शे मेलामा आउने अधिकांश यात्रु लेक लागेर बिरामी
वीरेन्द्रनगर (सुर्खेत)– भदौ १६ देखि २१ सम्म १२ वर्षपछि लाग्न थालेको ‘शे’–मेला (शेल्री डुग्ड्रा मेला) का लागि आउने आगुन्तुक दैनिक लेक लागेर बिरामी पर्न थालेपछि उपचारमा समस्या हुन थालेको छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा हरेक १२ वर्षमा एकचोटि आयोजना गरिने ‘शे’–मेला (शेल्री डुग्ड्रा मेला) यो वर्ष आगामी २०८१ भदौ १६ देखि २१ गतेसम्म शे–फोक्सुण्डो–३ शे गुम्बामा हुने भएपछि यहाँ आउने मानिसको भीड लाग्ने गरेको छ ।
दैनिक ६० भन्दा बढी आउने गरेको शे–फोक्सुण्डो स्वास्थ्य चौकीका इन्चार्ज पारस शाहीले जानकारी दिए । उनका अनुसार दैनिक ५० मध्यमा २५ जना लेक लागेर स्वास्थ्य चौकी आउने गरेका छन् । फोक्सुण्डो स्वास्थ्य चौकीबाट पाँच हजार ३५० मिटर अग्लो काङलापास हिमाल पार गरेर १८ घण्टापछि शे पुगिन्छ । स्वास्थ्य चौकीभन्दा धेरै माथि भएकाले आफूहरूलाई जान र आउन समस्या हुने गरेको शाहीले जानकारी दिए ।
स्वास्थ्य चोकीमा दैनिक बिरामीको संख्या थपिँदै जाँदा ट्याब एक्टाजोलामाइ, अक्सिजन, अक्सिजन मास्कको आवश्यकता रहेको उनको भनाइ छ । औषधि व्यवस्थापन गरिदिन पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराएको उनले बताए । शनिबार भएपछि बिरामीको उपचार गर्दा रातभरि सुत्न नभएको शाहीको भनाइ छ । निकै उच्च भागमा भएका कारण भनेको समयमा उपचार हुन नसकेकाले ज्यान नै जोखिममा पर्ने सम्भावना धेरै रहेको छ ।
अहिले स्वास्थ्य संस्थामा उक्त औषधि अभाव भएको उनले जानकारी दिए । मेलामा आउने आगन्तुकले ट्याब एक्टाजोलामाइ, अक्सिजन, अक्सिजन मास्कलगायतका औषधिजन्य वस्तु आफैंले बोकेर ल्याउनसमेत उनको भनाइ छ । उपल्लो डोल्पा घुम्न आउनेको संख्या धेरै भए पनि अहिले मेलाको सिजनले गर्दा धेरै मानिस थपिएको प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले जानकारी दिए ।
अहिले विशेषगरी शे–मेला दर्शन गर्न र घुम्न आउने तिर्थालुको चहलपहल बढ्दै गइरहेको छ । केही दिनदेखि फोक्सुण्डो स्वास्थ्य चौकीमा लेक लागेका बिरामी आउनेको संख्या बढ्दै गइरहेको छ । शाहीले भने, ‘डोल्पा जिल्लाका आन्तरिक र बाह्य पर्यटक शे–मेला हेर्न आउने तिर्थालुको बाटोमा लेक लागेमा बिरामीलाई तत्काल व्यवस्थापन गर्न आवश्यक औंषधि र अक्सिजनको आफैंले पनि व्यवस्थापन गरेर आउनुहोला ।’
मेलाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले बताए । करिब ८०४ वर्षअघि सुरु गरिएको यो मेला हरेक ड्रागन वर्षमा अर्थात् १२ वर्षमा आयोजना गरिने चलनअनुसार यो वर्ष २०८०/०८१ वर्ष ड्रागन वर्ष परेकाले मेला आयोजना गर्न लागेको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष गुरुङले जानकारी दिए ।
‘यो यस क्षेत्रको निकै अर्थ र महत्त्वको मेला हो । यसबाट यहाँको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘मेला अवधिमा यहाँ रहेका शे चाखाङ गुम्बा, शे गोमोछे गुम्बा र शे सुम्धो गुम्बामा विशेष पूजाआजा गरिन्छ ।’ यसका साथै मेला अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, धार्मिक भजन–किर्तनका साथै घोडा दौडसमेतको आयोजना गरिने गाउँपालिकाले बताएको छ ।
मेलाको सह–आयोजकका रूपमा डोल्पाकै डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका रहेका छन् । यसपटकको मेलामा तिलगंगा आँखा प्रतिष्ठानले नि:शुल्क मोतियाविन्दु शिविर पनि सञ्चालन गर्नेछ । उक्त आँखा शिविरमा वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइत नेतृत्वको टोलीले एक सय जना बढीको मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखेको छ ।
भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पाको उत्तर पश्चिमी भू–भागमा अवस्थित शे–फोक्सुण्डो गाउँपालिका भौगोलिक दृष्टिले विकट भए पनि पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण छ । यहाँ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा नेपालकै सबैभन्दा ठूलो फोक्सुण्डो तालसमेत पर्दछ । गाउँपालिकाले चालु आवको बजेट पनि शे मेला केन्द्रित गरेको छ । मेलामा छिमेकी मुलुकबाट पनि पाहुना आउने आयोजनकको भनाइ छ । डोल्पाको सदरमुकाम दुनैसम्म सवारी साधनमा गए पनि सोभन्दा माथि पैदल हिँडेर जानुपर्ने बाध्यता छ ।