कास्की–२ मा विद्या विजयी, भक्तपुर–१ (क) मा भँडेलले मारे बाजी «

कास्की–२ मा विद्या विजयी, भक्तपुर–१ (क) मा भँडेलले मारे बाजी

शनिबार सम्पन्न तीनै तहको उपनिर्वाचनको अधिकांश स्थानको अन्तिम मत परिणाम आइतबार रातिसम्ममा आएको छ । निकै चासोका साथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उमेदवार विद्या भट्टराई विजयी भएकी छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा आठ हजार ४०९ मतान्तरले भट्टराई विजयी भएकी हुन् । उनले २४ हजार ३९४ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९९१ मत ल्याएका छन् ।
त्यसैगरी समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२ मत ल्याएका छन् भने साझा पार्टीकी रजनी केसीले ९४२ मत ल्याएकी छन् ।
कांग्रेस उमेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाइ तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् । विजयी उमेदवार भट्टराईले मतदातालाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
कास्की–२ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो । कुल ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन् ।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट रविन्द्रपत्नी विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेललगायत २१ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।
तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो क्षेत्र रिक्त भएको थियो ।

पिपरा गाउँपालिका अध्यक्षमा नेकपा विजयी
महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरीले तीन हजार २४९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले तीनहजार ४१ मत ल्याए ।
नेकपाका उम्मेदवार चौधरीले समाजवादी पार्टीका उम्मेदवार यादवभन्दा २०८ बढी मत ल्याएर विजयी भएका हुन् । यसअघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँबाट राजपा नेपालले जीत हासिल गरेको थियो ।

खार्पुनाथमा नेकपाका उम्मेदवार विजयी
हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी भएकी छन् ।
उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाका शाही एक हजार ४५३ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तारा शाहीले एक हजार ३८५ मत ल्याइन् । नेकपाका उम्मेदवार शाही यस अघिको निर्वाचन २०७४ सालमा पराजित भएकी थिइन् ।

मकालु गाउँपालिकामा तेजबहादुर विजयी
संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन् । पोख्रेलले तीन हजार १८ मत ल्याएर विजयी ल्याए । नेपाली कांग्रेसका विमन पराजुलीले दुई हजार २१६ मत ल्याए । नौ हजार एक मत रहेको मकालुमा पाँच हजार ७७४ मत खसेको थियो । मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका थिए ।
मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जीप दुर्घटनामा परेर २०७४ पुस ३० गते मृत्यु भएको थियो । कटुवाल तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

भक्तपुर प्रदेशसभामा कांग्रेस विजयी
भक्तपुर क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यको पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भए ।
भँडेलले १३ हजार ४४९ मत ल्याए । निकटतम प्रतिस्पर्धी नेकपाका डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्