Logo

प्रधानमन्त्रीसँग जनप्रतिनिधिकाे गुनासाे

दाङ– दाङ जिल्लाको समग्र आर्थिक एवं भौतिक विकासको माग लिएर जिल्लाका जनप्रतिनिधि र प्रधानमन्त्रीबीच प्रधानमन्त्री निवास बालुवाटारमा बृहत् छलफल भएको छ । प्रधानमन्त्रीसँग जनप्रतिनिधिको भेटघाटको समन्वय नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ का सांसद दीपक गिरि र एमाले महासचिव शंकर पोख्रेलले गरेका थिए ।

प्रधानमन्त्रीसँग जिल्लाका विभिन्न विषयमा छलफल भएको दीपक गिरिले बताए । जनप्रतिनिधिले प्रधानमन्त्री केपी ओलीलाई बुझाएको माग पत्रमा दाङ जिल्लाको तुलसीपुरस्थित टरीगाउँ विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि डिपीआर गर्ने र यसका लागि आवस्यक बजेट विनियोजन गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी घोराही-तुलसीपुर चारलेन सडक यथाशीघ्र टेण्डर गर्ने, जिल्लासँंग सीमा जोडिएको कोइलाबास भन्सार नाकालाई सुचारु गर्ने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा प्राप्तिलाई तत्काल स्वीकृत गरी प्रतिष्ठानमा एमबिबिएस तहको पढाइ तत्काल सुरु गर्ने माग छन् ।

यसैगरी दंगीशरण राजाको पहिचान थारु संस्कृति झल्किने सुकौरा राजकोटको पुनर्निर्माणका लागि पाँच करोड रुपैयाँ विनियोजन गर्ने, सुकौरा-चरकमटिया सडकमा आवश्यक बजेट विनियोजन गरी टेण्डर गर्ने, देउखुरी उपत्यकामा रिङरोड निर्माण गरी मेट्रो बस सन्चालन गर्ने, राप्ती बबई क्याम्पसलाई त्रिविविको आंगिक क्याम्पस बनाउने माग समेटिएका छन् ।

त्यसैगरी मागपत्रमा दाङ जिल्लास्थित राप्ती र बबई नदीको दुवैतर्फ तटबन्ध निर्माण गर्ने, दाङ उपत्यकामा चक्रपथ तथा बबई करिडोर निर्माण गरी मेट्रो बस सञ्चालन गर्ने, ग्वारखोला हाइड्याम निर्माण प्रक्रिया अघि बढाउने, स्वर्गद्वारी आश्रम र नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको अतिक्रमित जग्गा संरक्षण गरी सदुपयोग गर्ने तथा बेलझुण्डी आयुर्वेद चिकित्सा शिक्षण अस्पताल स्तरोन्नति गर्नेलगायतका माग छन् ।

मागपत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले आफू दाङ जिल्लाको एयरपोर्ट स्तरोन्नतिका लागि नितान्त सकारात्मक भएको भन्दै धावनमार्ग विस्तारका लागि नेपाल सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गर्न अर्थ मन्त्रयलयलाई निर्देशन दिने तथा अन्य बाँंकी काम हवाइ उड्डययन प्राधिकरणले गर्ने भेटघाटमा सहभागी जनप्रतिनिधिलाई आश्वासन दिएका थिए ।

‘भैरहवामा एयरपोर्ट छ, नेपालगन्जमा पनि एयरपोर्ट छ, सुर्खेतमा पनि एयरपोर्ट छ, तर बीचमै बनेको तुलसीपुरको टरीगाउ विमानस्थलको स्तरोन्नति गर्न अत्यन्तै आवस्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि आफूले गाम्भीर्यपूर्वक पहल गर्नेछु ।’ प्रधानमन्त्री ओलीले पश्चिम क्षेत्रका अन्य विमानस्थल खराब भएको समयमा पनि वैकल्पिक रूपमा दाङमा एयरपोर्ट आवश्यक रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

‘प्रधानमन्त्रीलाई टरीगाउ विमानस्थलको धावनमार्ग वृद्धिलगायतका विविध विकास निर्माणका विषयमा मागपत्र बुझाएका छौं, साथै मागपत्रप्रति प्रधानमन्त्री ओलीले देखाएको चासो प्रति पनि हामी आशावादी छौं, डेलिगेसन सहभागी प्रतिनिधिसभा सदस्य एवं पूर्वसिँचाइमन्त्री गिरिले भने । उनले समग्र दाङको आर्थिक समृद्धि एवं भौतिक विकासमा आफू निरन्तर लागिरहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

सो अवसरमा नेकपा एमालेका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेलले पनि जनप्रतिनिधिबाट आएका मागलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका थिए । प्रदेशको स्थायी राजधानी भएको स्थानमा पनि एउटा नियमित हवाइ सेवा हुन नसक्नु नितान्त दुर्भाग्य भएको बताउँदै टरीगाउँ विमानस्थलको तत्काल धावनमार्ग स्तरोन्नति र चार लेन सडकको चाँडै टेण्डर गर्नका लागि आग्रह गरेका थिए ।

विसं २०११ सालमा स्थापना भएर घासे मैदानमा नियमित हवाइ सेवा सुरु गरेको टरीगाउँ विमानस्थल पछिल्लो समयमा कालोपत्रे भएर पनि हवाइ सेवा नियमित हुन सकेको छैन । विमानस्थलमा १८ सिटे जहाजबाहेक अन्य ठूला जहाजले उडान भर्न सक्दैनन् । पछिल्लो समयमा त्यही १८ सिटे जहाजको हवाइ सेवासमेत बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्