विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

म्याग्दी- म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।
विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको सुरुआत गरेको छ । विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालका अनुसार गत वर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मूल्यांकनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको तीन लाख पुरस्कार रकमबाट दुई लाख १८ हजार खर्च गरेर एउटा स्मार्ट बोर्डसहित स्ट्याण्ड, ओपिएस बक्सलगायत सामग्री खरिद गरिएको छ ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले समेत व्यक्तिगत रूपमा एक लाख ६० हजार खर्च गरेर एक थान स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई उपलब्ध गराएका छन् । विद्यालयमा दुईवटा स्मार्ट बोर्ड भएपछि विज्ञान विषयमा पठनपाठन हुने कक्षा ११ र १२ मा यसै स्मार्ट बोर्डबाट अध्यापन गराउन थालिएको छ ।
विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान गरिएको हो । विद्यालयले पहिलोपटक प्रयोगमा ल्याएको स्मार्ट बोर्डको आइतबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गर्दै शिक्षण सिकाइलाई समयसापेक्ष रूपमा प्रविधि र व्यावहारिकतामा जोड्नुपर्ने बताए ।
कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा एक हजार एक सय ५० बढी विद्यार्थी अध्ययरत छन् । विसं २०६६ देखि जिल्लामा पहिलोपटक विज्ञान विषयमा कक्षा ११ र १२ मा पठनपाठन गराउन सुरु गरेको विद्यालयमा अहिले कक्षा १२ मा ३० र कक्षा ११ मा २५ जना भर्ना भइसकेका छन् भने भर्ना हुने क्रम जारी नै छ ।