लमजुङको भुलभुलेमा झरना महोत्सव
लमजुङ– मस्र्याङदी गाउँपालिका–८ भुलभुलेस्थित हामखोला झरनामा चौथो हामखोला झरना महोत्सव भएको छ । आन्तरिक पर्यटकको भीड लाग्ने सो झरनामा पर्यटन प्रवर्द्धनका लागि चौथो हामखोला झरना महोत्सव २०८१ भएको हो ।
आन्तरिक पर्यटकलाई लक्षित गरी विगत चार वर्षदेखि महोत्सव हुँदै आएको छ । स्थानीय हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिले मस्र्याङदी गाउँपालिकाको प्रायोजनमा चौथो पटक महोत्सव भएको हो । प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने दर्जनौ झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरेको भन्दै झरना महोत्सव आयोजना गरीएको मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
‘विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरेको छ’ अध्यक्ष गुरुङले भने, ‘झरनाकै कारण मस्र्याङदी गाउँपालिका र सिँगो लमजुङमा पर्यटक आकर्षण गर्ने माध्यम बनेको छ ।’
झरनाकै माध्यमबाट स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न गाउँपालिकाले आवश्यक संरचना र थप प्रर्वद्धनका कार्यक्रम ल्याउने अध्यक्ष गुरुङको भनाइ छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म भएको महोत्सवमा विभिन्न सांस्कृतिक एवं सांगीतिक प्रस्तुती राखिएका थिए । झरनामा भिज्दै सांगीतिक माहोलमा रमाउन सयौंको संख्यामा दर्शक महोत्सव पुगेका थिए ।
पानीको बहाव बढेपछि लमजुङका झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्ने गर्दछ । भुलभुले झरनासँगै बेसीशहर–१, उदिपुरमास्थित गाईखुरे झरना, मस्र्याङदी–४ मा रहेको स्याँगे झरना, च्याम्चे झरना, अक्टोपस झरनालगायत जिल्लाका दर्जनौ झरनामा आन्तरिक पर्यटक पुग्ने गर्दछन् ।
आन्तरिक पर्यटकको आकर्षण र आगमनलाई मध्यनजर गर्दै गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सन् २०२० मा पहिलो पटक हामखोला झरना महोत्सव भएको थियो । त्यसयता निरन्तर प्रत्येक वर्ष महोत्सव हुँदै आएको छ ।
बेसीशहरदेखि उत्तरतर्फ लागेसँगै देखिने दर्जनौ झरनाले स्वदेशी मात्र नभई हजारौ विदेशी पर्यटकलाई पनि मोहित बनाएका छन् । पर्याप्त प्रचार प्रसारको अभावमा पनि प्राय: दिन झरनामा पर्यटकको भीड लाग्ने गर्दछ । हप्ताभरि काममा ब्यस्त हुनेहरु बिदाको दिन झरनामा पुगेर आनन्द लिने गर्दछन् । छोटो समयमा लमजुङका पर्यटकीय गन्तब्य पुग्न नसक्नेहरु पनि झरनामा पुगेर आनन्द लिने गर्दछन् ।
महोत्सव प्रवर्द्धनका लागि साइकल यात्रा
भुलभुलेमा भएको महोत्सवको प्रचार प्रसारका लागि साइकल यात्रा भएको छ । जिल्लास्थित साइक्लिङ संघले महोत्सव आयोजकसँग समन्वय गरी साइकल यात्रा गरेको हो ।
महोत्सवको प्रचार प्रसारसँगै झरना प्रद्र्धनका लागि पनि साइकल यात्रा गरीएको लमजुङ साईक्लिङ संघका सचिव दिनेश श्रेष्ठले बताए । महोत्सव प्रचारका लागि बेसीशहरदेखि मस्र्याङदी–७, ङाँदी भुलभुलेसम्म साइकल यात्रा भएको हो ।