लमजुङमा दुई करोड बढी विद्युत बक्यौता
लमजुङ– नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रमा दुई करोड बढी रुपैयाँ विद्युत बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/०८२ मा केन्द्रमा दुई करोड २४ लाख बक्यौता बाँकी रहेको हो । वितरण केन्द्रका अनुसार गत आर्थिक वर्षमा धेरै विद्युत बक्यौता राख्नेमा सामुदायिक विद्युत उपभोक्ता संस्था रहेका छन् ।
गत आर्थिक वर्षमा विद्युत उपभोक्ता संस्थाको मात्रै एक करोड २६ लाख रहेको प्राधिकरण वितरण केन्द्रले जनाएको छ । विद्युत उपभोक्ता संस्थाले समयमै प्राधिकरणलाई नियमित विद्युत महसुल नबुझाउँदा बक्यौता रकम बढी भएको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले बताए । केन्द्र प्रमुख भट्टराईका अनुसार केही संस्थाको पुरानो विवादित रकमसमेत बक्यौताको रूपमा रहेको छ ।
केही महिनाअघि प्राधिकरणले स्वामित्व लिएका पश्चिम विद्युत उपभोक्ता संस्था र हालको जाल्पादेवी विद्युत उपभोक्ता संस्थाको पनि अधिक रकम बक्यौता रहेको केन्द्र प्रमुख भट्टराईले बताए । उपभोक्ता संस्थाबाहेक जिल्लामा साधारण ग्राहकबाट ४८ लाख विद्युत बक्यौता रहेको छ । त्यसैगरी गैर ग्राहकबाट ९४ हजार, व्यावसायिक ग्राहकबाट १८ लाख, औद्योगिक ग्राहकबाट १८ लाख ५९ हजार विद्युत बक्यौता रहेको छ ।
त्यसैगरी सडक बत्तीअन्तर्गत स्थानीय तहबाट पाउनुपर्ने रकम १८ हजार रुपैया, सरकारी निकायबाट सात लाख ३६ हजार, खानेपानी तथा सरसफाइ समितिबाट तीन लाख २० हजार रुपैयाँ, यातायात सम्बन्धीबाट ११ हजार रुपैयाँ, सार्वजनिक महत्त्वका धार्मिक एवं संस्कृतिक संस्थाबाट २३ हजार रुपैयाँ बक्यौता बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार गत आर्थिक वर्षमा ६ वटा व्यावसायिक ग्राहक कालोसूचीमा परेका छन् । जसबाट १२ लाख रुपैयाँ बक्यौता रहेको छ ।
गत आर्थिक वर्षमै वितरण केन्द्रले बक्यौता रकम नबुझाउने एक हजार १६५ ग्राहकको विद्युत काटेको जनाएको छ । सोमध्ये एक हजार १४९ ग्राहकले एक करोड नौ लाख ५७ हजार रुपैयाँ बक्यौता लिएर पुन: विद्युत जडान गरेको जनाएको छ । विद्युत वितरण केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लामा तीन करोड ३४ लाख रुपैयाँ बक्यौता रहेको थियो । सोमध्ये पनि अधिक रकम विद्युत उपभोक्ता संस्थाको नै रहेको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा विद्युत उपभोक्ता संस्थाको मात्रै दुई करोड १६ लाख रुपैयाँ बक्यौता रकम बाँकी रहेको थियो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमजुङका अनुसार गत आर्थिक वर्षमा तीन हजार ३७८ ग्राहक थपिएका छन् । आर्थिक वर्ष ०७९/०८० मा ३६ हजार ७९२ ग्राहक रहेको वितरण केन्द्रमा गत आर्थिक वर्ष ४० हजार १७० ग्राहक संख्या पुगेको वितरण केन्द्रले जनाएको छ ।
गत आर्थिक वर्षमा मात्रै वितरण केन्द्रमार्फत् दुई करोड, ५४ लाख तीन हजार १७६ दशमलव ८८ युनिट विद्युत बिक्री भएको जनाएको छ । जसबाट प्राधिकरणले २४ करोड १४ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको थियो । वितरण केन्द्रले अघिल्लो आर्थिक वर्षमा दुई करोड २५ लाख ४१ हजार सात सय तीन दशमलव ३३ युनिट विद्युत बिक्री गरेर २० करोड ७६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।