Logo

ताल्चा विमानस्थल टर्मिनल २१ वर्षदेखि काठको टहरोमा

वीरेन्द्रनगर (सुर्खेत)– २१ वर्षदेखि काठको टहरोमा ताल्चा विमानस्थलको टर्मिनल सञ्चालनमा रहेको छ । यो विमानस्थलमा उडान हुन थालेको २१ वर्ष बितिसक्दा पनि टर्मिनल भने अझै पनि काठको टहरोमा रहेको हो । २०६० वैशाख ३ गतेदेखि पहिलो पटक रारा विमानस्थलको ताल्चमा परीक्षण उडान गरेर हवाई सेवा सुरु गरिएको थियो ।

विमानस्थलमा सहज रूपमा जहाजले अवतरण गरेपछि सबै जनाले स्वागत गरेसँगै हालसम्म मौसमले साथ दिएको अवस्थामा नियमित उडान हुँदै आएको छ । नियमित उडान भए पनि जहाजसँग जोडिएका महत्त्वपूर्ण सुरक्षा तथा व्यवस्थापनको पाटो भने अझै भरपर्दो हुन सकेको छैन । टर्मिनल भवन र यात्रु कक्ष नहुँदा यात्रुलाई सुरक्षा चुनौती तथा यात्रामा सकस हुने गरेको पाइएको छ ।

२०६० सालदेखि कच्ची धावनमार्गबाट काठको टहरोबाटै जहाजको उडान तथा अवतरण सुरु गरिएको भए पनि हालसम्म सुविधायुक्त टर्मिनल टावर भवन निर्माण नहुँदा समस्या बढेको हो । टर्मिनल टावर, यात्रु कक्ष नहुँदा यात्रुलाई बस्न, झरीको बेला ओत लाग्ने जस्ता समस्याले सताउने गरेको छ । काठको टहरोबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यताबाट अगाडि बढ्न नसकेको अवस्था छ ।

२०७२ मा ५२० मिटर लम्बाई तथा २० मिटर चौडाई रहेको धावन मार्ग कालोपत्रे भए पनि अन्य कामहरु हुन सकेको छैन । मुख्य र संवेदनशील टावर राख्ने टर्मिनल भवन नबन्दा समस्या भएको रारा विमानस्थल ताल्चा मुगुका विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताए । टर्मिनल टावर अग्लो ठाउँमा हुनुपर्ने र चारैतिर देख्ने हुनुपर्छ । तर, यहाँ काठको टहरो काम चलाउनका लागि मात्रै बनाइएको हो ।

टर्मिनल टावर निर्माणका लागि २०७६ असोज १६ गते नागरिक उड्डयन प्राधिकरणले पाँच वर्षअघि भ्याटसहित ८ करोड ६५ लाख रुपैयाँमा ओम बुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । ९ करोडमा उक्त ठेक्का लिएको कन्स्ट्रक्सनले पाँच वर्ष बित्दा समेत काम पूरा नगर्दा समस्या देखिएको हो ।

२०७९ वैशाख ५ गते निर्माण कार्य सकाएर हस्तान्तरण गर्नु पर्ने भए पनि हाल चौथो पटक म्याद थपेर काम भइरहेको प्राधिकरणका सिभिल इन्जिनियर महेश नेपालीले जानकारी दिए । दुई वर्ष भित्र निर्माण गर्नुपर्ने भए पनि हालसम्म चार पटक म्याद थपेर काम भइरहेको नेपालीले बताए । अब छानोदेखि भित्री कामहरु बाँकी रहेको उनको भनाइ छ ।

हिमपात, वर्षा, कोरोना महामारी जस्ता कारणले टावर, टर्मिनल भवन निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ रहेको छ । पटक–पटक म्याद थप्दै गए पनि ठेक्काको काम पूरा नभएपछि अब तीन महिनामा निर्माण सम्पन्न गर्ने गरी आगामी असोजसम्म म्याद थप भएको छ । ताल्च पर्यटकीय विमानस्थल हो । पर्यटक आवत–जावत हुने विमानस्थलमा व्यवस्थित टावर र टर्मिनल भवन नहुँदा सुरक्षा चुनौती बढेको छ ।

साथै, विभिन्न अरु सुरक्षा खतरा बढ्ने सम्भावना पनि उत्तिकै छ । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा पनि सुरक्षाको कुनै प्रबन्ध छैन । विमानस्थलको चारैतिर खुला स्थान रहेको छ । त्यहाँबाट मानिस, पशु चौपाया कुकुर स्याल हिँड्ने गरेका छन् । भरपर्दो बारसम्म छैन । तत्काल सम्बन्धित निकायले सुरक्षा चुनौतीलाई ध्यानमा नराखे दुर्घटना निम्तिन सक्ने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्