Logo

स्थानीय तहका उद्योगीलाई कर शिक्षा

रुकुम पश्चिम– रुकुम उद्योग वाणिज्य संघले कर शिक्षा अभियान सुरु गरेको छ । जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालनमा रहेका उद्योगी तथा व्यापारीहरूलाई कर सम्बन्धी शिक्षा दिने उद्देश्यले संघले पालिका स्तरीय कर शिक्षा अभियान सुरु गरेको हो । स्थानीय तहमा सञ्चालनमा रहेका उद्योग तथा व्यवसायहरूलाई चलायमान तथा कर सम्बन्धी शिक्षा दिने उद्देश्यले बाँफिकोट गाउँपालिकाबाट कर शिक्षा अभियान सुरु गरिएको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार उद्योगी तथा व्यापारीहरूलाई कर सम्बन्धी शिक्षा प्रदान गर्न र संघको आवश्यकता तथा महत्त्वको बारेमा थप प्रस्ट बनाउन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । बाँफिकोट गाउँपालिकाबाट सुरु गरेको कर शिक्षा अभियान समय मिलाएर जिल्लाका ६ वटै स्थानीय तहका उद्योगी तथा व्यापार व्यवसायीसम्म पुर्‍याउने संघले सघाउने जनाएको छ ।

पहिलो चरणमा बाँफिकोट गाउँपालिकामा आयोजना गरिएको कर शिक्षा सम्बन्धी अर्न्तक्रिया तथा छलफल कार्यक्रममा पालिकामा सञ्चालन भएका व्यवसायलाई समयमै दर्ता तथा नवीकरण गर्न, समयमै कर तिरी महँगो करबाट बच्नेलगायतका विषयमा शिक्षा प्रदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार खरिद गरेको वस्तुमा लाग्ने कर, तथा कर तिर्ने प्रक्रिया पनि सिकाइएको छ । त्यस्तै आफूले सञ्चालन गरेको व्यवसायबाट बिक्री वितरण हुने वस्तुको मूल्य सूचि उपभोक्ताले देखिने गरी अनिवार्य राख्न समेत व्यापारीहरूलाई सुझाव दिइएको छ ।

संघका उपाध्यक्ष रवीन्द्रकुमार विष्टले उद्योग वाणिज्य संघमा आबद्ध हुने विषयमा उद्योगी तथा व्यवसायीहरूलाई प्रस्ट पारेका थिए । आफ्नो व्यापार व्यवसायको हकहितको लागि स्थानीय तहसँग समन्वय सहकार्य गर्न पनि संघमा आवद्ध हुनु पर्ने उपाध्यक्ष विष्टको भनाइ थियो ।

बाँफिकोट गाउँपालिका पूर्व अध्यक्ष तथा प्रमुख अतिथि धर्मबहादुर केसीले पालिकामा रहेका उद्योगी व्यवसायीहरूको यकिन तथ्यांक नरहेको र यसको तथ्यांक राख्नुपर्ने हुँदा संघले यतातर्फ पनि ध्यान दिनुपर्ने बताए । कर शिक्षाले पेशा व्यवसायमा आवद्ध व्यक्तिलाई एकताबद्ध गरी पेशा व्यवसायलाई चलायमान गराउने विश्वास उनको थियो ।

त्यस्तै रुकुम उद्योग वाणिज्य संघले स्थानीय स्तरमा उत्पादन हुने वस्तुलाई बजारीकरणको लागि पहल गर्नुपर्ने समेत पूर्व अध्यक्ष केसीले सुझाव दिए । जिल्लाको सबै पालिकामा व्यापारीहरूलाई कर शिक्षा प्रदान गर्ने कार्यक्रम रहेकाले केही दिन भित्र त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्ने रुकुम उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्