प्यूठानमा २ नेकपा र १ स्वतन्त्र उम्मेदवार विजयी
प्यूठान- तीन वडा अध्यक्ष पदका लागि प्यूठानमा भएको उपनिर्वाचनमा दुई वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र एक वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । ऐरावती गाउँपालिका वडा नं. १ दाङवाङको वडा अध्यक्ष पदमा नेकपा उम्मेदवार द्रोणप्रसाद पाण्डेले निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अमर बहादुर रेश्मी मगरलाई ९ मतको झिनो मतान्तरले पछि पार्दै विजयी भएका हुन् । पाण्डेले ६९६ मत प्राप्त गर्दा रेश्मीले ६८७ मत ल्याएका छन् ।
यस्तै ऐरावती गाउँपालिकाकै वडा नं. २ बरौंलाको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार भिमेश घर्तिमगर विजयी भएका छन् । निकटतम प्रतिष्पर्धी राष्ट्रिय जनमोर्चाका भक्तबहादुर वि.क.लाई ३५१ मतले पछि पार्दै घर्तिमगर विजयी भएका हुन् ।
भिमेशले ८५५ मत प्राप्त गरेका छन् भने भक्तबहादुरले ५०४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार भुपाल जि.सी.ले ३५६ मत ल्याएका छन् ।
प्यूठान नगरपालिका वडा नं. २ दाखाक्वाडीको वडा अध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार मुक्ति पोख्रेल २ सय ८४ मतान्तरले विजयी भएका छन् । नेपाली काग्रेसका मोहनसिंह विष्टले ८ सय ४३ मत प्राप्त गर्दा उनले १ हजार १ सय २७ मत प्राप्त गरी विजयी भएका हुन् ।
ऐरावती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पदम थापा र वडा नं. २ का वडा अध्यक्ष केशवराज आचार्य जिल्ला समन्वय समितिको क्रमशः उपप्रमुख र प्रमुख पदमा निर्वाचित भए पछि वडा अध्यक्ष कार्यवाहकले संचालन गर्दै आएका थिए । त्यस्तै प्यूठान नगरपालिका वडा नं. २ का वडा अध्यक्ष खिमबहादुर विष्टको मृत्यु पछि उक्त पद खाली भएको थियो ।
ऐरावती गाउँपालिका वडा नं. २ बरौंला नेपाने निवासी भिमेश घर्तिमगर पूर्व शिक्षक हुन् । शिक्षकबाट राजिनामा दिएर स्थानीय तहको निर्वाचन वडा अध्यक्ष पदका उम्मेदवार घर्तिमगर राष्ट्रिय जनमोर्चाका उम्मेदवारसँग ११ मतले पराजित भएका छन् । उनी तत्कालिन नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका थिए ।
राष्ट्रिय जनमोर्चा र नेकपाबीच भएको केन्द्रिय समितिले उक्त वडा राजमोलाई सहयोग गर्ने सहमति भएको थियो । केन्द्रले घर्तिमगरलाई उम्मेदवार नबनाउने भने पछि जिल्ला पार्टीले उम्मेदवार निर्णय गर्दा उनी स्वतन्त्र उठ्नु परेको हो ।