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ । समृद्धिको सपना बाँडेर मात्र हुँदैन, देशमा सुशासन र पारदर्शिता कायम गरी व्यवसाय गर्ने वातावरण तयार पार्नुपर्छ । यसै आधारमा वैदेशिक लगानी भित्रिने मात्र होइन, देशभित्रका व्यवसायीहरूले पनि लगानी बढाउँछन् । भ्रष्टाचार न्यूनीकरण गर्दै लगानीको वातावरण बनाउने हो भने देशमा पर्यटन, उद्योग आदि विविध क्षेत्रको विकास भई समृद्धितर्फको यात्रा सुरु हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्