अटोमेटिक रुटबाट चार महिनामा नौ अर्ब लगानी
काठमाडौं– सरकारले वैदेशिक लगानीको क्षेत्रलाई झन्झटरहित बनाउन सञ्चालनमा ल्याएको स्वचालित स्वीकृत प्रणाली अर्थात् अटोमेटिक रुट छोटो समयमै लोकप्रिय बनेको छ ।
अटोमेटिक रुट सञ्चालनमा आएको चार महिना पूरा नहुँदै यसबाट करिब ९ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार साउन मसान्तसम्म अटोमेटिक रुटबाट ८ अर्ब ७१ करोड ३७ लाख रुपैयाँबराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।
साउनमा मात्र अटोमेटिक रुटमार्फत ५९ करोड ७५ लाख रुपैयाँबराबरका ३१ परियोजना स्वीकृत भएका छन् । यसमध्ये सबैजसो साना औद्योगिक परियोजना रहेका छन् । यो रुटमार्फत सबैभन्दा बढी २२ सूचनामूलक उद्योग दर्ता भएको विभागले जनाएको छ । पर्यटनमूलक चार, उत्पादनमूलक र सेवामूलक दुई–दुई तथा पूर्वाधारमूलक एक परियोजना स्वीकृत भए पनि यस रुटमार्फत ऊर्जा र कृषिमूलक उद्योग भने दर्ता भएका छैनन् ।
वैदेशिक लगानी आकर्षित गर्न सरकारले अघि सारेको अटोमेटिक रुटसम्बन्धी व्यवस्था छोटो समयमै लोकप्रिय हुनुमा झन्झटरहित सेवा मुख्य कारण रहेको विभागका अधिकारीहरु बताउँछन् । गत वैशाख दोस्रो साता काठमाडौंमा आयोजित लगानी सम्मेलनका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो प्रणाली सुरुवात गरेको थियो । उद्योगमन्त्री दामोदर भण्डारीले सम्मेलनकै अवसरमा यो प्रणाली उद्घाटन गरेका थिए । विभागका अनुसार अटोमेटिक रुटमार्फत कुल ५० करोडसम्म शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेका विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धि गर्न स्वचालित मार्गमार्फत निवेदन दिन सक्ने व्यवस्था छ ।
विदेशी लगानी स्वीकृति गरिएको पत्र इमेलमार्फत आवेदन दिनेबित्तिकै प्राप्त गर्न सकिने र सोही आधारमा कम्पनी दर्ता गर्न सकिने प्रणाली नै अटोमेटिक रुट हो । सूचना प्रविधिमा आधारित उद्योगका हकमा स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा राखिएको छैन । जसमा कारण सूचना प्रविधिजन्य उद्योग दर्ता हुने क्रम बढेको पाइन्छ । सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधन गरेको थियो ।
यसरी चल्छ अटोमेटिक रुट
विभागका अनुसार अटोमेटिक रुटबाट विदेशी लगानी स्वीकृति लिन चाहने लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लगइन गरी विवरण तथा कागजात प्रविष्ट गर्नुपर्छ । विवरण तथा कागजात प्रविष्ट गरेपछि विद्युतीय प्रणालीमा पेस गर्नुअघि आफ्नो विवरण सच्याउन सक्ने सुविधा दिइएको छ । त्यसरी सच्याएपछि विदेशी लगानी स्वीकृतिका लागि विभागको विद्युतीय प्रणालीमा पेस गर्न सकिन्छ ।
विभागको विद्युतीय प्रणालीमा निवेदन प्राप्त भएपछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको ईमेल ठेगानामा आवेदन नम्बरसहित निजको लगानी स्वीकृति भएको जानकारी (कन्फर्मेसन) दिइने विभागले जनाएको छ । लगानीकर्ताले लगानी स्वीकृत भएको पत्र विभागको विद्युतीय प्रणालीबाट समेत प्राप्त हुने भएको छ । विभागले लगानी स्वीकृति भएको जानकारी ईमेलमा दिनुलाई लगानी स्वतः स्वीकृति भएको मानिने उल्लेख छ । विद्युतीय प्रणालीले माग गरेअनुसार विवरण तथा कागजात सही र आधिकारिक हुनुपर्ने अन्यथा फरक परे लगानीकर्ता नै जिम्मवार हुनुपर्ने विभागको भनाइ छ ।