Logo

दोलखामा धार्मिक पर्यटक बढे

दोलखा– भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि दोलखामा धार्मिक पर्यटक बढेका छन् । देशमा अनिष्ट हुने वा परिवर्तनको संकेतको रुपमा भीमेश्वरको पसिना आउने धार्मिक विश्वासका रुपमा पछिल्लो एक महिनामा धार्मिक पर्यटक बढेका हुन् ।

पर्यटकहरू आउने अफ सिजन भए पनि एक महिनामा धैरै धार्मिक पर्यटकहरूले भीमेश्वरको दर्शन गरेका भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । शिलामा पसिना आएपछि मन्दिर दर्शन गर्नका लागि उच्च स्तरीय भ्रमण पनि भएका छन् । भारतका चर्चित धार्मिक गुरु काली बाबाले १० दिनअघि आएर कोरी पूजा गरेका थिए ।

त्यसैगरी नागरिक बचाऊ आन्दोलनका प्रमुख दुर्गा प्रसाइ पनि एक हप्ताअघि आफ्ना दलबलसहित भीमेश्वरमा क्षमापूजा गर्न आएका थिए । मन्दिरको शिलामा पसिना आएपछि राज्य पक्षबाट राष्ट्रपति कार्यालय र पूर्व राजाले पनि परम्परा अनुसार क्षमापूजा गरे । भारतका चर्चित बाबाहरूको उच्चस्तरीय भ्रमणले भारतीय पर्यटकहरू दोलखा ल्याउनका लागि सहयोग पुग्ने स्थानीयको भनाइ छ ।

धार्मिक पर्यटक मन्दिर दर्शनका लागि दोलखा आउँदा स्थानीय व्यापार व्यवसायमा पनि सहयोग पुगेको छ । भीमेश्वर नगरपालिकाका मेयर इश्वरनारायण मानन्धरले भीमेश्वर नगरले धार्मिक पर्यटनलाई मुख्य प्राथमिकता दिएको बताए । रामायण र महाभारत महाकाव्यमा उल्लेख भएका महत्त्वपूर्ण धार्मिक महत्त्वका स्थानहरूको प्रचार प्रसारका लागि नगरपालिकाले जोड दिएको उनले बताए ।

भीमेश्वर मन्दिर आसपास पुरातात्विक सहर पनि भएकाले यसलाई थप प्रचार प्रसार गर्नु पर्ने उनले बताए । साबिकको अभुपुर सहर अर्थात् हालको दोलखा बजारलाई मन्दिरै मन्दिरको सहरको रुपमा पनि चिनिन्छ । भीमेश्वरको शिलामा एक महिनाघि एक हप्तामै २ पटक पसिना आएको थियो । सिलमामा पसिना आएको योज २१ औं पटक हो । दायाँ पट्टिबाट पसिना आउँदा राज्य सञ्चालक पक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिर व्यवस्थापन तथा गुठियारहरूले तान्त्रिक विधिबाट क्षमा पुजा अर्चना गरेका छन् । भीमेश्वर मन्दिर आउने धार्मिक पर्यटकहरूलाई नै लक्षित गरेर दोलखा बजारमा सुविधा सम्पन्न एक दर्जन बढी होटल खुलेका छन् । ती होटलमा एक हजार बढीले सुविधा लिन सक्छन् । स्थानीय घरहरूमा पनि घर बास सेवा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्