जात्राले आर्थिक गतिविधि बढ्यो

जुम्ला– कर्णालीकै लामो तथा ठूलो जात्रा सुरु भएसँगै जुम्ला जात्रामय भएको छ । गत मंगलबारदेखि जात्रा सुरु भएपछि जुम्ला जात्रामय बनेको हो । हाल कामको सिजन नभएकाले दैनिक जात्रा हेर्न हजारौंको भीड लाग्ने गरेको छ । हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि कृष्ण जन्माअष्टीसम्म मनाइने करिब एक हप्ता लामो जात्राले जुम्लामा मनोरञ्जनसँगै आर्थिक गतितिविधि पनि बढाउने गरेको छ ।
जुम्लामा विसं १९५३ बाट निरन्तर मनाउँदै आएको जात्राले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ । भदौ कृष्ण प्रतिपदाका दिनदेखि सुरु भएको जात्रा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट लाखे काटेपछि मात्रै सकिन्छ । जात्रा सञ्चालनसँगै आर्थिक गतिविधि पनि बढेको थोक तथा खुद्रा व्यापारी बताउँछन् । होटल व्यवसायदेखि साना खाजा पसल तथा फेन्सीमा जात्रा लागेसँंगै बाक्लो भीड देखिएको छ ।
तुलनात्मक रूपमा जात्राअवधिभर राम्रो व्यापार हुने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटा बताउँछन् । उनी भन्छन्, ‘कामको सिजन नभएकाले जात्रामा स्थानीयको बाक्लो उपस्थिति छ । यसले बजार चलायमान बनेको देखिन्छ । गाउँबाट आउजाउ गर्दा सवारीसाधनले पनि कमाएका छन् भने लत्ता कपडादेखि दैनिक उपभोग्य वस्तुको किनबेच बढेको छ । जात्राले व्यापारी पनि उत्साहित देखिन्छन् ।’
कोरोनाकालमा दुई वर्ष पूर्णरूपमा बन्द भएको जात्रा गत वर्षबाट निकै उत्साहका साथ मनाइने गरिएको छ । जात्रा हेर्न जुम्लासहित मुगु, कालिकोट, दैलेख, सुर्खेत र जाजरकोट लगायतका जिल्लाबाट आउने गरेका छन् । सात दिनसम्म लाग्ने जात्रामा पहिलो दिन गाई जात्रा, सानो पल्टन जात्रा, मिम बादशाह जात्रा र ठूलो पल्टन तथा बाघ भालु जात्रालगायतका स्थानीय भाषा सांस्कृति झल्किने झाँक्रीसमेत प्रदर्शन गरिने जात्रा व्यवस्थापन समितिका महासचिव आनन्द अधिकारीले बताए ।
उनका अनुसार गाईजात्रा, रोपाइँ जात्रा र पल्टन जात्रा प्रदर्शन भइसकेको छ । लिच्छविकालमा राजा प्रताप मल्लले पुत्र शोकले भाव विह्वल भएकी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकालेपछि गाईजात्रा मनाउन थालिएको किंवदन्ती छ । यता जात्राको समयमा भीडभाड हुने भएकाले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरी सुरक्षा व्यवस्थालाई मजबुद बनाइएको डिएसपी छेदिलाल कामतीले बताए । मंगलबारदेखि सुरु भएको जात्रा आगामी भदौ ११ गते समापन हुनेछ ।